Logo
Logo

सलाम स्वास्थ्यकर्मी !


दृष्टि संवाददाता


धनगढी । डा. नीराजन शर्मा पौडेल एकाबिहानै उठ्छन्। आफ्नो नित्यकर्मपछि उनी ८–८स्३० बजेतिर क्लिनिकमा पुग्छन्। त्यहाँ कुरिरहेका बिरामीको उपचारपछि उनी १० बजे सेती प्रादेशिक अस्पतालमा पुग्छन् ।

अस्पतालमा उनी नर्मल आईसीयूसहित मेडिसिन विभागमा भर्ना भएका बिरामीलाई राउन्ड गर्छन् । त्यसपछि उनको ओपीडी हुन्छ । ओपीडीमा आएका बिरामी हेर्ने कार्य अपराह्न १ बजेतिर सकिन्छ । त्यसपछि उनी दिउँसो एक घण्टा खाना खान निस्किन्छन् । त्यसपछिको समय उनको फेरि ओपीडीमा रिपोर्ट हेर्नेमा बित्छ ।

अपराह्न ४ बजेपछि उनी अस्पतालको कोरोना डेडिकेटेड अस्पताल जान्छन्। त्यहाँ रहेका ५५ भन्दा बढी बिरामीको राउन्ड लिन्छन् । त्यसपछि उनी फेरि सेतीको नर्मल आईसीयूमा रहेका बिरामी, मेडिसिन विभागका बिरामीको राउन्ड हुँदै अबेर राति घर पुग्छन् ।

डा। शर्मा मात्रै होइन, सेती प्रादेशिक अस्पतालका चार वरिष्ठ फिजिसियन डा। शेरबहादुर कमर, डा। सन्तोष पाण्डे र डा। निशान भट्टराईको पनि त्यस्तै दिनचर्या छ। सेती अस्पतालमा यी चार वरिष्ठ फिजिसियनले, नर्मल आईसीयू, ओपीडी, मेडिसिन विभाग, सर्पदंश विभाग र त्यसैमा कोभिडको वार्ड पनि हेर्ने गर्छन् ।

सीमा शर्मा सेती प्रादेशिक अस्पतालकी मेट्रोन हुन् । उनको मातहतमा सेतीमा २४ जना स्टाफ नर्स कार्यरत छन्। उनले १२ जना सेती प्रादेशिक अस्पतालको नर्मल वार्ड र १२ जना कोभिडका लागि खटनपटन गरेकी छन्। कोभिड डेडिकेटेट अस्तालको पनि उनी नर्सिङ विभाग प्रमुख हुन् ।

‘बिहानै ९ बजे ड्युटी सुरु हुन्छ, ३ बजे सकिन्छ । तर, परेका बेला जति बेला पनि जानुपर्छ’, उनले भनिन् । उनले बिहान ८ देखि दिउँसो २ बजेसम्म चार, २ देखि बेलुकी ८ बजेसम्म चार र बेलुकी ८ देखि बिहान ८ बजेसम्म चार जना गरी नर्सिङ स्टाफको खटन पटन गरेकी छन् ।

‘पाँच जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये तीन जना भर्खर नेगेटिभ भएर ड्युटीमा आएका छन् । दुई जना अझै आइसोलेसनमा छन् । एक सिफ्टमा तीन जना स्टाफ नर्सले ५५ जनाभन्दा बढी कोभिडका बिरामीलाई सेवा दिनुपरेको छ’, उनले भनिन् । सेती प्रादेशिक अस्पतालको १५ शय्याको आईसीयू, तीन शय्याको भेन्टिलेटर, १० शय्याको हाई डिपेन्डेन्सी युनिट (मोनिटर सहितको अक्सिजनको व्यवस्था) र बाँकी अक्सिजन शय्याहरू तीन जनाले नर्सिङ स्टापले हेरिरहेका छन् ।, यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्