Logo
Logo

यस कारण पोखरेलको राजीनामा


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आइतबार विहान उनले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । शनिबारसम्म राजीनामाको कुनै संकेत नदिएका पोखरेलले किन एक्कासी राजीनामा दिए ? उनको यो राजीनामासँग राजनीतिबृत्तमा चर्चा सुरु भएको छ ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि रहेको थियो ।

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेका थिए । प्रदेशसभा अहिले ८१ सदस्यीय रहेको छ । वैशाख ६ मा उनीविरुद्ध कांग्रेस माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए ।

पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांसद संख्या पनि ४१ नै हो । मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निष्कासनमा परेपछि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिन ४१ मत आवश्यक परेको थियो । दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरूलाई फ्लोर क्रस हुनबाट कसरी रोक्ने भन्ने एमालेमा चुनौती देखिएपछि मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्