Logo
Logo

लुम्बिनी प्रदेश : आजै राजीनामा, आजै सपथ !


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आइतबार नै पुनः सपथ ग्रहण गराउने तयारी भएको छ । उनले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको आजको बैठकले मुख्यमन्त्रीको उम्मेद्वारमा पोखरेललाई नै बनाउने निर्णय गरेसँगै आजै मुख्यमन्त्रीमा सपथ गराउन लागिएको एक नेताले बताए । नयाँ सरकार गठनका लागि आजै प्रदेश प्रमुखले आह्वान गर्दैछ । एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी गरिएको हो । एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनको प्रयास थालेको छ ।

लुम्बिनी एमालेको संसदीय दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको समेत प्रदेशसभा सदस्य विष्णु पन्थीले बताएका छन् ।

उनका अनुसार आजको बैठकले नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको छ ।

लुम्बिनीमा ८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । एमालेबाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आजबाट छलफल गर्ने कार्यसूची तय भएको थियो । तर, त्यसअघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिए ।

प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी (जसपा)ले चार सांसद निस्कासित गरेपछि त्यसको फाइदा मुख्यमन्त्री पोखरेललाई भएको छ । आज बसेको दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु समेत सहभागी भएको थिए ।

प्रतिक्रिया दिनुहोस्