Logo
Logo
कोरोना कहर

देशका २९ जिल्लामा निषेधाज्ञा र लकडाउन

निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको जोखिम बढेसँगै सरकारले उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा तथा लकडाउन जारी गर्न थालेको छ ।

यसैक्रममा आइतबार थप ६ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । योसँगै देशका २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।

जारी गरिएकामध्ये १९ जिल्लामा पहिलेदेखि नै कार्यान्वयनमा थियो भने तीन जिल्लामा गएराति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउँदैछ । आइतबारसम्ममा कूल २९ जिल्लामध्ये केहीमा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो रिर्पोटअनुसार आइतबारदेखि गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको छ । यस्तै, उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा समेत आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गुल्मीमा शनिबार राति १२, बाजुरामा आइतबार बिहान ५ र उदयपुरमा आइतबार राति ८ बजेदेखि निषेधाज्ञा आदेश जारी गरिएको छ । प्यूठानमा शनिबार बिहान ६ बजेदेखि नै कार्यान्वयन भइसकेको छ ।

यस्तै, गोरखाको भीमसेनथापा गाउँपालिका–७ र ८ मा आइतबार राति १२ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ भने बाजुरा जिल्लाको हिमाली गाउँपालिका क्षेत्रमा आइतबार बेलुका ८ बजेदेखि लागू हुनेगरी निषेधको आदेश जारी गरिएको छ ।
यसअघि नै मोरङ, जाजरकोट र झापामा शनिबार राति १२ बजेदेखि तथा सल्यान, रुकुम पश्चिम र डडेलधुरामा आइतबार बिहान ६ बजेदेखि आदेश कार्यान्वयनमा आएको छ ।

सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ ।

सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही र सुनसरीमा सोही अधिकार प्रयोग गर्दै आदेश जारी भएको छ ।

यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ । आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्