Logo
Logo

मेक्सिकोमा रेल दुर्घटना हुँदा २० जनाको मृत्यु, ७० घाइते


दृष्टि संवाददाता


एजेन्सी । मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने ७० घाइते भएका छन् । मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटना भएको हो ।

घाइते मध्ये ४९ जनालाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको मेक्सिको सिटीका नगर प्रमुख क्लाउडिया शिनबौमले बताएका छन् । गम्भीर घाइतेहरूको शल्यक्रिया भइरहेको छ ।

शेनबाउमले भने, ‘कारमा च्यापिएको एक व्यक्तिलाई सकुशल उद्धार गरिएको छ भने उद्धारकर्मीहरूले ओभरपास र रेलका डब्बा हटाई फसेका व्यक्तिहरूको खोजी गरिरहेका छन् ।’ मृतकहरू बालबालिका तथा महिलासमेत रहेको उनले बताए ।

शेनबाउमले कारमा फसेका अन्य व्यक्तिहरू जिवितै रहेको वा मृत्यु भइसकेको अझै थाह हुन नसकेको उनले बताए । पुलको निर्माण गरेका नगरका पूर्व प्रमुख तथा विदेश मामिला मनत्री मार्सेलो इबार्डले शहरमा भएको दुर्घटनालाई भयङ्कर त्रासदीपूर्ण घटना भन्दै भने, “पक्कै पनि यसको कारण अनुसन्धान गरिनुपर्छ र दोषीको पहिचान गरिनुपर्छ ।”

मेक्सिको सिटीको रेल सेवा संसारको सबभन्दा ठूलो र व्यस्तमध्ये एक हो, आधा शताब्दी पहिले यसको उद्घाटन भएदेखि कम्तिमा दुई गम्भीर दुर्घटनाहरू भएका छन् ।

गत वर्षको मार्चमा, टाकुबाया स्टेशनमा दुई रेल बीचको टक्करमा एक यात्रीको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए । त्यस्तै सन् २०१४ मा ओसिनियामा समयमै नरोकिएको एउटा रेल स्टेशनमा अर्को रेलसँग जुध्दा अर्को दुर्घटनामा भएको थियो जसमा १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्