Logo
Logo

बाजुरामा नौ दिन निषेधाज्ञा


नन्दा थापा


बाजुरा । बाजुरामा बुधबार मध्येरात १२ बजेबाट नौ दिन निषेधाज्ञा हुने भएको छ । सोमबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले २२ गते मध्येरात १२ बजेबाट ३१ गतेसम्म जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजानिक सूचना जारी गर्दै कोरोना महामारीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको छ । अत्यावश्यक काममा निस्कदा मास्क नलगाइ हिँडडूल गर्न नपाइने निर्णय गरेको सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी दिए ।

सो समयावधिभित्र अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन । भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि पाइने छैन । तोकिएका बाहेक अन्य कुनै पनि यातायातका साधन चलाउन नपाइने छैन ।

खाद्य सामाग्री र निर्माण सामाग्री बाहेक अन्य पसल तथा होटल, रेष्टुरेण्टहरु खोल्न नपाइने भण्डारीले बताए । निषेधाज्ञामा मूल्यबृद्धि र कालोबजारी गर्नलाई कारबाही गरिने भण्डारीले बताए ।

खाद्यान्न, फलफुल, तरकारी लगायतका अत्यावश्यक खाद्य सामाग्री र निर्माण सामाग्री पसल बिहान ६ बजेदेखि १० बजेसम्म र आवश्यक भएमा दिउँसो ४ देखि ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइने सार्वजानिक सूचनामा उल्लेख गरिएको छ ।

औषधी पसल तथा स्वास्थ्य संस्थाहरू २४ सै घण्टा खुला गर्न पाइने सूचनामा उल्लेख छ । सञ्चारकर्मी तथा पत्रकारहरूले स्वास्थ्य मापदण्ड पालना गरेर हिँडडुल गर्न सक्ने भण्डारीले जानकारी दिए । बैँक तथा वित्तिय संस्थाहरु निश्चित समय खुला रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्