Logo
Logo

बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी



काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि भनेर तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गरिने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक वक्तव्य जारी गर्दै केही निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुलक लिने गरेको भन्ने गुनासोहरु प्राप्त भएको र त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति तथा संस्थालाई यस्ता गतिविधि नगर्न सचेत गराएको छ।

‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यस किसिमले अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति तथा संस्थालाई यस्ता गतिविधि नगर्नु नगराउनु हुन सचेत गराइन्छ।’

कुनै अस्पतालले तोकिएकोभन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खबर गर्न पनि सह–प्रवक्ता अधिकारीले जारी गरेको वक्तव्यमा आग्रह गरिएको छ।

यस प्रकारका गतिविधिमा मन्त्रालयले नियमित अनुगमन गरिरहेको तथा नियमानुसार कडाभन्दा कडा कारबाही समेत गरिने वक्तव्यमार्फत चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्