Logo
Logo

सुखमा शहर, दुःखमा गाउँ



सधैँ कोलाहल राजधानी काठमाडौं शहर । आज त त्यो गाउँ जस्तै सुनसान छ । मोटरगाडी गुडेका छैनन् । दोकानहरू पनि खुलेका छैनन् । कुनै बेला अवसरको खोजीमा गाउँमा कुनै भविष्य छैन भनेर त्यो गाउँ छोडेर शहर पसेकाहरू आज शहर छोडेर गाउँ पुगेका छन् । तीनै बुढा बा–आमाकै शरण परेका छन् ।

कोरोना संक्रम रोक्न शहरमा निषेधाज्ञा छ । निषेधाज्ञाले शहर मुख्यत संघीय राजधानीमा सन्नटा छाएको छ । निषेधाज्ञाले बजार, व्यवसाय, कलकारखाना, यातायातका साधन सबै बन्द छन् । जीवन खोज्दै शहर छिरेकाहरू फेरि गाउँ फर्केका छन् ।

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्या नाका थानकोटमा गत बिहीबार बिहानै झापाका रमन दाहाल भेटिए, उनी त्रिचन्द्र क्याम्पस पढ्छन् । संक्रमणले कलेज बन्द भयो । त्यसैले रमन गाउँ हुइँके । कोलाहलपूर्ण वातावरण संक्रमण हुने डर भयो, रमनलाई । जन्मथलो नै सुरक्षित ठाने । गाउँमा परिवारसँगै बस्न पाउने, हत्तपत्त संक्रमित सम्पर्कमा नआउने बुझाइले उनलाई गाउँ फर्कायो ।

‘यहाँ बसिरह्यो भने बाँचिन्छ जस्तो लागेन, सबै साथी आ–आफ्नो घरतिर लागे । अनि म पनि बस्न सकिनँ । निषेधाज्ञा कति लम्बिन्छ भन्ने पनि थाहा छैन, यहाँ डरै डरमा बस्नुभन्दा गाउँ जानु राम्रो । अब क्याम्पस सुरु भएपछि मात्र काठमाडौं आउने ।, यत्ति भनेर उनको बस हुइक्यो ।

थानकोटमै भेटिए, धनकुटा जान लागेका राधिका राई । यस्तो हत्ते गरेर किन घर जान लाग्नुभयो ? मैले सोधेँको थिए । उनले भने– ‘पोहोर लकडाउनको बेला धेरै दुःख पाएँ । एक सातका लागि मात्र भनेर गरेको लकडाउन चार महिनासम्म लम्बियो । न यहाँ काम गर्न पाइयो, न केही खाने कुरा भयो । घर फर्किन पनि पाइएन । यसपालि पनि त्यस्तै हुन्छ भनेर समयमै घर हिँडेकी हुँ ।’

कोरोना माहामारी फैलिन थापेपछि फेरि ‘लकडाउन’ हुन्छ भन्ने चर्चा चलेको थियो । त्यसबेला नै सँगै स्कुल पढेका साथीले फोन गरेर सोधेका थिए– ‘फेरी लकडाउन हुने कुरा छ, खासमा के हो ? मैले भनेको थिए– ‘यस्तै हो भने हुन पनि सक्छ ।’ उसलाई पनि प्रश्न सोधिहाले– ‘अनि लकडाउन भयो भने के गर्छस् नि केटा ?’ उसको उत्तर थियो– ‘यसपालि त गाउँ जाने हो ।’ ‘अनि पहिला त गाउँ जादिनँ भन्थिस ?’ मैले भने । उसले हाँस्दै भन्यो– ‘यस्तै संकट पर्दा त हो नि गाउँ जाने भनेको ।’

रमन, राधिका र ती साथी उदाहरण मात्रै हुन् । उनीहरू गाउँबाट सपना सजाउन शहर पसेकाहरुको प्रतिनिधित्व गर्छन् । हामी दुःख पर्दा मात्रै जन्मथलो सम्झन्छौँ । अरुबेला सकेसम्म आफ्नो गाउँघरको नाम पनि भन्न नपरे हुनेजस्तो गर्छौँ ।

शहरको कहरलाई गाउँले धानेको छ । अप्ठ्यारो पर्दा शहरले अपरिचित ठानिदिन्छ । संकटमा शहर न आफू जोगिन सक्छ न त आफ्नो छहारीमा रहेकालाई भरोसा दिन नै । संकटमा शहर हात छोडिदियो, गाउँले त्यहि हात समाइदियो ।

एउटा जल्दोबल्दो भनाइ छ– ‘बाहिर जतिसुकै रमाए पनि साँझ परेपछि चरा आफ्नै गुँड खोजेर फर्किन्छ ।’ मलाई पनि त्यस्तै लाग्यो । सहज हुँदासम्म राजधानीमै रमाएको साथी, रमन र राधिकाले आखिर आपतको बेला आफ्नै गाउँ अनि ती बुढा बा–आमा सम्झे ।

शहरमा संकट हुँदा गाउँ सुरक्षित ठान्नु, गाउँ सम्झनु, कुदेर गाउँ पुग्नु हाम्रो परम्परा जस्तै हुन थालेको छ । भूकम्प आयो कुदेर गाउँ जानुपर्ने, नाकाबन्दी भयो गाउँकै शरण लिनुपर्ने, महामारीको हल्ला चल्यो बच्न गाउँ नै जानुपर्ने । जहिल्यै अप्ठेरो पर्दा गाउँ नै चाहिने ।

गाउँ र आमा उस्तै लाग्छन्, सन्तानलाई शीतल छहारी दिने, मायाले सुमसुमाएर अंगालोमा बेर्ने । विपतको बेला गाउँ सम्झेर फर्कनु र दुःख परेका बेला आमाको आँचलमा लुटपुटिएर आँसु खसाल्नु उस्तै हो । त्यसैल त ‘आफू जन्मिएको ठाउँ र आफूलाई जन्म दिने आमा स्वर्गभन्दा पनि प्यारो हुन्छ ।

रहर र बाध्यता दुबैले शहर छिरेकाहरु विपत्तको बेला शहर टेक्नै नपरोस भन्दै गाउँ फर्कन्छन् । दुई दिनको जिन्दगीमा अन्तिम श्वास गाउँमै फेर्छु भनेर धेरैले बाचा कसम खाए । तर, ती बाचा कमसहरु त धेरै दिन नटिक्दो रहेछ, टिक्दैन पनि । भौतिक सुखको भोकले फेरि शहरतिरै तानिहाल्छ । त्यहाँ बाध्यताहरु पनि धेरथोर हुन्छन् ।

सहरमा गाउँमा भन्दा धेरै भौतिक सुविधान छ, त्यो कसैले पनि नर्कान सक्दैनन् । तर, भौतिक सुख भएको शहरमा एउटा मुखौटोले एकमुठी सास धान्नुपर्छ ! घरको गेटमा कुकुरबाट सावधान लेख्दैमा, टोल–टोलमामा ‘साइरन’ र घर–घरमा तपार्इं ‘सीसीटिभी’को निगरानीमा हुनुहुन्छ लेख्दैमा सुरक्षित नहुने रै’छ जिन्दगी । संकटले महलका मालिक नभन्दो रहेछ, मर्सिडिज गाडीमा सवारलाई नचिन्दो रहेछ, स्पिटडमा बुलेट हाक्नेहरुलाई बलवान नठान्दो रहेछ !

रोगले न शहर भन्छ न त गाउँ नै । यसले देश, जात, धर्म केही नमान्दो, नचिन्दो रहेछ । कसैलाई विभेद पनि गर्दैन रहेछ । न त यो शक्तिशाली देश अमेरिकासँग डरायो न चीनसँग नै रमायो । न प्रजातन्त्रको जननी वेलायतलाई नै चिन्यो । फरक यति मात्रै हो, शहरले संकटको बेला हात छोडिदियो, गाउँले त्यहि हात समाइदियो ।

भनिन्छ, एकपटक सबैको पालो आउँछ । अहिले गाउँको पालो आएको छ । शरहलाई धेरैले ‘बाईबाई’ भने, गाउँलाई ‘हाईहाई’ । वास्तवमा शहर सुखको संर्घषका लागि हो, दुःखको आनन्द त गाउँमै मिल्छ । त्यसैले त धमाधम गाउँ फर्किरहेका छन्, पखेटा लागेका युवा ।

गाउँ फर्किएकाहरू अहिले गुराँसे डाँडामा ढकमक्क फुलेको गुराँससँग दुःख साट्दै होलान्, डिलखर्का चिमाललाई देखेर चिमालजस्तै दात देखाउँदै मुस्कुराउँदै होलान् । लुकुवा भेगमा पाकेका ऐंसेलु, पहिरे पाखाका अंगेरी, सिम्लेगाउँको तित्रि, चैतारेगाउँको वर, सादीँ पाखाका किम्बु खाँदै जिब्रो पड्काउँदै होलान् । ईखुवा र संखुवामा पौडि खेलेर ढाड ढुंगामा सेकाउँदै होलान् । सम्झिँदा पनि अहिले नै हिडिहालुजस्तो ।

हो, अहिले गाउँको पक्षमा राम्रो वातावरणा बनेको छ । गाउँ नै राम्रो लाग्न थालेको छ । र, अब गाउँमै बस्ने दिन आउँदैछ । ‘बाह्र वर्षमा खोलो फर्किन्छ’ भनेको यही त होला । शहरले साथ दिने भनेको त सुखमा मात्र रहेछ । आखिर दुःखमा साथ दिने त गाउँ नै रहेछ ।

प्रतिक्रिया दिनुहोस्