Logo
Logo

२४ घण्टामा ३८ जना संक्रमित थपिए, संक्रमितको संख्या एक सय ४६ पुग्यो



बाजुरा । पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन प्रविधिबाट जिल्लामा ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३२ जनामा गरिएको कोरना परीक्षणमा ३८ जनालाई संक्रमण पुष्टि भएको हो । ३८ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या १४६ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

संक्रमित भएकामध्ये दुई जना कोरना निको भएर घर गइसकेको र एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार संक्रमित भएकामध्ये ११४ जना होमआइसोलेसनमा र २९ जना जिल्ला अस्पताल बाजुरालगायतका आइसोलेसनमा उपचारत रहेका छन् ।

बिहीबार दिउँसो ३ः३० बजेसम्मको कोरना परीक्षणमा बडिमालिका नगरपालिकाका २० जना, बुढीनन्दा नगरपालिकामा ९ जना, बुढीगंगा नगरपालिकामा २ जना, खप्तड छेडेदह गाउँपालिकामा २ जना, गौमुल गाउँपालिकामा ३ जना स्वामीकार्तिक खापर गाउँपालिकामा १ जना र जगन्नाथ गाउँपालिकामा एक जना गरी ३८ जनामा कोरना संक्रमण भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख चन्दको भनाइ छ । जिल्लामा कोरना संक्रमितको दर दिनप्रतिदिन बढ्दै गएको छ । संक्रमित बढ्न थालेपछि निषेधाज्ञामा समेत कडाइ गरिएको बताइएको छ ।

बुढीनन्दाकी उपप्रमुख रेग्मीलाई कोरोना संक्रमण

बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ऐन्टिजेन विधिबाट परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण देखिएको उनले बताइन् । विगत ३ दिनदेखि सुक्खाखोकी र शरीर दुख्ने समस्या भएपछि परीक्षण गर्दा कोरोना संक्रमण फेला परेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन्।

उनले हाल स्वासप्रस्वासमा कुनै समस्या नदेखिएको बताएकी छन्। आफु होम आइसोलेसनमा बसीरहेको बताउँदै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन अनुरोध गरेकी छन् ।

मदिरा खाएर निषेधाज्ञा उल्लङघन गर्ने चार पक्राउ

कोरनाको महामारीका बेला सबैले सजकता र सुरक्षित बस्नका लागि जारी गरिएको निषेधाज्ञामा मदिरा खाएर हो हल्ला गर्दै नियमको उल्लङघन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम मार्तडीमा रहेको बजारमा मदिरा सेवन गरी हो हल्ला र नियमको उल्लङघन गर्दै आएका चार जनालाई पक्राउ गरी उनीहरुलाई प्रशासनमा जरिवाना तिराए छोडेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

महामारीका बेला पनि घरमै सुरक्षित बस्नुको साटो मदिरा खाएर हो हल्ला गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेर जरिवाना तिरेपछि छोडेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् ।

यस्तै बिहीबार नै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कोभिड–१९ को अवस्था र त्रिवेणी नगरपालिकाले गरिरहेको प्रयासका विषयमा नगर प्रमुख रामसिं रावलसंग छलफल गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराको सामाजिक संजाल फेसबुका जारी गरिएको एक विज्ञप्तीमा प्रशासनले चार हजार राजस्व संकलन गरेको उल्लेख गरिएको छ । बैशाख २२ गतेबाट लागु भएको निषेधाज्ञा समेत जारी रहेको बताइएको छ ।

चार सञ्चारकर्मी कोरना संक्रमित

जिल्लामा क्रियाशील चार जना पत्रकार कोरना संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका चार जना सदस्यलाई कोरना संक्रमण भएको पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले बताएका छन् । उनले जनतालाई सुसूचित गर्नका लागि दिनरात खटिएका चार जना महासंघका सदस्यलाई एन्टिजेन प्रविधिबाट चेकजाँच गर्दा कोरना पुष्टि भएको अध्यक्ष मल्लले बताए । कोरना संक्रमित भएका चार जना रेडियो र अनलाइन संचार माध्यममा कार्यरत रहेको महासंघ बाजुरा शाखाले जनाएको छ ।

कोरना संक्रमित भएका चार जनाको अवस्था भने सामान्य रहेको छ । महामारीमा स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर सुरक्षितरुपमा काम गर्न महासंघका सचिव नन्दा थापाले अपिल गरेकी छन् । संक्रमित भएका दुई जना होम आइसोलेसनमा र एक जना जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा भने एक जनालाई आज डिस्चार्ज गरिएको छ । डिस्चार्ज गरिएका पत्रकारलाई होम आइसोलेशनमा बस्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्