Logo
Logo

यात्रुसँग बढी भाडा लिने बसपार्कबाट पक्राउ



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने एक जनालाई गंगबु बसपार्कबाट पक्राउ गरेको छ । कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कडाइका साथ जाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन खोज्ने व्यक्तिहरु सक्रिय हुनसक्ने तथ्यलाई मनन गरी छड्के अनुगमनका लागि परिचालन भएका सादा पोशाकको टोलीले गंगबु नयाबसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले, स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने बाग्लुङ भगवती काउण्टरका कर्मचारी बर्ष ३० को मिलन सारुलाई पक्राउ गरेको पुष्टि गरेका छन् । काठमाडौँदेखि बाग्लुङसम्म जाने नियमति भाडा रु ९०० भएकामा निजले रु तीन हजारदेखि चार हजारसम्म लिएको पाइएपछि नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका सारुले वैदेशिक रोजगारबाट घर फर्किन लागेका १० जना यात्रुबाट बाग्लुङसम्म जान बढी भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ । पक्राउ परेका मिलनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी प्रभाग बसपार्कमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्