Logo
Logo

कसरी गर्ने हातको स्याहार ?


डा. रेखा थापा


मानिसको सुन्दरतामा अनुहारसँगै अन्य अंगको पनि उत्तिकै भूमिका हुन्छ । त्यस मध्येको एक हो, हात । त्यसैले अनुहारलाई जति स्याहार गरिन्छ, हातलाई पनि त्यति नै स्याहार गर्नुपर्छ ।
अनुहारमा विभिन्न सौन्दर्य सामग्री प्रयोग गर्छौ । तर, हातमा लोसन लगाउन समेत बिर्सिरहेका हुन्छौँ । यसरी स्याहार नपुग्दा सुक्खा र फुस्रो भइ हातको सुन्दरतामा ह्रास आएको हुन्छ । त्यसैले हातको सुन्दरताका लागि विशेष हेरचाह आवश्यक हुन्छ ।

कसरी गर्ने हातको स्याहार ?
१. हातको नियमित सरसफाइ गर्नुपर्छ । हरेकपटक हात धोएपछि ‘मोइस्चराइजिङ लोसन’ लगाउनुपर्छ । यसले हातलाई नरम र मुलायम बनाइराख्न मद्दत गर्छ ।
२. हात धुदा धेरै तातो र धेरै चिसो पानी प्रयोग गर्न हुँदैन । धेरै तातो र धेरै चिसो पानीले हातको छालामा असर पुर्याउँछ । सकेसम्म मनतातो पानी प्रयोग गर्नु राम्रो हुन्छ ।
३. भाँडा माझ्दा वा ‘डिटरजेन्ट सोप’ प्रयोग गर्दा पञ्जा लगाउनुपर्छ । पञ्जा लगाउँदा केमिकलले छालामा हानी पुर्याउन पाउँदैन ।
४. बाहिर निस्किदा अनिवार्य एस.पी.एफ.युक्त लोसन लगाउनुपर्छ । यसले घामबाट आउने ‘अल्ट्रा भायलेट’ किरणबाट हातलाई जोगाउँछ ।
५. बाइक वा स्कुटर चलाउँदा हातमा पञ्जा लगाउनु राम्रो हुन्छ ।
६. हात धुने समयमा नङलाई पनि सफा गर्नुपर्छ । यसका लागि पुरानो टुथब्रस प्रयोग गर्न सकिन्छ । यसले नङको वरिपरि फोहोर रहन दिँदैन र क्यूटिकल पनि सफा रहन्छ ।
७. नङलाई समय समयमा काट्ने र मिलाउने । अनावश्यक लामो नङ राख्नु राम्रो हुँदैन । छोटो वा मध्यम नङ नै सजिलो, राम्रो र आकर्षक हुन्छ ।
८. नङलाई स्वस्थ्य बनाउन क्यूटिकल क्रिम लगाएर मालिस गर्नुपर्छ ।
९. सुहाउँदिलो नेल पोलिस लगाउनुपर्छ ।
१०. हातमा अनावश्यक रौँ भए नियमित वाक्स गर्नुपर्छ ।
११. हप्तामा एकपटक हातमा स्क्रब गर्नुपर्छ । यसले हातको मृतकोषिका हटाइ छाला नरम र मुलायम हुन्छ ।
१२. सुत्नुभन्दा अगाडि सधैँ ‘नरिसिङ क्रिम’ वा ‘भेसलिन’ लगाएर हल्का मालिस गर्दा हात नरम र सुन्दर हुन्छ ।
१३. समय समयमा सलोन गएर ‘मेनिक्योर’ गर्दा हातको सुन्दरतालाई बचाइ राख्न सकिन्छ ।

घरमा मेनिक्योर कसरी गर्ने ?
हामीले दैनिक प्रयोग गर्ने सामग्रीबाट घरमै पनि मोनिक्योर गर्न सकिन्छ । घरमै मोनिक्योर गर्ने तरिका प्रस्तुत छः

नङलाई काटेर आकार दिने । त्यसपछि फायल गरी मिलाउने र क्यूटिकल सफा गर्ने । हल्का मनतातो पानीमा रुमाल डुबाएर हात पुछ्ने ।

स्क्रबिङ : दुई हातको लागि दुई चम्चा चिनी र एक चम्चा कफी आवश्यक मात्राको दूधमा मिसाउने । हातमा लगाइ हल्का हातले मालिस गर्ने । मालिस गर्दा चिनी र कफीको मसिनो दानाले घर्षण हुनुपर्छ । यसले छालाको मृतकोषिका हटाउँछ र नयाँ कोषिका बन्न मद्दत गर्छ । त्यसपछि हात नरम र मुलायम हुन्छ । यसको प्रयागले घामबाट डढेको पनि ठिक हुन्छ । पाँच मिनेट हात मालिस गरेर सफा पानीले पखाल्दा मुलायम र सफा हुन्छ ।

मसाज : स्क्रबिङपछि राम्रो ‘नरिसिङ मसाज क्रिम’ले हात मालिस गर्नुपर्छ । यदि यो उपलब्ध नभए ओलिभ ओयलमा केही थोपा ‘ग्लिसिरिन’ र केही थोपा ‘लेभेण्डर ओयल’ मिसाइ पाँच मिनेटसम्म मालिस गर्दा राम्रो हुन्छ । यसले रक्तसञ्चार बढाउँछ र मांशपेशीलाई रिल्याक्स गराई छाला स्वस्थ बनाउँछ ।

ह्याण्ड प्याक : दुई चम्चा बेसनको पिठो, दुई चम्चा मह र एक चम्चा बेसारलाई आवश्यक मात्राको दूधमा मिसाइ प्याक बनाउने । त्यसलाई हातमा लगाएर सुकिन्जेल रहन दिनुपर्छ । सुकेपछि चिसो पानीले पखाल्नुपर्छ । यस्तो प्याकले हातलाई स्वस्थ र आकर्षक बनाउँछ । यसले घामबाट डढेको छालालाई समेत ठिक गर्छ ।

स्क्रबिङ, मसाज र ह्याण्ड प्याक प्रयोगपछि लोसन लगाएर नङमा बेसकोट लगाइ चाहेको कलर लगाउँन सकिन्छ । त्यसमाथि ‘टपकोट’ लगाउँदा राम्रो देखिन्छ ।

यसरी घरमै आफैँले मेनिक्योर गर्न सकिन्छ । घरमै नियमित हातको हेरचाह गरे पार्लर वा सलोनको महंगो सेवा लिनुपर्दैन । घरमै बसेर आफ्नो हातलाई आफैँले सुन्दर बनाउन सकिन्छ ।

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्