Logo
Logo

ललितपुरमा एकै परिवारबाट ठगिए ६ सय जना


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ चैत ।
ललितपुरको ग्वार्काेस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेसन कन्सल्टेन्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीन कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ सयभन्दा धेरै व्यक्तिसँग करिब ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली तीन कम्पनी खोलेर पोल्यान्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् ।

तामाङदम्पतीले दृष्मा ओभरसिज, नबिल बचत तथा सहकारी संस्था र नाल एजुकेसन कन्सल्टेन्सी खोलेर ठगी गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले बताए । ‘हामीकहाँ ती कम्पनीबाट पीडित ६ सय ९ जनाले पाँच करोड ४३ लाख ठगिएको उजुरी दिएका छन्,’ एसएसपी धानुकले भने, ‘हामीले विस्तृत अनुसन्धान गरी १४ जनाविरुद्ध मुद्दा दायर गरेका छौँ ।’

प्रहरीले दृष्मा ओभरसिजका सञ्चालक अरुणकुमार महतो र नबिल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा दृष्मा ओभरसिजका सञ्चालक हरिबहादुर लामालाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरू दुवै मंगलबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य १२ जनालाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको छ ।

ठगीको नयाँ शैली
विदेश पठाइदिन्छु भनेर हुने ठगी राजधानीमा नयाँ घटना होइन । तर, उनीहरूले ठगीमा नयाँ शैली अपनाएका छन् । मासिक एक लाखभन्दा धेरै तलब हुने र तीन लाख खर्चमा पोल्याड पठाउने भनेर प्रचार गरेपछि ठूलो संख्यामा सर्वसाधारण कम्पनीमा पुगेका थिए । प्रक्रियाका लागि सुरुमा उनीहरूले एक लाख रुपैयाँ लिन्थे । तर, मेनपावर कम्पनीलाई नभई सोही भवनमा रहेको नबिल बचत तथा ऋण सहकारीमा आफ्नै नाममा खाता खोलेर जम्मा गर्न लगाउँथे । पैसा जम्मा गरेको भनेर पासबुकमा लेखिदिन्थे । ‘पोल्यान्ड पठाउन नसके सबै पैसा सहकारीबाट ब्याजसहित फिर्ता पाउनुहुन्छ,’ उनीहरूको आश्वासन हुन्थ्यो । बैंकमा राखेजस्तै हुने विश्वासमा सयौँले पैसा बुझाए । तर, पोल्यान्ड जाने उनीहरूको सपना टाढिँदै गयो, अकेन बहानामा उनीहरूले झुलाउँदै गए ।

पछिल्लो अधिकांश समय कार्यालय नै बन्द हुन थाल्यो । एक वर्ष बित्दा पनि विदेश नपठाएको र पैसा फिर्ता लिन खोज्दा पनि सहकारीमा पैसा नभएपछि पीडितहरू प्रहरीमा गए । ‘सहकारीमा जम्मा गरेको पैसा व्यक्तिगत प्रयोजनका लागि खर्च गर्दा रहेछन्,’ ललितपुर परिसरका प्रहरी निरीक्षक सुरेश भट्टले भने, ‘सहकारीको आवरणले गर्दा पनि धेरैजना ठगिए ।’ कन्सल्टेन्सीबाट समेत विदेश पठाइदिने भनेर उनीहरूले ठगी गरेका थिए । एकैजनासँग तीन लाख रुपैयाँसम्म लिएको अनुसन्धानमा खुलेको छ ।

परिवार नै संलग्न
यो ठगीमा दीपक तामाङको परिवार नै संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरू यसअघि नै वैदेशिक रोजगारसम्बन्धी ठगीमा संलग्न व्यक्ति हुन् । उनकी श्रीमती विमला तामाङ पुरानो ठगी मुद्दामा हाल जेलमै छिन् । उनलाई वैदेशिक रोजगार न्यायाधिकरणबाट तीन वर्ष ६ महिना कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवाना भएको थियो । जेलमै रहँदा पनि उनी ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ । त्यस्तै, उनीहरूका छोरा सञ्जीव तामाङले कम्पनीको आर्थिक कारोबार हेर्ने गर्थे । उनी हाल फरार छन् । विमलाकी आमा धरोदेवी तामाङलाई सहकारीको कोषाध्यक्ष बनाइएको थियो । उनलाई पनि फरार प्रतिवादीका रूपमा मुद्दा चलाइएको छ । सहकारीमा आफन्तलाई नै सञ्चालक र कार्यालयमा पनि निकटस्थ व्यक्तिलाई कर्मचारीका रूपमा राखेका थिए ।

सहकारी नै अवैध
तीनैवटा कम्पनी दर्ता गरेरै सञ्चालन गरिएको थियो । तर, अनुगमन गर्ने निकायहरूको उदासीनताका कारण उनीहरूले सजिलै ठग्न सफल भएको प्रहरी अधिकारीहरू बताउँछन् । नबिल बचत तथा ऋण सहकारी ललितपुरको कोञ्जोसोङ गाउँपालिकामा मात्र कारोबार सञ्चालन गर्न पाउने गरी दर्ता भएको थियो । तर, लामो समयदेखि ललितपुर महानगरपालिका–१७ स्थित ग्वार्काेमा सञ्चालन हुँदै आएको थियो । सो सहकारीमाथि कसैले नियमन नगर्दा उनीहरूले निजी कम्पनीझैँ चलाएर अनियमितता गरेका थिए ।

ठगी गर्नेहरू अमेरिका र पोल्यान्डमा
ठगीमा संलग्न कतिपय व्यक्ति विदेश पुगिसकेका छन् । अमितकुमार यादव पोल्यान्डमा रहेको र उनका भाइ विपिनकुमार यादव अमेरिका पुगेको खुलेको छ । अमितकुमारको तामाङ दम्पतीसँग पहिलेदेखि नै चिनजान थियो । विमलाले पहिला अर्काे मेनपावर सञ्चालन गर्दा उनले पनि सँगै काम गरेका थिए । पोल्यान्डबाट कामदारको डिमान्ड पठाउने भन्दै उनले पैसा लिएका थिए । उठाएको पैसा लिएर विपिनकुमार भने अमेरिका भागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्