घुम्तीमा नआऊ है… « Drishti News – Nepalese News Portal
Logo
सम्झना

घुम्तीमा नआऊ है…


छविरमण सिलवाल


गत वर्षदेखि संंसारलाई त्रसित बनाएको कोभिड–१९ केही मत्थर हुँदै थियो । तर, मान्छे दैनिकिमा फर्कने क्रमसँगै कारोनाको दोस्रो भेरियन्टले भारतमा तहल्का मच्चायो । नेपालमा पनि त्यसको असर देखिन शुरु भइसकेको थियो । तराईका केही स्थानका स्वास्थकर्मी अत्तालिइसकेका थिए । तैपनि सरकार कानमा तेल हालेर बसेको थियो ।

तीव्र दबाबका कारण १६ वैशाखदेखि निषेधाज्ञा लगाउने समाचार आइसकको थियो । मान्छेहरुलाई शहर छोडेर गाउँ फर्कको लागि केही दिन समय दिएको थियो । हामी पनि त्यसको तयारीमा जुट्दै थियौँ । समाचारका पृष्ठहरुमा आँखा दौडाउँदै बितेको हाम्रो दैनिकीमा एकपछि अर्को गर्दै बज्रपातहरु बज्रने क्रम भने रोकिएको छैन ।

अघिल्लो वर्षमा पनि हामीले नेपाली साहित्य, सङ्गीतका थुप्रै स्रष्टाहरुलाई गुमायाैँ । अहिले पनि निषेधाज्ञामा बसिरहेका बेलामा क्रमशः स्रष्टाहरुलाई गुमाइरहेका छौँ । दुःखद कुरा के भने यस्तो अवस्थामा उहाँहरुलाई अन्तिम बिदाइ गर्न जान सकेनौँ, यो भन्दा दुःखद कुरा अरु के हुनसक्छ ?

साहित्यलगायत अभिनय र गायनमा निकै प्रिय नाम थियो शोभा केसीको । उहाँलाई पनि कोरोनाले हामीबाट टाढा लग्यो । (यही हप्तामा) त्यस्तै अर्का स्रष्टा तथा नेपाल भाषा साहित्यका सुप्रसिद्ध साहित्यकार इन्द्र मालीको यही हप्ता निधन भएको दुःखद खबर हामीले सुन्यौ । स्व. श्री मालीको ‘झीगु भांषा झीगु खँग्वः’ मौलिक कृतिलगायत ‘शशिका केही गीत’, ‘भावना’ आदि सम्पादित अनुवादित कृतिहरू प्रकाशित छन् । उहाँलाई पनि पापी कोरोनाले हामीबाट टाढा गरिदियो ।

दोस्रो चरणको कोरोनाबाट बच्नका लागि हामी निषेधाज्ञाको आठौँ दिनमा सुप्रसिद्ध गायक प्रेमध्वज प्रधानले महाप्रस्थान गर्नुभएको खबरले मनमतिष्कमा शून्य व्याप्त भइरहेको छ । विडम्बना ! मृत्यु शाश्वत सत्य हो यसबाट बच्ने हामीमाझ कुनै उपाय छैन ! यही सम्झेर मनलाई बाँध्ने प्रयास गरिरहेका छौँ । प्रेमध्वज प्रधानले साँच्चिकै सार्थक र परिपूर्ण जीवन बाँचेर चोला बिसाउनुभयो ।

हामीले सानैदेखि सुनेका उहाँको कर्णप्रिय आवाज अहिले पनि उस्तै छ केबल उहाँको साथ छुटेको छ । उहाँले सुनौलो स्वरको भरपूर आनन्द लिने अवसर हामीलाई दिनुभयो । उहाँको शालीन, शिष्ट र विवादरहित व्यक्तित्वको प्रशंसा जति गरे पनि पुग्दैन । यस त्रासदीले उहाँसँग भेट्ने अवसर पनि दिएन । उहाँसँग बिताएका प्रत्येक क्षण मेरा लागि ऊर्जावान भएका छन् ।

विसं १९९३ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिनुभएका प्रेमध्वजका ‘घुम्तीमा नआउ है’, ‘पर लैजाउ फुलहरु’, ‘नमान लाज यस्तरी’ लगायत दर्जनौं लोकप्रिय गीत छन्, त्यो बेला उहाँलाई सर्वाधिक परिचित गाउने गीत भने– ‘गोरेटो त्यो गाउँको लौन आज…।’ नै थियो ।

८५ वर्षीय गायक प्रधानलाई कोरोना माहामारीले छुन सकेको थिएन तर यही समयमा उहाँले संसार छोड्नुभयो, मृत्यु सत्य हो हामी सबैको प्रस्थानविन्दु मृत्यु नै हो, तापनि मनमनमा बसेका यस्ता व्यक्तित्वहरुको बिछोडले भने मन विक्षिप्त बन्दोरहेछ । साथै यस्तो त्रासद समयमा भएको उहाँको दुःखद निधनले नेपाली साङ्गीतिक आकाशमा ठूलो क्षति भएको छ । हरेक मानिस आफ्नो प्रतिभाले चिनिएको हुन्छ । प्रतिभाले खारिएको हुन्छ । व्यक्तिगत जीवनमा घटेका घटनाहरुले हरेक मोडमा झस्काइरहेका हुन्छन् ।

उहाँ ६–७ वर्षको हुँदा उहाँका पिताजीले अर्की बिबाह गरेपछि उहाँका बुबाआमा अलग्गिनु भयो । उहाँ आमासँगै बस्नु भयो, गायन सङ्गीतको पारखी उहाँको आमाकै कारणबाट यस क्षेत्रमा लागेको कुरा हामीलाई धेरै पटक सुनाउँनु भएको छ । उहाँसँग धेरै नजिक रहनु भएका कवि, साहित्यकार तथा बासुशशी प्रतिष्ठानका सचिव प्रधुम्न जोशी भन्नुहुन्छ– ‘उहाँलाई म ०४०–०४१ सालदेखि नै चिन्छु ।

राममान तृषित, योगेश बैध र तिर्थराज वन्त उहाँहरु असाध्य मिल्ने साथी हुनुहँदो रहेछ । उहाँ तृषितको घरमा आइरहनु हुन्थ्यो । र, म पनि उहाँहरुलाई भेट्दा दङ्ग पर्थे । प्रेमध्वज एउटा उच्चकोटीको शालिन, भद्र गायक, मेहनती, कहिल्यै लोभ लालचमा नपर्ने र स्वभिमानी व्यक्तित्व हुनुहुन्थो । केही दिन अघिमात्र भाउजूसंग कुरा हुँदा हस्पिटलमा हुनुहुन्छ अब केहीदिनमा फर्कनुहुन्छ भन्नु हुन्थ्यो । फर्कनु भएन, नेपाली गीत सङ्गीतमा यो ठूलो क्षति हो । उहाँको चिन्ता यतिमात्र थियो नेपाली मौलिक गीतसङ्गीतको ट्र्याक परिवर्तन नहोस ।’

उहाँ पटक–पटक भन्ने गर्नुहुन्थ्यो– ‘करिब चालिसभन्दा बढी गीतहरु म्युजिक नेपालले बिना अनूमति बजाएछ ।’ यसले उहाँलाई झस्कायो । यो सर्जकको लागि दुःखद् कुरा थियो । र, सर्जकको हकहितको लागि लड्ने विचार गरेर उहाँले स्रष्टाको प्रतिलिपि अधिकारको लडाइँलाई अधुरै छाडेर जानुभएको छ । यो लडाइँ प्रेम दाइजस्ता दर्जनौँ स्रष्टाको लडाइँ हो, जो आफ्नो सिर्जनालाई आफ्नो भन्न नपाई बितेका छन् । कुनै दिन न्याय पाउँनु हुने नै छ । उहाँले शुरु गरेको कार्य पुरा गर्नको लागि धेरै पिडित स्रष्टाहरु साथमा उभिएका छन् ।

सानै उमेरमा सिन्धुपाल्चोकको चौताराबाट शहर पसेका गणेशध्वजलाई यही शहरले प्रेमध्वज बनायो । सानैमा बुबा आफ्नी आमासँग पारपाचुके गरेर अलग्गै बसेपछि बाबुले कमाएको पैसा उहाँलाई खास्सै काम लागेन । सानैदेखि आफैले कमाउँनु पर्ने र कमाएका पैसा आमालाई दिने बानी पर्यो । आमाले दुःखले पुतली बनाएर बेच्ने गरेको दृष्यले जीवन दुःखकै खानी रहेछ जस्तो लागेको थियो उहाँलाई । उहाँ भन्नु हुन्थ्यो– ‘मान्छेले दुःखसँग डराएर हुन्न् । दुःखसँग त पौठाजोरी गरेर भिड्ने हो ।’

यही मन्त्रले उहाँलाई आज हाम्रो मनमनमा बस्ने प्रिय बनायो । हामीले सानैदेखि सुनेका उनका कर्णप्रिय गीतका गायकलाई म जस्तोे काभ्रेको दुर्गममा बसेको फुच्चेले के भेट्न सकौला जस्तो लागेको थियो । अहिले काभ्रेको दुर्गमस्थान पनि सुगम बनेको छ । म पनि यही शहरसँग पौठाजोरी गरिरहेको तीन दशक पुगिसकेको छ । इच्छा र चाहना भएमा जस्तो परिस्थितिलाई पनि सहजै लिन सकिने रहेछ ।

मलाई उहाँसँगको भेटले सिकाएको मुल कुरा यही हो । उहाँसँग पहिलो भेट मेरो रत्न शमशेर थापाको घरमा भएको थियो । मलाई चिनापर्चि गराउँने रत्नदाई नै हुनुहुन्थ्यो । म पुगेको केही क्षण पछि उहाँ बाहिरिनु भयो । पछि भेट्दा म फलानो भन्दा ओ ! सिलवालजी म चिन्छु भन्नु भयो । म हर्षित भए त्यसबखत । त्यस पछि मैले सम्वोधन दाजु नै गरें । धेरै पटक म उहाँको घरमा पनि पुगेको छु ।

जहिले पनि आउँदै गर्नुस् न है भन्नु हुन्थ्यो । उहाँसँगको समिप्य असाध्य आनन्ददयी लाग्थ्यो मलाई । स्वार्थ रहित, निश्चल उहाँको व्यक्तित्वले मलाई सधैँ आर्कर्षित गरिरहन्थ्यो । यही लाग्छ जीवनको अन्तिम क्षणमा एकथुङ्गा फूल अर्पण गर्न सकिएन । प्रिय दाजु ! प्रिय गायक ! शब्दरुपी गुच्छाहरु मार्फत हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु !

प्रतिक्रिया दिनुहोस्