Logo
Logo

नियुक्तिमा झापालीको हालीमुहाली, ११ राजदूतमध्ये तीन जना झापाका


दृष्टि संवाददाता



काठमाडौं । सरकारका हरेक नियुक्तिमा क्षमता भन्दा प्रधानमन्त्री केपी शर्मा ओली र उनको टिमको निकटतालाई मात्र प्राथमिकता दिन थालिएको छ । महत्वपूर्ण नियुक्तिमा ओलीको गृह जिल्ला झापाका धेरै जना पर्ने गरेका छन्।


राजदूत नियुक्तिमा पनि झापाकै हालीमुहाली देखिएको छ । सरकारले गत साता ११ देशका लागि राजदूत नियुक्त गरेकोमा त्यसमध्ये तीन जना झापका छन् ।
बहराइनको राजदूतमा सिफारिस भएका युवराज कार्की, डेनमार्कको राजदूत सिफारिस भएका सुमित्रा भण्डारी तथा म्यानमारको राजदूत सिफारिस भएका प्रा डा नारायण प्रसाद संग्रौला झापाका हुन् ।

उनीहरुमध्ये संग्रौला प्रधानमन्त्री ओलीका नजिकका नातेदार हुन्। बिर्तामोड नगरपालिका २ चैतुबारी स्थायी ठेगाना भएका संग्रौला अहिले काठमाडौँको धुम्बाराहीमा बस्दै आएका छन् । कम्युनिष्ट आन्दोलनका पुराना नेता संग्रौलाले विपद् व्यवस्थामा पिएचडी गरेका गरेका हुन् । इलाम क्याम्पसमा केही वर्ष पढाएका उनी ७० वर्षीय संग्रौला अहिले रामनाथ दाहाल अध्ययन अनुसन्धान प्रतिष्ठानका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन्। झापा आन्दोलनदेखि नै उनी ओलीका साथी हुन् ।


बहराइनका लागि राजदूतमा सिफारिस भएका युवराज कार्की एमालेका नाम चलेकै नेता हुन् । गौरादह नगरपालिकाका बासिन्दा उनी पूर्व मन्त्री समेत हुन् । ओली सरकारले २०७४ मा उनलाई दक्षिण कोरियाको राजदूत बनाएकोमा शेरबहादुर देउवा सरकारले त्यसलाई बीचमै बदर गरिदिएको थियो ।


डेनमार्कका लागि सिफारिस भएकी सुमित्रा भण्डारी प्रधानमन्त्री ओलीको गृहनगर दमककी बासिन्दा हुन्। एमालेको प्रदेश कमिटी सदस्य उनी प्रधानमन्त्रीका सल्लाहकार रहेका नेता राजन भट्टराईको आफन्त हुन् ।


सरकारले ११ देशमा राजदूत सिफारिस गर्दा परराष्ट्र मन्त्रालयबाट दुई जनाको मात्र सिफारिस गरेको छ । जबकी ५०/५० प्रतिशत गर्नुपर्ने प्रावधान छ । परराष्ट्रका विज्ञहरुलाई राजदूत नबनाउने तथा कुटनीतिको ज्ञान नै नभएकालाई राजदूत बनाउँदा देशको कुटनीतिक कमजोर बनेको परराष्ट्रका पूर्व प्रशासकहरुले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्