Logo
Logo
मदन‍-आश्रित स्मृति दिवस

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नेता नेपालले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन् ।

‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’ उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले भनेका छन् ।

नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने नेपालले उल्लेख गरेका छन् । देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर हिंड्ने प्रण गरेमा मात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने नेता नेपालको भनाईछ ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा २०५० साल जेठ ३ गते चितवनको भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए ।

यो घट्नालाई ‘रहस्यमय’ भन्ने गरिएको छ । सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्