Logo
Logo

अमेरिकाको टेनिसीमा सुवेदी टिमको चुनावी कार्यक्रम सम्पन्न


दृष्टि संवाददाता



अमेरिका । गैरआवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदी नेतृत्व टिमको चुनावी कार्यक्रम टेनिसी राज्यमा सम्पन्न भएको छ। त्यसअवसरमा सुवेदीले नेपाल र नेपालीलाइ जोड्ने काम एनआरएनले गर्नुपर्ने विचार व्यक्त गरे।


अमेरिकाभरिका नेपालीहरुलाई पनि उत्तिकै कसिलो ढंगले एकताको सूत्रमा बाँध्नुपर्नेमा उनले जोड दिएका छिन् । कार्यक्रममा बोल्दै सुवेदीले नेपालमा गैर आवासीय नेपालीलाई दोहोर कर लाग्न नहुने ग्यारेन्टी गरिनु पर्ने खाँचो औंल्याए। उनले बर्थप्लेस नेपाल भनेर पासपोर्टमा लेखिएकाहरु नेपाल जाँदा टुरिस्ट भिसा लगाउने व्यवस्था हटाउनका लागि पहल गरिनुपर्ने बताएका छन् ।


गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो। ‘हामी नेपालमा जन्मिएकाहरुको नेपाली नागरिकताले सधैं मान्यता पाउनुपर्छ र दोस्रो पुस्ताले गैरआवासीय नेपाली नागरिकता पाउनुपर्छ,’ उनले भने। सुवेदीले युवा र महिला सहभागितासहित आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘विद्यार्थीको सवाललाई एनआरएनले छुट्टै युनिटबाट सम्बोधन गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने। विभिन्न क्षेत्रका बौद्धिकहरुको बुद्धिविवेकलाई नेपाली समुदायको हितमा सदुपयोग गर्न प्रयास गर्ने पनि उनले बताए। स्थानीय संस्था र एनआरएनका शाखाहरुबीच समन्वय गरी काम गर्दा प्रभावकारी हुने विश्वास सुवेदीले व्यक्त गरे। ‘सबैको उद्देश्य भनेको नेपालीका हक हित नै हो,’ उनले भने, ‘तसर्थ हामी सबैले समन्वय र सहकार्य गरेर काम गर्नुपर्छ। समाजको काम गर्दा हामी सबै समान हौं, को ठूलो को सानो भन्ने हुँदैन।’
अघिल्लो वर्षमात्रै ९ हजार सदस्य रहेको एनआरएन अमेरिकामा २० हजार सदस्य जोडिन सकेको जानकारी पनि अध्यक्षका उम्मेदवार सुवेदीले दिए। तर अझै धेरैलाई संस्थामा जोड्ने र नेपालीहरु कोशिस र उचो बनाउने काम गर्ने उनको भनाई छ।


वरिष्ठ उपाध्यक्षका उम्मेदवार बिआर लामाले संस्थालाई अझ बढी पारदर्शी बनाएर अघि लैजानुपर्नेमा जोड दिए। सुवेदीले नेतृत्वको टिम नै सक्षम रयोग्य ठानेर आफू यो टिमसँग आवद्ध भएको उनले सुनाए। ‘नेतृत्व सबल भएमात्रै संस्था बलियो हुन्छ,’ उनले भने, ‘च्याप्टरहरु पनि बलियो बनाउनुपर्छ, च्याप्टरहरु बलियो भएन भने पनि संस्था बलियो हुँदैन।’ महिला उपाध्यक्ष उम्मेदवार क्रान्ति अर्याल भण्डारी जहाँ बसे पनि नेपाल नै प्रिय रहेको विचार व्यक्त गरिन्। उनले महिला सहभागितामा जोड दिइन्।

अर्का उम्मेदवार सुमन थापाले जीवनमा आफूले हासिल गरेका अनुभवलाई एनआरएनका लागि समर्पित गर्ने प्रतिबद्धता जनाए।
उपाध्यक्षकै अर्का उम्मेदवार डिलुराम पराजुलीले अध्यक्षका उम्मेदवार सुवेदीका एजेन्डालाई कार्यान्वयन गर्ने लक्ष्यसहित उम्मेदवार बनेको सुनाए। उपाध्यक्षकै अर्का उम्मेदवार गोपेन्द्र भट्टराईले एनआरएन निकै ठूलो संस्था भएको हुँदा यसको प्रभावकारिता पनिठूलोबनाउने आफूहरुको प्रयास रहने बताए।


उपाध्यक्ष उम्मेदवार रामहरि अधिकारीले एनआरएनमा अरु पदहरुमा रहेर पनि काम गरेको अनुभव भएकैले उपाध्यक्षमा रहेर अझै योगदान गर्न सक्ने विश्वास व्यक्त गरे। एनआरएनका च्याप्टरलाई अझै बलियो बनाएर धेरै काम गर्न सकिने उनको विचार थियो।
महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाईंले सुवेदीको नेतृत्वमा एनआरएनलाई अझै बलियो संस्था बनाएर लैजान सकिने विश्वास व्यक्त गरे ।

महिला सचिवकी उम्मेदवार तारा ढकाल मरहट्टाले मानिस सामाजिक प्राणी भएको हुँदा नै सामाजिक काममा लाग्नुपर्ने बताइन्। सचिवका उम्मेदवार अनुप खनालले सबैको साथ र सहयोग लिएर नेपाल र नेपालीका लागि काम गर्ने बचनबद्धता जनाए। कोषाध्यक्ष उम्मेदवार राजीव श्रेष्ठले संस्थालाई पारदर्शी बनाएरलै जाने बताए। युवा वैज्ञानिक डा यादव पण्डितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकोषाध्यक्ष पदका उम्मेदवार अग्नि ढकाल, महिला कोअर्डिनेटर पदकी उम्मेदवार सुन्दरी गुरुङ, युवा संयोजक पदका उम्मेदवार त्रिभुवन पाण्डे, बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवार डा प्रकाश श्रेष्ठ, बोर्ड अफ डाइरेक्टरका उम्मेदवार विशाल राना, टेनिसी च्याप्टरकी महिला संयोजक अरुणा खड्का, कार्यकारी सदस्य नारायण भुसाललगायतको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता डा भरत पोखरेलले गरेका थिए भने स्वागत मन्तव्य डा घनश्याम भट्टले राखेका थिए। निर्विरोध निर्वाचित टेनिसी च्याप्टर अध्यक्ष डा सन्तोषकाजी थापाले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्