Logo
Logo

लुम्बिनी : किन भयो अक्सिजन अभाव, अस्पतालमै बिरामीको मृत्यु


दामोदर खनाल/दृष्टि संवाददाता


बुटवल । पछिल्लो समय कोरोनाको हटस्पट बदै गएको रुपन्देहीका अस्पतालमा बिरामीले अक्सिजन नपाएको खबर आइरहका छन् । एक हप्तामा मात्र अस्पतालभित्र र बाहिर गरी एक दर्जन बढी बिरामीले अक्सिजन नपाएरै ज्यान गुमाए । गत बुधबार मात्र रुपन्देहीको बुटवलमा ५ जना र भैरहवामा ३ जना गरी दुई सरकारी अस्पतालमा उपचार गराइरहेका आठ जना बिरामीले अक्सिजन नपाएकै कारण एकैदिन ज्यान गुमाए । बिरामीका आफन्तको भनाइमा दैनिकजसो अक्सिजन अभावका कारण अस्पताल पु¥याएर पनि बिरामीको मृत्यु भइरहेको छ ।

यसअघि पनि अस्पतालमा बेड नपाएका बुटवलका एक जनप्रतिनिधि बिरामीको अक्सिजन अभावकै कारण एम्बुलेन्समै ज्यान गएको थियो । यसरी अस्पतालमा उपचार गराइरहेका र उपचारार्थ पुगेका बिरामीले अक्सिजन नपाएर मृत्यृ हुनु निकै गम्भीर विषय हो ।

अस्पतालमा न बेड छ न त अक्सिजनको व्यवस्था नै । ऋणधन गरी महंगो भाडा तिरेर एम्बुलेन्स र गाडीमा अस्पताल आएका नागरिक यो अस्पताल र त्यो अस्पतालमा बेड र अक्सिजनका लागि भौतारिँदा हाम्रा जनप्रतिनिधिको खासै उपस्थिति देखिँदैन । बरू भएका एम्बुलेन्सलाई तोकिएको भाडामा हिँडाउन नसकेर पालिका प्रमुख आफू चढेका सवारी साधन बिरामी बोक्ने सवारी बनायौँ भनेर दंग छन् ।

मनपरी भाडा ?

के यही हो त निकास ? भएका एम्बुलेन्स थन्क्याएर खिया लगाउने कि एउटा स्पष्ट नीति नियम बनाएर सुपथ मूल्यमा भाडादर कायम गरेर सञ्चालनमा ल्याउन व्यवस्था मिलाउने ? यो महामारीमा जनता हरेक सवालमा ठगिएका छन् । के चर्को भाडा लिए कोरोना सर्दैन ? ठिक्क भाडा लिँदा कोरोना सर्ने हुन्छ र ? राज्यबाट भन्सार छुट लिएर सामाजिक सेवामा लागेका क्लबहरूले सञ्चालन गरेका एम्बुलेन्सका भाडा पनि मनलाग्दो छ । केही बढी हुनु स्वभाविक होला तर, अचाक्ली छ ।

यसअघि दुई÷अढाई लाखमा हेलिकोप्टर चार्टर्ड हुन्थो । अहिले ५ देखि ६ लाख भाडा तिरेर बिरामी काठमाडौँ पु¥याउनुपरेको छ । दलाली कमिशनको राज छ, खै स्थानीय प्रदेश र संघीय सरकारको उपस्थिति अनुगमन, छानबिन ? के पीडामा परेका नागरिक उपचार गर्न ऋणधन गरी चर्को मूल्य तिरेर उपचार गराउन बाध्य भइरहन पर्ने हो ?

के गर्दैछ सरकार ?

प्रदेश सरकार र प्रतिपक्ष सत्ताको रस्साकस्सीमा तल्लीन हुनु, प्रदेश स्वास्थ्य मन्त्रालय र स्वयं अस्पताल प्रशासन पहिल्यैदेखि बिरामीको चाप बढ्दै जाँदा सम्भावित जोखिमलाई आकलन गरी के कति बेड, अक्सिजन थप गर्नुपर्छ वा प्लान्ट जडान गर्नुपर्छ भन्नेतिर ध्यान दिनसकेको देखिँदैन । अन्यत्र खर्च नभएको बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेर पूर्वाधार निर्माणमा लाग्न पनि ध्यान दिएनन् । न त स्थानीय प्रशासनले जिल्लामा भएको अक्सिजनको पर्याप्तता र उद्योगको अवस्थाबारे अध्ययन अनुसन्धान नै गर्न सक्यो । जसका कारण नै एकाएक आपूर्तिमा समस्या देखियो र अक्सिजनको आपूर्तिमा केहीबेर ढिला हुँदा बिरामीको ज्यानै गयो ।

दैनिकरुपमा कोभिड संक्रमण बढ्दै गएपछि यहाँका अस्पतालहरु बिरामीले भरिभराउ छन् । कोभिड–१९ का बिरामी हेर्ने बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवामा रहेको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा बेड नपुगेर बिरामीहरु भुइँमै उपचार गराउन बाध्य भइरहका छन् । बिरामीहरुका आफन्त एम्बुलेन्समा बिरामी बोकेर बिभिन्न अस्पतालमा घुमाएर भर्ना नपाउँदा मृत्यु हुनुपर्ने अवस्था आयो । यस्ता घटनामा सरोकारवाला निकायको खासै ध्यान जान सकेको छैन । यो महामारीविरुद्ध नीतिगत निर्णय गरी काम गर्ने निकाय सिसिएमसी पनि कोरोनाको दोस्रो लहरप्रतिको सम्भावित जोखिमप्रति खासै ध्यानदिन सकेन ।

समस्या खुलासीमा

नेपाल– भारत सीमा सुनौली बेलहियामा नाकामा पनि भारतबाट नेपाल प्रवेश गर्नेहरुको चेकजाँचमा खासै ध्यान पुग्न सकेन, जसका कारण पनि भारतबाट संक्रमित दिनहुँ भित्रदैछन् । प्रदेश स्वास्थ्य मन्त्रालयका प्रमुखहरुले पनि समयमै सम्भावित जोखिमलाई ध्यान दिन सकेनन् । स्थानीय सरकारले पनि गतबर्ष जस्तो पालिकामा आइसोलेसन बेड, होल्डिड सेन्टर बनाउन चासो नदिँदा यहाँका अस्पतालमा भएका बेड, आइसीयु, भेन्टिलेटर र एचडियु बेडले विरामी धान्न सकेन । आकस्मिक कक्षकै बेड भरिएर बिरामीहरु भुइँमा, गेट, करिडरमा उपचार गराइरहने स्थिति सिर्जना भयो । यस क्षेत्रका अस्पतालमा अहिले स्वास्थ्यकर्मीसमेतको अभाव छ । कम स्वास्थ्यकर्मीले मात्र स्वास्थ्य उपचार दिइरहेछन्, जुन प्रभावकारी हँुदैन ?

३५० को ज्यान गयो

जिल्लाका अस्पतालमा हालसम्म करिब ३५० बढीले ज्यान गुमाइसकेका छन्, भने ८ हजारको हाराहारीमा पोजेटिभ केस छन् । धेरै विरामी होम आइसोलेसनमा छन् । कतिको त पिसिआर परीक्षण नै हुनसकेको छैन । कतिले स्वास्थ्यकर्मीको परामर्श सम्म पाउन सकेका छैनन् । भ्याक्सिनका लागि त समय लाग्छनै । अनि उपचारमा संलग्न चिकित्सकहरुलाई दिनरात बिरामीको भन्दा अक्सिजनको ब्यवस्था कसरी गर्ने होला भन्ने चिन्ता छ । योभन्दा बिडम्बना के हुन सक्छ ?

अस्पताको भनाइलाई आधारमान्दा रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा हाल प्रत्येक दिन ४ देखि ४५०, भीम अस्पताल भैरहवामा ३ सयदेखि ३५० र मेडिकल कलेज भैरहवामा ४ सयदेखि ६ सय सिलिण्डर खपत भइरहेको छ । संक्रमित थपिने क्रम तीब्र अवस्थामा छ भने खपत बराबरको पनि अक्सिजनको उपलब्ध नहँुदा अस्पतालमा उपचारार्थ रहेका संक्रमितहरुको ज्यान जोखिममा पर्ने चिकित्सकहरुको भनाइ छ ।

फोकल पर्सन डा नन्द, पाठकका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर संक्रमितको ज्यान जाने जोखिम प्राय टरेको छैन । अक्सिजनका लागि बिभिन्न ब्यक्ति संघ सस्था संचारकर्मी गुहार्न विवश छौँ भन्छन् । उता बिरामी र आफन्तहरु पनि प्राय अक्सिजन सकिदैछ अरु पाइदैन अब के गर्ने होला भन्ने चिन्तामा हुन्छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार हाल जिल्लामा दैनिक एक हजार ६ सय बढी अक्सिजन सिलिण्डर माग भए पनि जिल्लामा रहेका तीनवटा उद्योगवाट दैनिक करिब ९ सय देखि १ हजार सिलिण्डर अक्सिजन आपूर्ति हुनसकेको छ । केही अपुग बाहिरी जिल्लाबाट आपूर्ति गर्नुपरेको उनी बताउँछन् । गत बुधबार र शनिबार बुटवल कोरोना बिशेष अस्पतालमा अभाव भएपछि बेलुका केही सिलिण्डर अक्सिजन सेनाको हेलिकप्टरबाट ढुवानी गरियो ।

प्रजिअ तामाडले अक्सिजन सहज गर्न लुम्बिनी प्रादेशिक अस्पतालमा र भैरहवाको मेडिकलकलेजको अक्सिजनप्लान्ट मर्मत सम्भार गरी संचालन गर्ने, उद्योगवाट उत्पादित ग्यासलाई नियमित र व्यवस्थित गरी उत्पादन बढाउन जोड दिँदै नपुग लिक्युड अक्सिजन भारतबाट आयात गर्ने रणनीति बनाएको बताउँछन् ।

उता अभाव टार्न प्रशासनले बिहीबार सूचना जारी गर्दै रुपन्देहीका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको भन्दै आवश्यकता पर्न सक्ने बहानामा अक्सिजनको सिलिण्डर स्टक नगर्न आग्रहसमेत गरेको छ । होम आइसोलसनमा प्रयोग भएको भए त्यसको विवरण समेत सुरक्षा निकायमा जानकारी गराईदिन आग्रह गर्दै प्रशासनको जानकारी बिना कसैको घरमा अक्सिजन सिलिण्डर भेटिए कारवाही गर्ने समेत जनाएको छ । स्थानीय तह र बिभिन्न संघ संस्थाहरुले राहत प्रदान गर्ने नाममा आफु निकटका ब्यक्तिहरुका घरमा अक्सिजन पु¥याउने, अक्सिजन बैकका नाममा सिलिण्डर होल्ड गर्न थाले पछि प्रशासनले यस्तो कडाइ गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्