Logo
Logo
समाचार विश्लेषण

ओली कसरी भारतीय प्रिय भए ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधनमन्त्री केपी शर्मा ओली पुस ५ गते संसद् विघटनपछि बाघको सवारमा छन् । जसको सुरक्षित अवतरण असम्भव प्रायः भइसकेको छ । झट्ट हेर्दा ओलीले व्यक्तिगत राजनीतिक सफलता हासिल गरेका छन् । तर, यथार्थमा उनले आफूसँगै नेपालमा अहिलेसम्मकै उचाईमा पुगेको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्दैछन् । त्यसैले उनले चालेका कदमहरु कम्युनिस्ट सिद्धान्त र विचार विपरित मात्र छैनन्, त्यसको विरुद्ध पनि देखिदैछ ।

ओली जानी नजानी कम्युनिस्ट सिध्याउन ग्रान्डडिजाइनको मतियार बन्दै गएका छन् । यो कुराको पुष्टि उनले दुईतिहाइको प्रतिनिधिसभा भंग गरेर गरे । त्यसको एउटै मात्र उद्देश्य थियो, माओवादीलाई सिध्याउने । त्यसपछि प्रतिनिधिसभा पुनःस्थापना भयो, तर पनि माओवादी सिध्याउने उद्देश्य अधुरै रह्यो र फागुन २३ गते सर्वोच्च अदालतलाई प्रयोग गरेर दुईतिहाइको नेपाल कम्युनिष्ट पार्टी खारेज गरिदिए ।

यो एक दिनमा भएको निर्णय थिएन, नेकपा एमाले र माओवादी केन्द्र एकता भएदेखिकै सुनियोजित षड्यन्त्र थियो । पार्टी एकतादेखि नेकपा भंग हुँदासम्मको भित्री खेल ओलीलाई मात्र थाहा छ, त्यसैले उनी अल्पमतमा परेर पनि प्रधानमन्त्रीमा उनी टिकिरहेका छन् । नेपालको राजनीतिलाई अस्थिरतामा धकेलेर वाह्य शक्ति निर्णायक हुने दिशातिर मुलुक अगाडि बढेको छ । जसपाभित्रको विवादको प्रमुख कारक पनि यही नै हो ।

प्रधानमन्त्री ओलीलाई यतिबेला दक्षिणी छिमेकी भारतको दरिलो साथ देखिएको छ । भारतको अखबार दी हिन्दुस्तान टाइम्सले सम्पादकीय नै लेखेर दिल्लीको ओलीलाई साथ रहेको उल्लेख गरेको छ । सत्तारुढ भारतीय जनता पार्टीका सांसद सुव्रमनियन स्वामीले ‘ओली भारतको च्वाइस’ रहेको भन्दै २८ वैशाखमा ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘मेरो ज्ञानमा ओली भारतको च्वाइस हुन् । यदि प्रचण्ड प्रधानमन्त्री बनेमा चीनले जित्नेछ ।’

उनको यो अभिव्यक्ति निकै अर्थपूर्ण छ । कतिपय भारतीय मिडियाले ओलीलाई भारतको साथ रहेको विषय खुलेरै लेखेका छन् । तर, कुनैबेला भारतको गलत कदमको खुलेर आलोचना गर्ने ओलीलाई किन साथ मिलिरहेको छ ? यो सोचनीय विषय हो । यसमा कुनै निहित उद्देश्य लुकेको देखिन्छ ।

२०७२ सालको नाकाबन्दी बखत भारतको भूमिकाको सबैभन्दा सशक्त रुपमा विरोध गर्ने ओली नै थिए । उनले नाकाबन्दीको मात्र विरोध गरेनन् मधेश आन्दोलनको समेत आलोचना गरे । ओलीलाई मधेशमा बहिष्कार गर्ने र आउनै नदिनेसम्मको धम्कीहरु मधेशवादी नेताहरुबाट भयो । अहिले तीनै नेताहरु ओलीलाई साथ दिइरहेका छन् ।

यसमा पनि केही खास योजना पक्कै छ । नाकाबन्दीमा भूमिका खेल्नेहरुको सामना गरेर राष्ट्रवादी परिचय बनाएका थिए ओलीले । त्यही परिचय उनलाई दुई तिहाईको प्रधानमन्त्री बन्न सहयोगसिद्ध बन्यो । ओलीले चीनसँग पारवहन सन्धी गरे । उत्तरी छिमेकीसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै लगे ।

दक्षिणी छिमेकीले लिम्पियाधुरा हुँदै रणनीतिक मार्ग बनाएपछि ओली फेरि सशक्त रुपमा प्रस्तुत भए । त्यसको विरोध कुटनीतिक माध्यमले गरे । कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको चुच्चो नक्शा जारी गर्न लगाए । यो हदसम्म दक्षिणको दबाबको सामना गरेका ओलीलाई नै किन भारतले यति धेरै साथ दिइरहेको छ ? चुरो कुरा यहीभित्र लुकेको छ ।

ओलीलाई जति जति दक्षिणको साथ मिलेको छ उति उति उनले कम्युनिस्ट पार्टीलाई कमजोर पार्दै लगेका छन् । इतिहासमा पहिलोपटक दुईतिहाइको सरकार बनाएको कम्युनिस्ट पार्टी निरन्तर क्षय भोगिरहेको छ । दुईतिहाइको ओली सरकार बहुमतमा सिमित हुँदै अल्पमतमा परिसकेको छ ।

एकीकरणपछि बलियो बनेको नेपाल कम्युनिस्ट पार्टी विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिइसकेको छ । नेकपा एमाले पनि फुटको संघारमा नै छ । कम्युनिस्ट पार्टी छिन्नभिन्न हुने खतरा बढिरहँदा ओलीले दक्षिणको साथ पाइरहेका छन् ।

यसबाट पनि ‘दालमे कुछ काला हे’ बुझ्न सकिन्छ । ओलीलाई भारतको साथ मिलेको चाल पाएरै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘इन्डियाको टाङमुनी छिरेको’ टिप्पणी गरेका थिए । प्रचण्डले पनि ओलीको राष्ट्रवादमाथि प्रश्न उठाउँदै विदेशीको स्वार्थ पूरा गर्न लागिपरेको टिप्पणी गरेका छन् ।

अहिले भारतलाई खुशी पार्न ओलीले चीनको विकाससम्बन्धी रणनीति ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) परियोजना रोक्न लागेका छन् । अमेरिकालाई खुशी पार्न मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्न प्रयासरत छन् । पछिल्लो समय भारत र अमेरिकाको साथ पाउने गरी ओलीको उद्देश्य केन्द्रित रहेको देखिदैछ । तर, ओली कमजोर बन्दै जाँदा ती देशहरुले उनीबाट फाइदा लिन खोजिरहेका छन् ।

ओलीको सत्ता लिप्साको कमजोरी बुझेरै उनीबाट फाइदा लिन विदेशी शक्ति लागिरहेका छन् । जसका कारण ओली कम्युनिस्ट सिद्धान्त र भावना विपरितका गतिविधिमा सक्रिय छन् । उनी कहिले पशुपतिनाथको विशेष पूजामा पुग्छन् त कहिले राम मन्दिर अयोध्यापुरीमा बनाउन जुट्छन् ।

जसरी राहुल गान्धीलाई मोदीले रणनीतिक तरिकाले मठमन्दिर दौडाए, त्यसरी नै नेपालमा ओलीलाई दौडाइदिने अवस्था बनाइदिएका छन् । यसले अन्ततोगत्वा कम्युनिस्ट पार्टीप्रति हेर्ने दृष्टिकोणमा नकारात्मक असर देखिने निश्चित छ । विदेशीलाई खुशी पार्न ओलीले सिद्धान्त र निष्ठालाई समेत तिलाञ्जली दिँदारहेछन् भन्ने सन्देश गइसकेको छ ।

जनता अक्सिजन नपाएर मरिरहँदा ओली बालुवाटारमा रामसीताको मूर्तिपूजा गरेर बसिरहे । बेसारपानीको टुक्का हानेर कोरोना भाइरस ठिक गर्न सकिन्छ भनेर भ्रम छरिरहे । महामारी यति भयावह भयो कि ओलीको बेसारपानी टुक्का बन्द भयो । ‘जय सिया राम’ शैली उनकै लागि प्रत्युत्पादक बन्दै गयो ।

ओलीले यो भुले कि पश्चिम बँगालमा ‘जय सिया राम’ नारा छिरेपछि कम्युनिस्ट पतनको दिनगन्ती शुरु भएको थियो । ३५ वर्ष दुईतिहाइको सरकार नेतृत्व गरेको कम्युनिस्ट पार्टी सन् २०१९ को लोकसभा चुनाव र २०२१ को विधानसभा चुनावमा सुन्य भयो । भाजपाले ‘जय सिया राम’को नारा छिराएर कम्युनिस्टलाई लोकसभा र विधान सभामा सुन्यमा झारिदियो । योजनावद्ध तरिकाले कम्युनिस्टलाई पश्चिम बंगालमा पतन गराइएको थियो ।

अहिले पश्चिम बंगालकै शैलीमा नेपालमा कम्युनिस्ट पार्टी छिन्नभिन्न हुँदै पतन बनाउने ग्रान्डडिजाइन भइरहेको छ । ओली त्यसमा मतियार बनेका छन् । उनलाई कम्युनिस्ट पार्टी छिन्नभिन्न पार्न आधार निर्माण गरेकैले दक्षिणबाट साथ मिलिरहेको देखिदैछ । नत्र नाकाबन्दीमा मोदीको खुलेर आलोचना गर्ने र चुच्चो नक्शा प्रकाशन गर्न साहस गर्ने ओलीलाई दक्षिणबाट साथ दिनुपर्ने कुनै कारण थिएन । ओली जति बदनाम बन्दै गएका छन्, उति नै उनलाई साथ बढिरहेको छ ।

कोरोना भाइरसको महामारी भयावह बनिरहँदा उनी सत्तासंघर्षमा रुमल्लिइरहेका छन् । जनता अक्सिजन नपाई ज्यान गुमाउन वाध्य भएको, महङ्गीले आकाश छोएको र अराजकता बढेकोमा उनलाई मतलब नै छैन ।

विश्वले नेपालको भयावह स्थितिबारे उल्लेख गरिरहँदा ओली सरकार त्यसलाई ढाकछोप गर्न तल्लिन छ । महामारीको पीडाले नागरिकको हृदयबाट निस्केको चित्कार समेत ओलीले सुनिरहेका छैनन् । उनी सत्ता कसरी टिकाउने र कसरी देशलाई मध्यावधिमा लगेर आफ्नो हठ पूरा गर्न सकिन्छ भन्नेमा चिन्तित छन् ।

इतिहासमै पहिलोपटक बहुमत ल्याउन सफल कम्युनिस्ट पार्टीको एकतालाई ओलीले टुटाइसकेका छन् । अहिले दुई टुक्रा भएको छ । छिन्नभिन्न बनाउन ओली उद्धत छन् । उनी वाह्य साथको बलमा आफ्नै सहकर्मी र मित्रहरुलाई पाखा लगाउँदै बढ्न खोजेका छन् ।

कम्युनिस्ट आन्दोलनको धज्जी उठाएका छन् । संसदमा बहुमत गुमाइसकेका छन् । विश्वासको मत लिन र आफूविरोधी गठबन्धन बन्न नदिन जस्तोसुकै हतकण्डा अपनाउन थालेका छन् । सांसद किनबेच र अपहरण जस्ता घटनाहरु दोहोरिन थालेका छन् । यसले कम्युनिस्ट पार्टीलाई बदनाम बनाइरहेको छ ।

ओली बहुमतबाट अल्पमतमा पुगेका छन् । अब उनको काँधमा देशको राजनीतिक परिवर्तन र विकास हुँदै गएको पद्धति र प्रणाली नै ध्वस्त पार्ने रणनीतिक अन्र्तगतको भारी बोकाइँदैछ । ओली सत्ताको क्षणिक स्वार्थका लागि ति कदमहरु चाल्न तयार देखिएका छन् ।

कम्युनिस्ट छिन्नभिन्न पार्ने र बगांलको शैलीमा पतन गराउने ग्रान्डडिजाइनको मतियार बनाइँदैछन् । त्यसकै लागि उनलाई विदेशी शक्तिले निरन्तर साथ दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्