Logo
Logo

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति माधव समूह रुष्ट


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रति वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन भन्दै गरेको अपिलमा प्रयोग गरिएको शब्दप्रति माधव समूहले आपत्ति जनाएको हो ।

पार्टीको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको बेला पार्टी अध्यक्षबाट व्यक्त धारणाले पार्टी एकता कामय गर्न नसक्ने माधव पक्षका नेताको धारणा छ ।

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन आचारसंहिता उलंघन गर्दै बुधबार दिउँसो बादललाई भोट माग्न जारी अपिलमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, सूर्य चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय कल्पना बाहिरको कुरा रहेको उल्लेख छ ।

त्यस्तै यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि स्वीकार्य र क्षम्य हुन नसक्ने उल्लेख छ । पार्टीभित्र सहमतिको वातावरण नै नबनेको अवस्थामा राष्ट्रिय सभा सदस्यका उम्मेदवार डा. खिमलाल देवकोटालाई समर्थन गरेको विषयलाई लिएर ओलीले धम्कीको भाषा प्रयोग गरेको भन्दै माधव समूहले आपत्ति जनाएको हो ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर वरिष्ठ नेता नेपाल समेत रुष्ट रहेको बुझिन्छ । निकट नेताका अनुसार वरिष्ठ नेता नेपालले यस्तो प्रवृत्तिले पार्टीलाई एकतावद्ध गरेर लैजान मुस्किल हुने प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्