Logo
Logo

तीन युवती मिलेर काठमाडौँमा अचम्मको हत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ पुस ।
महिलाहरुको लागि ‘सौता’ कति असह्य हुन्छ भन्ने कुरा गत साता काठमाडौँमा भएको एउटा घटनाले देखाउँछ । सौताको एउटा लफडाले धेरै जनाको परिवार ‘ध्वस्त’ हुन पुगेको छ । 

मुगु घर भएका धर्मराज शाहीको परिवारको कथा हो । शाही कांग्रेसको राजनीतिमा आबद्ध छन् । साथै परिवार चलाउन एनजीओमा आबद्ध छन् । उनको कमजोरी हो महिला । विवाहित शाही धेरै पटक महिलाको लफडामा परेका थिए । 


पछिल्लो समय उनी आफ्नै सहपाठी अजिता मल्लसँग प्रेममा परेका थिए । बिहे गरेपछि अजितालाई उनले छाड्न सकेनन् । श्रीमती विष्णुमायालाई थाहा नदिई उनी अजितासँगै बस्न थाले । 
तर, धेरै समय आफूहरुको सम्बन्ध उनले लुकाउन सकेनन् । श्रीमतीलाई त्यसबारे शंका भइसकेको थियो । त्यही विषयलाई लिएर उनीहरुबीच पटक–पटक झगडा हुने गरेको थियो । केही महिनाअघि विष्णुमायाले आफ्नो श्रीमानलाई मुगुकै अजितासँग रंगेहात भेटाइन् । प्रहरी लगाएर थुनाइन् । श्रीमानले उनलाई वास्ता नै गर्न छाडिसकेका थिए । जसकारण दुवै जनालाई बहुविवाहमा मुद्दा चलाएर थुनाउने उनको योजना थियो । बहुविवाह मुद्दा चलाउन अर्काेसँग बिहे गरेको प्रमाण चाहिने प्रहरीले बताए । आफूहरुबीच लेनदेन रहेकाले भेट गरेको र अरु केही सम्बन्ध नभएको भन्दै धर्मराजले श्रीमतीलाई फकाएर त्यसबेला छुटेका थिए । 
तर, अजिताको आफ्नो श्रीमानसँग सम्बन्ध रहेको विष्णुमायालाई पक्का भइसकेको थियो । बहुविवाह मुद्दा चलाउन उनी प्रमाणको खोजीमा थिइन्् । उनीहरुले बिहे नै गरेको र अजिताको मोबाइलमा भिडियो समेत रहेको कसैले सुनाइदिएको थियो । 
अझ पछिल्लो समय अजितालाई श्रीमानले टोखा क्षेत्रमै डेरा खोजेर राखिदिएको  थाहा पाएकी थिइन् । विष्णुमाया  पनि टोखामै डेरामा बस्दथिन् । अजितालाई खोज्न उनी विभिन्न घरहरु धाउने गरेकी थिइन् । स्थानीय प्रहरीलाई समेत अजिताको फोटो देखाएर सोधिन् । तर, पत्ता लगाउन सकिनन् । 
निरन्तरको खोजीपछि उनले अजिता बस्ने घर पत्ता लगाइन् । अजितालाई भेटेर उसलाई कुट्न र मोबाइल खोसेर बिहेको फोटो ल्याउने उनको योजना थियो । त्यही योजना अन्र्तगत गत १ पुसमा उनीहरु अजिता बस्ने टोखा नगरपालिका मिलनटोलस्थित तारानाथ अर्यालको घरमा पुगे । दिउँसो करिब २ बजेको समयमा डेरा खोज्ने बहानामा त्यहाँ पुगेका थिए । घरमा केही कोठा पनि खाली थियो । 
घरधनीको कान्छी छोरी मात्र घरमा थिइन् । दिदी घरमा नभएकाले चार बजे आउन उनले भनिन् । त्यहीअनुसार दिउँसो चार विष्णुमाया त्यहाँ गइन् । उनी एक्लै गएकी थिइनन्, दिदी भगवती मल्ल, भदा गोविन्दराज मल्ल र गोविन्दकी प्रेमिका रिता केसी समेत त्यहाँ पुगेका थिए । 
गोविन्द र रिता भुईतलामा कोठा हेर्न थाले ।  विष्णुमाया र भगवती भने माथिल्लो तलामा गए, त्यहाँ अजिता बस्दथिन् । जाने वित्तिकै अजितासँग उनीहरुबीच कुटाकुट भयो । त्यही क्रममा गोविन्दकी प्रेमिका रिता पनि त्यहाँ पुगिन् । अजिताको मोबाइल लिएर रिता बाहिर निस्किइन् । अजिता ६ महिनाको गर्भवती दिइन् । विष्णुमाया र भगवतीसँग उनी निरिह भइन् । दुवै मिलेर अजिताको घाँटी थिचेर हत्या गरे । तर, घरबेटीले त्यसबारे केही पत्ता पाएनन् । 
त्यो दिन धर्मराज मुगुमै थिए । पटक पटक अजितालाई फोन गर्दा पनि उठेन । २ घन्टासम्म पनि फोन नउठेपछि उनले घरबेटीलाई फोन गरेर अजिताको कोठामा गएर हेरिदिन आग्रह गरे । घरबेटीकी छोरी माथिल्लो तलामा गएर ‘अजिता अन्टि’ भन्दै बोलाइन्, तर नबोलेपछि उनी फर्किइन् । 
अजिताले नजिकैको पसलबाट अघिल्लो दिन जारको पानी मगाएकी थिइन् । संयोगले त्यही दिन साँझ पसलका युवक पानी लिएर उनको डेरामा पुगे । पानी लगेर बोलाउँदा नबोलेपछि खाटमा गएर हेर्दा मुखबाट रगत आएको अवस्थामा उनी भेटिइन् । त्यसपछि उनले घरबेटीलाई खबर गरे । नजिकैको प्रहरीलाई खबर भयो । प्रहरीले गएर हेर्दा अजिताको मृत्यु भइसकेको थियो । प्रारम्भिक अनुसन्धानमै उनको हत्या भएको जस्तो देखियो । 
त्यहीकारण महानगरीय प्रहरी अपराध महाशाखाले पनि घटनाको अनुसन्धान अघि बढायो । डिएसपी रुगम कुँवरको नेतृत्वमा अनुसन्धान टोली खटियो । 
सिसिटिभीले खोल्यो रहस्य 
सोही दिन बेलुकाबाटै प्रहरीले अनुसन्धान अघि बढायो । सो घर नजिकै एक सिंगापुरे लाहुरेको घर छ । उनले व्यवसाय गर्नका लागि घरको चारै तर्फ नौ वटा सिसिटिभी जडान गरेका छन् । सो सिसिटिभीबाट अनुसन्धानमा सहयोग पुग्ने प्रहरी अपेक्षा थियो । सोही अनुसार प्रहरीले सिसिटिभी फुटेज केही युवा र युवतीहरु दौडिएर भागेको देखियो । हत्यामा उनीहरु नै संलग्न रहेको आशंका गरियो । 
तर को हुन् त उनीहरु ? अनुसन्धानको क्रममा प्रहरीले विष्णुमायाकै एक आफन्तसम्म पुग्यो । ती आफन्तलाई सिसिटिभीमा देखिएको भिडियो देखाएर सोध्दा उनले विष्णुमाया भएको बताए । सोही आधारमा प्रहरी विष्णुमायाको डेरामा पुग्यो । सुरुमा उनले केही थाहा नभएको बताइन् । जब उनी त्यहाँबाट भाग्दै गरेको भिडियो प्रहरीले देखायो । उनी केही बोल्न सकिनन् । अर्काेतर्फ मृतकको मोबाइल पनि उनकै डेरामा भेटिएको थियो । त्यसपछि उनले सबै घटनाको विवरण सुनाइन् । हत्या गर्ने योजना नभई मोबाइल ल्याउने योजनाले त्यहाँ गएको तर, रिस रोक्न नसकेपछि हत्या गरेको बताइन् । घटनाको २४ घन्टा नबित्दै सबै सत्यतथ्य प्रहरीले बाहिर ल्यायो । 
भोलिपल्टै चारै जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी कारबाही अघि  बढायो । एक छिनको रिस नियन्त्रण गर्न नसक्दा एक परिवारले आफ्नो छोरी गुमाएका छन् । विष्णुमाया र भगवतीको जीवन पनि जेलमा सड्ने भएको छ । त्यस्तै गोविन्द मल्ल र रिता केसीको फक्रदै गएको प्रेममा फुल्न नपाउँदै ओइलाएको छ ।   
 मृतक मल्ल स्थायी शिक्षक हुन् । उनी स्नातकोत्तरमा अध्ययनरत थिइन् । विष्णुमाया पनि स्नातकोत्तर तहकै बिद्यार्थी हुन् भने भगवती एलएलबी पढ्दै थिइन् । तर, एकै छिनको रिसले सबै बर्बाद भएका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चार जनालाई थुनामा राखी कारबाही अघि बढाइएको छ । यो घटनामा उनीहरुलाई २५ वर्षसम्म कैद सजाय हुनसक्छ । 

प्रतिक्रिया दिनुहोस्