न्यूरोडको झाँकी « Drishti News – Nepalese News Portal
Logo

न्यूरोडको झाँकी


छविरमण सिलवाल


एउटा फुच्चे केटोले कागजको (नेपालको) झण्डा बनाएको हुन्छ । उक्त झण्डा दिदीसँग मामाघर जाँदासँगै लिएर जान्छ । कथाको पात्र र उक्त फुच्चे केटोको भेट गुडिरहेको बसमा हुन्छ ।

पात्रले जिस्काउँछ– ‘यो झण्डा मलाई बेच्छाैँ ।’ पैसाको बार्गेनिग हुन्छ । हजारसम्म पात्रले दिन्छ, तर फुच्चे बोल्दैन । अन्तमा भन्छ– ‘हजार त के लाख दुई लाख दिए पनि बेच्दिन ।’ बानेश्वरमा उनीहरु बसबाट ओर्लन्छन्, त्यहाँ लोकतन्त्र आएको खुशीयालीमा ठूलो जुलुस देख्छ फुच्चेले । राता निला झण्डाहरु हल्लिरहेका हुन्छन् ।

फुच्चेले आफूले बोकेको जस्तो नेपालको झण्डा कहीँ कतै देख्दैन । त्यहीँ आफैले बनाएको झण्डा बोकेरै भए पनि फुच्चे हुलमा मिसिन्छ । जुलुसका केहीले त्यो झण्डा देख्ने वित्तिकै च्यातिदिन्छन् । फुच्चे केटोलाई पात्रले अर्को पार्टीको झण्डा दिएर फकाउँन खोज्छ तर, उसको रुवाई कम हुँदैन । ऊ रुदैँ भन्छ– ‘मेरो झण्डा मेरो झण्डा !’

यी अंशहरु हुन् ‘न्यूरोडका झाँकी’ कथासङ्ग्रहभित्रको ‘बिना पार्टीको मान्छे’ शिर्षक कथाको । वास्तवमा अहिले भईहेको यथार्थ पनि यही हो । अहिले जे गर्न पनि पार्टीको कार्यकर्ता नै चाहिन्छ । कि त नेताको आसेपासे चाहियो । नत्र यो भूगोलमा टिक्न कठिन नै छ भुइँ मान्छेहरुलाई । साहित्यकारहरुले साहित्यका विविध विधामार्फत यस्ता विकृतिहरुलाई उजागर गरिरहेका छन्, तर देश बनाउँने टाउकेहरुलाई यी र यस्ता कुराहरु सुन्ने र मनन गर्ने समय कहाँ छ र ? उनीहरु ठान्छन् यी त उनीहरुले आफ्ना कुण्ठा पोखेकामात्र हुन् ।

पुरुष भएर महिलाको मनका कुरा बुझेर लेख्न पक्कै सजिलो छैन, तापनि एउटी महिलाले ती कुराहरुको विद्रोह गर्नु पक्कै पनि समाजको दायराभित्र पर्दैन ।

देशको मुख्य मियो भनेकै राजनीति होे, यो सफल भएमा सबै क्षेत्र सफल हुने हो, हाम्रो जस्तो मुलुकमा हुने यस्तो राजनीतिले हामीलाई झन पचासवर्ष पछि धकेलिरहेको छ । नेताहरुको चेतनामा गुदी भर्नको लागि लेखक, कविहरुले राम्रै प्रयास गरिहेका छन् । यसैक्रममा तुलसीहरि कोइरालाले पनि भर्खरै ‘न्यूरोडका झाँकी’ कथासङ्ग्रहमार्फत सचेत गराउँन खोजेका छन् ।

नेपालको सुदुरपूर्वबाट काठमाडौमा जागिरका क्रममा आएका कथाकार कोइरालाले तराई, गाउँ र शहर जोड्ने एउटा पुल निर्माण गरेका छन्, कथामार्फत । कथाको परिवेश शहरिया भएता पनि पात्र ग्रमिण जीवनकै छन् । शहरको उज्यालोमा होमिएका कैयौ पात्र र शहरले नपत्याएका उनीहरुका दुःखका पहाडसँग पौठाजेरी खेलिरहेका पौरखी हातहरुका कथा हुन्, न्यूरोडका झाँकीका कथाहरु ।

सबैले नदेख्ने पीडाका सुष्म घाउ कथाकारले देखेर लेखेका छन् । लेखक मूलतः साहित्यिक पत्रकार हुन् र त्यसपछि साहित्यकार । यी त्रिकोणत्मक धोलबाट जन्मेका यी कथाहरुले नेपाली कथा साहित्यमा तुलसीहरि कोइरालालाई कथाकारकोे भिडमा बेग्लै पहिचान बनाएको छ । त्रिकोणत्मक संगमबाट निस्केका यी कथा रुपि फोहोराहरुमा कतै निबन्धात्मक स्वाद भेटिन्छन्, कतै पत्रकारका रिपोर्टिङ्का स्वाद पनि छन् र कहीँ कतै काव्यिक स्वाद पनि भेटिन्छन् । त्यसले गर्दा कथानक स्वाद पनि स्वादिलो बनेका छन् ।

वास्तवमा कथा लेख्नु ठूलो कुरा होइन, तर कथाले दिने सन्देश ठूलो कुरा हो । कथाकारको तिन दशक देखिको लेखन अनुभव तथा साहित्यिक पत्रिका मधुपर्कको सम्पादन कार्यको अनुभव ‘न्यूरोडको झाँकी’मा प्रष्ट रुपमा आएको छ । कथाकारको अबको बाटो निकै फराकिलो बनेको आभाष न्यूरोडका झाँकीका कथाहरुले देखाएका छन् । त्यसो त उनको कलम लघुकथा, कविता, निबन्ध तथा बालसाहित्यमा पनि चलेको छ । उनको कथाको यो पहिलो कृति भए पनि अन्य विधाका आधा दर्जन कृतिहरु प्रकाशित भएका छन् ।

न्यूरोडका झाँकीभित्र उन्नाइस ओटा कथाहरु छन् । मझौँला आकारका यी कथाहरमा यौन मनोविज्ञान, कर्मचारीको भ्रष्टाचार मनोवृति, वर्गिय विभेद, सिमान्तकृत वर्गका आवाज लगायत शहरका विकृतिहरुका बारेमा बुलन्द आवाज उठेका छन् । लेखक आफै पनि सरकारी कर्मचारी हुन्, उनले कर्मचारीको भ्रष्टाचार मनोवृतिलाई ‘ठूलाबाको कन्तुर’ र ‘पिलो’ शिर्षकका दुईओटा कथामार्फत कर्मचारी वर्गको बेतिथिलाई व्यङ्यात्मक रुपमा प्रस्तुत गरेका छन् ।

पहिले काठमाडौँको मुटु मानिने न्यूरोडको सेरोफेरोका विकृतिहरु किताबको शिर्षक कथाले बोलेको छ । लेखक दैनिक रुपमा आवतजावत गर्ने तथा अफिसको झ्यालबाट हेर्दा पनि देखिने कारुणिक र विकृतिका दृश्यहरुले नै उनको कथाको मर्म हो । यहाँका भुइँ मान्छेका पीडा सुन्ने फुर्सद कसलाई हुन्छ र यो व्यस्त शहरमा, तर कथाकारले ति दृश्यलाई शब्दमा उतारेका छन् ।

वैदेशिक रोजगारीले हाम्रो समाजमा नराम्ररी गाजेको छ, त्यसको परिणाम पनि भयावह नै रहेको छ, यस्ता विकृति पनि कथामा समेटिएको छ । सक्नेले नसक्नेलाई कसरी पीडा दिन्छन् भन्ने कुरा र उनीहरुको पीडामा आफूले केही सहयोग गर्न सक्छु कि भनेर कथाकार आफै कथाको पात्र भएर हिड्दा गाली खानु परेको कुराले कथाकार झसङ्ग हुन्छन् ।

यसको मतलव हो, कथाकारले कथाका पात्रहरुलाई न्याय गरेको देखिन्छ । कथाका पात्रको दुःखसँग आफू पनि दुखित बनाएको दृश्यले कथालाई बेग्लै स्वरुपमा ढालेका छन् । एकाध कथाका पात्रहरुलाई कथाकारले स्वच्छन्द छोडिदिएर अलिक न्याय नगरेका हुन कि जस्तो लाग्छ । हुनतः पाठकलाई पनि केही कौतुहल त छोड्नै पर्यो । अन्यायमा परेका ति पात्रहरुलाई हामीले पढेर अवश्य न्याय मिल्नेछ भन्ने मलाई लाग्छ ।

कथामा उनले उठाउँन खोजेको एउटा विषयवस्तु स्वार्थी मान्छेहरुको कथा हो ‘डिभी चिट्ठा’ यो किताबको अन्तिम कथा हो । डिभी परेपछि छोरीलाई बिबाह गर्ने मान्छेहरुले भिसा नपाएपछि छोरी फिर्ता गर्नेजस्तो । हाम्रो समाजको तुच्छ यथार्थ पनि यही हो ।

हुनतः उनका कथाहरु स्वरैकल्पनाको कुनै छैैनन्, । यी कथा पढिसके पछि पाठकले न्यूरोड शहरका हरेक स्थानहरुमा ति पात्रहरुलाई खोज्न सक्छन्, भटिन्छन् पनि सजिलै । उनका केही कथाहरु यौन मनोविज्ञानका कथा छन् । पुरुष भएर महिलाको मनका कुरा बुझेर लेख्न पक्कै सजिलो छैन, तापनि एउटी महिलाले ति कुराहरुको विद्रोह गर्नु पक्कै पनि समाजको दायराभित्र पर्दैन ।

तर आफूलाई बिहे गरेर दिएको श्रीमानको बारेमा उनको धारणा गलत देखिन्छ । पक्कै पनि एउटी परिपक्क महिलाले स्मार्ट श्रीमान नै रोज्छ । बाबुले खोजिदिएको केटो मन नपरेपछि उसको विद्रोहले उसले पाएको दुःख भन्दा पनि यौन सन्तुष्टिमा खुसी देखिएकी एउटी नारीको मनोविज्ञानलाई कथाकारले राम्रैसँग कथामा सजाएका छन् ।

यसरी समग्रमा हेर्दा न्यूरोेडका झाँकीले हाम्रा समग्र समाजका बेथितिलाई उजागर गरेको छ । उनको त्रिकोणात्मक लेखनीले कथा कथा जस्ता भएका छन् । यी कथाहरुले तुलसीहरि कोइरालालाई उनको कथाकारितामा थप उचाईमा लग्नै पक्का देखिन्छ । शिखा बुक्सद्धारा प्रकाशित यस कृतिको मूल्य रु ३२५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्