Logo
Logo

ढाका छोड्नु अघि


तीर्थ सिग्देल


बंगालीहरुले उल्लु बनाए

मेरा मित्र दंगाली कवि सुरेशसुमन डाँगीका कारण ढाका छोड्नु अघि निक्कै हतारो भयो । उनलाई अलिक छिटो दाङ पुग्नुपर्ने थियो । हामी नेपालको पूर्वी सीमा आइपुगेर पनि दाङ पुग्न दुई दिन त लाग्छ नै । उनको दाङ पुग्नुपर्ने दिनसम्म त हामी ढाकामै थियौं ।

हाम्रा टिम लिडरले बंगलादेशका हाम्रो कार्यक्रमका आयोजक असिफ रहमानसँग कुरा गरे । एउटा झापासहितको टोली एक दिन अगाडि नै फर्किने भयो । यातायातको प्रबन्ध गरिदिनु पर्ने भयो । उनले कुनै चिन्ता नगर्न भने । हामी ढुक्क पर्यौं ।

त्यो रात हामी फर्कन सकेनौं । कारण बसको टिकट नभएकाले त के भनौं टिकट नपाएकाले । ढिलो खबर गरेका कारण भारतको बोर्डर बंगलाबन्दतिर आउने बसको टिकट पाउन गाह्रो भएछ ।

हाम्रो फिर्ती सवारी अर्को दिनका लागि पुग्यो । के गरेर बसिरहने र ? मूल कार्यक्रम सकिएको थियो । अबको कार्यक्रम घुमघाम र अवलोकन नै हो । तैपनि एउटै खाले दृश्य, उस्तै परिवेशमा कतिपय घुमघामले सार्थकता प्राप्त गर्न सक्दैन । त्यसमा पनि मैले नै जाउँ भनेर आएका उनलाई समयमा घर पुग्ने अवस्था बनेन भने मित्रतामा दरार आउने खतरा उत्तिकै थियो ।

उनी भनिरहेका थिए, यी बंगालीले हामीलाई धोका दिए । हिजै फर्कन सकिन्थ्यो । टिकट नै काटिदिएनन्, यार…

म नाजवाफ थिएँ । अफ्ठेरोमा परेको थिएँ, बंगालीहरुमाथि शंका गरौं, कसरी ? आफ्नै मित्रलाई केही भनूँ, कसरी ? मलाई दुबैको भूमिकामा केही भन्नु थिएन । बरु चुपचाप बसिरहेको बेला उनै असिफ रहमानले आजको घुमघामको कार्यक्रमको सेड्युल सुनाए ।

बंगलादेश स्वतन्त्रता नायक शेख मुजिबुर रहमानको हत्या भएको घरलाई संग्रहालय बनाइएको छ । त्यहाँ पुगेर पनि भित्र नजाने भन्दै बाहिरै बसियो । त्यहाँ जान उनै बंगलादेशी मित्र आसिफले गरेको करलाई सम्झें । मनमनै भने, ओ… आसिफ भाइ । यू आर ग्रेट…।

त्यो सेड्युलमा ढाकामा रहेका कतिपय मेडिकल कलेजहरुको भ्रमण र त्यसका संचालकहरुसँगको भेटघाटदेखि बंगलादेशका स्वतन्त्रता नायक शेख मुजिबुर रहमानको हत्या भएको स्थल र उनको घर (जसलाई हाल सरकारले संग्रहालयको रुप दिएको छ) सम्म रहेछ ।

यो सेड्युल सुनेपछि फेरि बंगालीहरुले हामीलाई उल्लु बनाए जस्तो लाग्यो । तैपनि अरुलाई छोडेर एक्लै कहाँ बसिरहनु ? सवारी साधन तम्तयार छ, हामीलाई बोक्न । हामी त केवल गइदिए मात्र हुन्छ । उनीहरुले जताजता भन्छन्, त्यतै ।

त्यो दिन पनि त्यत्तिकै बित्ने चिन्तामा हिँड्याैँ । गाडी रोकियो, शेख मुजिबुर रहमानको हत्या भएको स्थल र उनको नाममा खोलिएको संग्रहालय अगाडि । धेरै साथी भित्र पसे । सुरेश र म भने बाहिरै उभिइरह्यौं ।

संग्रहालय अगाडि शेख मुजिबुर रहमानको समाधिमा फूल चढाएर मन शान्त पार्यौं । उनका बारेमा र बंगलादेश स्वतन्त्रता संग्रामका बारेमा विभिन्न लेखकरुले लेखेका किताब बेच्न राखिएको पसलभित्र सिसामा सजाइएका किताब हेरेर समय कटायौं । बरु एक दुई स्न्याप फोटो लियौं । अहँ… भित्र पसेनौं ।

केही क्षणमा हाम्रो टोलीलाई संग्रहालयभित्र नदेखेपछि उनै आसिफ भाइ कुर्ता सुरुवाल तान्दै हामी माझ आए । र, भने, यहाँसम्म आएर पनि यो ठाउँ नहेरी जानु भयो भने पछि पछुताउनु हुनेछ । प्लिज… यो मेरो अन्तिम अनुरोध हो । आज त तपाईहरु फर्किनु हुनेछ । मैले भर्खरै बसको टिकट कन्फर्म गरेको छु । कुनै चिन्ता नलिनु होला ।

यति भनेपछि मात्र सुरेशजी मुस्कुराउनु भयो । त्यसपछि मैले जाउँ न त भनेपछि हामी सबै भित्र पस्यौं ।

बंगलादेशका स्वतन्त्रताका नायक शेख मुजिबुर रहमानको हत्या भएको यत्रो बर्षपछि सन् २०२० को अप्रिल १२ तारिखका दिन उनको हत्यामा दोषी सावित भएका पूर्व सैन्य अधिकारी अब्दुल मजिदलाई मृत्युदण्ड दिइएको समाचार आएपछि मैले त्यो दिन सम्झें । तीनै बंगलादेश स्वतन्त्रता नायक शेख मुजिबुर रहमानको हत्या भएको स्थल र घरलाई संग्रहालय बनाएर पर्यटकहरुका लागि खुल्ला गरिएको र त्यहाँ जान उनै बंगलादेशी मित्र आसिफले गरेको करलाई सम्झें ।

मनमनै भने, ओ… आसिफ भाइ । यू आर ग्रेट…।

मजिदलाई फाँसी दिइयो

दुःखको कुरा । हामीसम्ममा पनि अरुको सम्मान गर्ने संस्कार रहेनछ । बंगलादेशका स्वतन्त्रताका नायक शेख मुजिबुर रहमान उनीहरुका लागि भगवान् सरह हुन् । हाम्रा लागि गणेशमान सिंह, बीपी कोइराला, मनमोहन अधिकारी, पुष्पलाल, मदन भण्डारी जस्ता हुन्, उनीहरुका लागि शेख मुजिबुर रहमान उस्तै हुन् । हाम्रा नेताहरु, सरकार प्रमुखहरु नयाँ दिल्ली पुगे भने लालकिल्ला पुग्छन् ।

भारतीय स्वतन्त्रता संग्रामका नायक गान्धीको समाधिस्थलमा श्रद्धा अर्पण गर्छन् । चिनमा पुग्दा माओप्रति झुक्छन् । जुनसुकै देश पुगेपछि त्यो देशको आदर्श र महानताप्रति श्रद्धा गर्ने आम प्रचलन नै छ । विदेशी नेताहरु, मन्त्री, प्रधानमन्त्रीहरु आउँदा हाम्रा देशमा पनि शहिदप्रति सम्मान दर्शाउँछन् ।

हामीले किन त्यसो गरेको होला ? किन उनले गरेको त्यो आग्रहलाई अस्वीकार गरेको होला ?

अझ हामी त आफ्नै प्रयासमा बंगलादेशको भ्रमणमा थियौं । यो भ्रमण हाम्रा लागि दुर्लभ र अन्तिम पनि हुन सक्थ्यो । फेरि दोहोरिएर बंगलादेश पुग्ने सम्भावना कम पनि हुन सक्थ्यो । आज आएर अथवा यो किताब लेख्न बस्दा लाग्छ, हामीले जति भ्रमणबाट आनन्द र फाइदा लिनुपर्ने थियो, त्यो लिन सकेन छौं । किनभने जब मलाई कतिपय घटनाका पूरक जानकारी चाहिने बेला हुन्छ, त्यतिबेला त्यो ठाउँ सम्झिन्छु ।

अहो…त्यहाँ जान पाएको भए, आज कति काम लाग्ने रहेछ । अनि बेलाबेला लाग्छ, भ्रमणलाई आँखाको मजा र सस्तो मनोरंजनको विषय मात्र बनाउनु नहुने रहेछ । हामी जहाँ पुग्छौं, त्यहाँको इतिहास र भुगोलबारे जानकारी लिइरहन सके पछि जुनसुकै समयमा पनि काम लाग्ने रहेछ । अझ लेखकहरुका लागि त त्यो अमूल्य सम्पत्ति नै हुने रहेछ ।

वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता रहमान र उनको परिवारका धेरैजसो सदस्यहरू सहित सन् १९७५ को सैन्य कूमा सोही घरमा मारिएका थिए । जुन घरमा बनाइएको संग्रहालय हेर्न हामी हाम्रै हठले झण्डै बन्चित भएका थियौं ।

शेख मुजिबुर रहमान बंगलादेशका संस्थापक नेता, महान अगुवा एवम् प्रथम राष्ट्रपति हुन् । उनलाई सामान्यतयाः बंगलादेशका जनकको रुपमा लिइन्छ । मुजिबुर रहमान अवामी लीगका अध्यक्ष थिए । उनले पाकिस्तानविरुद्ध सशस्त्र संग्रामको अगुवाई गरेर बंगलादेशलाई मुक्ति दिलाएका थिए । त्यसपछि उनी बंगलादेशका प्रथम राष्ट्रपति बने । र, पछि प्रधानमन्त्री पनि भए ।

उनी शेख मुजीबको नामले प्रसिद्ध थिए । उनलाई बंगबन्धुको पदवीबाट सम्मानित गरिएको थियो । बंगलादेशको मुक्तिको तीन वर्षभित्रै १५ अगस्त १९७५ मा सैनिक कूद्वारा उनको हत्या गरियो । उनका दुई छोरीहरु मध्ये एकजना शेख हसीनाले आज पनि उनको विरासतलाई थामिरहेकी छिन् ।

१५ अगस्त १९७५ को एकाबिहानै । बंगलादेशको सेनाका केही विद्रोही युवा हतियारसहित ढाका स्थित राष्ट्रपति निवास पुगेर राष्ट्रपति शेखÞ मुजीबुर रहमानको हत्या गरे । हमला गर्न उनीहरुले सेनाको टैंक लिएर गएका थिए । पहिले उनीहरुले मुजीबुर रहमानका छोरा शेखÞ कमालको हत्या गरे । त्यसपछि मुजीबुर रहमानको र परिवारजनको ।

मुजीबका सबै तीनबटा छोरा र उनकी पत्नीको समेत हत्या गरियो । त्यस घटनामा जम्मा २० जना मारिएको इतिहास छ । अप्रत्यासित त्यो हमलामा मुजीब परिवारका कोही पनि पुरुष सदस्य बँचेनन् । उनका दुई छोरीहरु संयोगवश बँचे । जो यो घटनाको समयमा त्यहाँ थिएनन्, जर्मनीमा थिए ।

तीमध्ये एकजना शेख हसीना र अर्की शेखÞ रेहाना थिए । पिताको हत्यापछि शेखÞ हसीना भारत बसिन् । उनले उतै बसेरै बंगलादेशका तत्कालीन शासकविरुद्ध विभिन्न अभियान चलाइन् । पछि सन् १९८१ मा उनी बंगलादेश फर्किइन् र सर्वसम्मतिले अवामी लीगको अध्यक्ष भइन् ।

बंगलादेशले पाकिस्तानबाट स्वतन्त्र बनेको चार वर्षमै उनको हत्या भएको थियो । मजिद कूपछि पनि देशभित्रै बसेका थिए । उनी शेख हसिना प्रधानमन्त्रीमा निर्वाचित भएपछि सन् १९९६ मा भारततिर भागेको विश्वास गरिन्छ । शेख हसिनाको सरकारले उनका बाबुको हत्यारालाई संरक्षण गर्ने किसिमको कानून परिवर्तन गरेर सन् १९९८ मा मजिद सहित एक दर्जन सैन्य अधिकारीहरूलाई मृत्युदण्ड सुनाएको थियो ।

बंगलादेशको सर्वोच्च अदालतले उक्त निर्णयलाई सन् २००९ मा सही ठहर्याएपछि त्यस लगत्तै पाँचजना दोषी सावितहरूलाई फाँसी दिइएको थियो । अब्दुल मजिदले राष्ट्रपति समक्ष जीवनरक्षाका लागि गरेको अपिल अस्वीकृत भएपछि मजिदलाई राजधानी ढाकामा बल्ल फाँसी दिइयो ।

बंगलादेश यसरी जन्मियो

शेख मुजिबुर रहमानका हत्यारा मजिदलाई फाँसीको फन्दामा चढाएपछि मेरो मुजिबुरप्रतिको सम्मान अझ बढ्यो । जतिबेला हामी उनको हत्या भएको स्थलमा राखिएको समाधिमा फूल चढाइरहेका थियौं, त्यो बेला एउटा भावना भने मनमा उर्लिएको थियो ।

आखिर मानिस जुन देशमा जन्मन्छ, उसलाई त्यही देशको प्रेमले सताउँछ । उसले त्यही देश प्यारो ठान्छ । आखिर मान्छे जुन घरमा जन्मियो, उसलाई त्यही घर परिवारको मायाले सताउँछ । उसले तिनै आमा बाबुलाई आदर्श ठान्छ । खासमा विश्व देशहरुको देश त हो । जहाँ जो जन्मियो, ऊ त्यही देशको नागरिक बन्यो ।

मैले आफूलाई नेपाली भएर मेरो देशप्रति गर्व गरेको त्यतिबेला विशेष सम्झिएँ, जतिबेला तीनै आसिफ भाइले हामीलाई शेख मुजिबुर रहमानको घरलाई बनाइएको संग्रहालय हेर्न धेरै हत्ते गरेका थिए । किनभने उनी पनि जन्मले बंगलादेशी भएका थिए । उनलाई पनि मेरै जस्तो देशप्रति आदर गर्ने, सम्मान गर्ने र गर्व गर्ने हक थियो । अधिकार थियो ।

बंगलादेशको स्वतन्त्रता संग्राम सन् १९७१ मा भएको थियो । त्यसलाई ‘मुक्ति संग्राम’ भनिन्छ । यो युद्ध सन् १९७१, २५ मार्चदेखि १६ डिसेम्बरसम्म भएको थियो । यो रक्तरंजित युद्धकै माध्यमबाट बंगलादेशले पाकिस्तानबाट स्वाधीनता प्राप्त गरेको थियो । १६ डिसेम्बर सन् १९७१ मा बंगलादेश बन्यो । पाकिस्तानसँगको यो ऐतिहासिक जीतको विजय दिवसको रूपमा यो दिनलाई लिइन्छ, त्यहाँ ।

सन् १९७१ अघिसम्म बंगलादेश पाकिस्तानको एउटा प्रान्तजस्तो थियो । जसका नाम पूर्वी पाकिस्तान थियो । त्यतिबेला वर्तमान पाकिस्तानलाई पश्चिमी पाकिस्तान भनिन्थ्यो । लामो समयसम्म चलेको बंगाली भाषीहरुमाथि पाकिस्तानी सेनाको अत्याचारका विरुद्धमा जनता सडकमा आएका थिए ।

बंगलादेश स्वतन्त्रता आन्दोलन चलेको बेला त्यो आन्दोलन दवाउन पाकिस्तानले ठूलै कसरत गरेको थियो । त्यसबेला भारतले छिमेकीको नाताले बंगलादेशीहरु लाई सहयोग गरेको थियो । यही विषयलाई लिएर पछि भारत र पाकिस्तानबीच पनि लडाइ भयो ।

तत्कालीन पूर्वी पाकिस्तानमा बंगाली भाषीको बाहुल्यता रहेको थियो । तर, उनीहरुमा राजनीतिक चेतनाको कमी थियो, जसका कारण पाकिस्तानका शासकहरु सजिलै शासन गर्ने गर्दथे । यो क्षेत्र सँधैजसो उपेक्षाको शिकार बनेको थियो । यसका कारण उनीहरुमा निरासा छाएको थियो । र, यही जनतामा देखिएको निरासा र आक्रोसको लाभ लिने प्रयास गरेर शेख मुजीबुर रहमानले प्रयास गरेका थिए । तत्काल उनले अवामी लीग गठन गरेर जनतालाई संगठित गरे । जुन दलको पहिलो माग नै बंगलादेश स्वतन्त्रता रहेको थियो ।

सन् १९७० मा भएको आम चुनाबमा पूर्वी क्षेत्रमा शेखको पार्टीले जबर्दस्त विजय हासिल गर्यो । उनको दलले संसदमा बहुमत हासिल गर्यो । तर, उनलाई प्रधानमन्त्री बनाउनुको साटो जेल हालियो । त्यसपछि पाकिस्तान विभाजनको रेखा कोरियो ।

उनको अपमान गरियो । संसद्मा बहुमत हुँदा पनि जेल हालिएपछि उनका मतदाता पनि आक्रोशित बने । जसका कारण उनलाई जनता जगाउन सजिलो मात्र भएन, धेरै सजिलो भयो ।
अन्ततः त्यो संघर्षको प्रतिफल दक्षिण एसियामा एउटा मुलुकको उदय भयो ।

यात्रा संस्मरण : एक दिन (समय कथा) बाट

प्रतिक्रिया दिनुहोस्