Logo
Logo

संघर्षसँग हार्दिनँ म : सोनु थारु, अभिनेत्री/निर्मात्री


एमपी सुब्बा


कुनै फिल्मभन्दा कम छैन अभिनेत्री तथा निर्मात्री सोनु थारुको जीवन । थारु समुदायकी यी चर्चित अभिनेत्रीको प्रेम, विवाह र विछोडजस्ता जीवनकथालाई पर्दामा उतार्ने हो भने ‘सुपरहिट’ फिल्म बन्नसक्छ । सोनुले कलाकारितामा जस्तै प्रेम र वैवाहिकमा सम्बन्धमा पनि थुपै्र उचाव–चढाव बहोरेकी छन् । ‘दरार’, ‘यि कैसिन नाता’, ‘डगर’जस्ता थारुभाषाका फिल्मकी निर्मात्री सोनुले हालै तेस्रो विवाह गरिन् । अभिनेता प्रेम चौधरी र एनआर चौधरीसँग सम्बन्ध नटिकेपछि हालै राकेश चौधरीसँग घरजम गरेकी छन् उनले । फिल्म निर्माणमा सक्रिय सोनु भन्छिन्, ‘जीवन भनेकै संघर्ष रहेछ, म अब फेरि जिरोबाटै अगाडि बढ्दैछु । यिनै अभिनेत्री तथा निर्मात्री सोनुसँग एमपी सुब्बाले गरेको जम्काभेट ।


हिजोआज कता के गर्दै हुनुहुन्छ ?
– भूकम्प गएको सालमै सुटिङ गरेको फिल्म ‘तु मिल गिलो’लाई ल्याउन तयारी गर्दैछु । त्यतिखेर सुटिङ गरियो तर, काम रोकिएको थियो । माघ १ गते मेरो जन्मदिन हो, त्यो दिन प्रिमियर गर्ने गरी काम गरिरहेकी छु । तर, नभ्याउलाजस्तो छ । माघ १ गते नभ्याए १५ गते च्यारिटी गर्नेछु ।
के भएर यतिका समय रोकियो ?
– फिल्म रोकिनुका विभिन्न कारण छन् । तीमध्ये एउटा पारिवारिक कारण हो । कतिपय कुरा तपाइँलाई पनि थाहा छ । तर, अब पारिवारिक झमेलाहरु सल्टाउँदै जाँदैछु ।
तपाइँ करिब तीन वर्ष गायब हुनुभयो, त्यो समयमा के गर्दै बस्नुभयो ?
– काठमाडौं आएदेखि मेरो जीवनमा उचाव–चढावहरु आइरह¥यो । तैपनि फिल्म निर्माण र कलाकारितालाई निरन्तरता दिँदै आएँ । तर, यो तीन वर्षको बीचमा जविनलाई व्यवस्थापन गर्नतिर लागेँ । अब म जिरोबाटै अगाडि बढ्दैछ ।
पछिल्लो समय खुसी हुनुहुन्छ ?
– हजुर, म खुसी नै छु । केही समयपछि यहाँहरुसमक्ष हामी देखा पर्नेछौंँ । उहाँ पनि कलाकार नै हुनुहुन्छ ।
प्रेम चौधरीसँग पनि सम्पर्कमै हुनुहुन्छ भन्ने सुनिन्छ नि ?
– छैन, हामी सम्पर्कमा नभएको धेरै भइसक्यो । छोरी प्राञ्जलीचाहिँ मसँगै छिन् ।
अँ साँच्ची नेपाली फिल्म बनाउने कुरा कहाँ पुग्यो ?
– बनाउने हो । तर, नेपाली फिल्मका लागि लगानी धेरै चाहिन्छ । त्यसैले अलिक पछि लगानी जुटाएर गर्नेछु । निकट समयमै थारु भाषाका फिल्म ‘मस्तैली’ बनाउँदैछु । यो मेरो पाँचौँ फिल्म हो । यो फिल्मको एउटा गीतको सुटिङसमेत भइसकेको छ ।
थारु भाषाका फिल्म निर्माण गर्दा समस्या त होला नि ?
– लगानीका हिसाबले समस्या हुन्न किनकि नेपाली फिल्मजस्तो धेरै लगानी चाहिँदैन । तर, सिनेमा हलमा प्रदर्शन गर्न समस्या छ । आदिवासी जनजाती फिल्मले हल पाउनै गाह्रो छ । यसमा राज्यको पनि हात छ । राज्यले आदिवासी फिल्मलाई अझैसम्म आत्मसाथ गर्न सकेको छैन । यसमा ममात्र नभएर सारा आदिवासी फिल्मकर्मीहरुले आवाज उठाउँदै आएका छौँ । तर, अझैसम्म हामी पछाडि परेका छाँै ।
तपाइँ आफ्नो भाषा, संस्कृति र कलाका लागि संघर्ष गर्दै आउनुभएको छ । तर, आफ्नै समुदायमा पनि त्यति खोजिनु हन्न नि ?
– हो, कलाकारिता क्षेत्रमार्फत मैले आफ्नो समुदायका लागि धेरै गरेकी छु । तर, सोनु थारुलाई आवश्यकता पर्दामात्र खोजिन्छ । त्यो मैले पनि अनुभव गरेकी छु । सुरुमा काठमाडौंमा मैले नै थारु जातिको भेषभूषा र कलाको प्रर्वद्धृन गरेकी हुँ । अहिले त्यसैको फलो गरिँदैछ । अरुबेला नखोजेपनि माघी आउँदाचाहिँ सोनुको खोजी हुन्छ ।
तपाइँ निर्मात्रीसँगै अभिनेत्री पनि तर, किन प्रायः आफ्नै फिल्ममा मात्र देखिनुहुन्छ ?
– मैले अरुको फिल्ममा पनि काम गर्दै आएकी छु । केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छु । अरुको फिल्ममा प्रस्ताव नआएको पनि होइन । तर, मनपर्ने रोल पाएकी छैन । सुरुमा एकथरी भन्ने र काम सुरु भएपछि रोल नै परिवर्तन गरिदिने भएपछि थुप्रै फिल्म छाडेकी छु ।
त्यसरी रोल मन नपरेर छाडेको पछिल्लो फिल्म कुन हो ?
– थुप्रै छन् । तीमध्ये ‘जान तोहर नाउँ’ र ‘टुटल जीन्दगी’ पछिल्लो फिल्म हुन् । ती फिल्ममा रोल नपरेपछि छाडेकी हुँ ।
मोडलिङ हुँदै अभिनेत्री र निर्मात्री बन्नुभयो । आफूलाई के भन्न रुचाउँनुहुन्छ ?
– म अभिनेत्री र निर्मात्री दुवै हुँ, किनकि मैले सर्वोकृष्ट अभिनेत्रीको अवार्ड पाएकी छु भने मेरो फिल्म उत्कृष्ट बनेको छ ।
पछाडि फर्केर हेर्दा जीवन के रहेछ ?
– भन्नलाई दुई दिनको जीन्दगी भन्छन् तर धेरै जिउनुपर्ने रहेछ । जीवन संघर्षसँग लडेर बाँच्नुपर्ने रहेछ । त्यसैले जीवन संघर्ष नै हो । तर, संघर्षसँग म हार्दिनँ म ।

प्रतिक्रिया दिनुहोस्