Logo
Logo

प्रहरी अस्पतालमा ३१ सय कोरोना संक्रमितको उपचार


दृष्टि संवाददाता



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचार व्यवस्थापनमा नेपाल प्रहरी अस्पतालले आफ्नो क्षमता बृद्धि गरेर सेवा दिएको छ ।


निषेधाज्ञा कार्यान्वायन तथा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा अहोरात्र ड्यूटीमा खटिने प्रहरी कर्मचारीहरुको स्वास्थ्य सुरक्षा एवम् कोभिड–१९ बाट संक्रमण भएको अवस्थामा उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनश्रोत तथा जनशक्तिको व्यवस्थापन, थप बेड तथा आकस्मिक उपचारको व्यवस्था गरी अस्पतालले सक्रियता बढाएको हो ।
हालसम्म ३ हजार १ सय ४१ जना कोभिड सङक्रमित बिरामीहरूले नेपाल प्रहरी अस्पतालमा निःशुल्क उपचार सेवा लिई डिस्चार्ज भएका छन् । हालसम्म उपचाररतमध्ये ९२ प्रतिशत प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवारले सेवा प्राप्त गरेका छन् । उपचारको क्रममा ७३ जनाको निधन भएको छ । अस्पतालले हालसम्म १७ हजार ३ सय ६४ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ । परीक्षण गरिएकामध्ये ४ हजार ३ सय ६९ जनामा सङक्रमण पुष्टि भएको छ ।
हाल अस्पतालमा कोभिडबाट सङ्क्रमित १ सय ८७ जनाको भर्ना लिई निःशुल्क उपचार भईरहेको छ । उपचाररतमध्ये ३० जना आईसियुमा, ८० जना एचडियू (हाई डिपेन्डेन्सी यूनिट)मा र ७७ जना सामान्य अवस्थाका रहेका छन् । उपचाररतमध्ये प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ३३ जना तथा ५४ जना सर्वसाधारण नागरिक रहेका छन् । अस्पतालको साथै महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज, महानगरीय प्रहरी पहरा गण सामाखुशी र विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा समेत आइसोलेशनमा राखी उपचारको व्यवस्था गरिएको छ ।
नेपाल प्रहरी अस्पतालमा साविक १ सय ५० वेड रहेका थिए । अस्पताललाई लेवल–२ मा स्तरोन्नति गरिएपछि १ सय ५० बेड थप गरी जम्मा ३ सय वेड उपलब्ध छन् । ती मध्ये २ सय ६४ कोभिड र ३६ नन कोभिड बिरामीको लागि प्रयोग भएको छ । कोभिडतर्फको २ सय ६४ मध्ये १ सय ५४ साधारण, ८० एचडियू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसियु वेड रहेका छन् ।
अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन गरिएका काम र विविध प्रयासबारे अस्पतालका मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह भन्छिन्, ‘अस्पतालमा फिभर क्लिनिक स्थापनाको साथै कोभिड–१९ र नन–कोभिड विरामी छुट्याई विरामीको अवस्था अनुसार इमरजेन्सी सेवा, डायलायसिस, शल्यक्रिया आदिको समेत व्यवस्था मिलाई प्रत्यक्ष रुपमा विशेषज्ञ चिकित्सकबाट सेवा उपलव्ध गराईएको छ ।’
कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि अस्पतालका ८६ जना प्रहरी कर्मचारीले कोभिड–१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट तालिम हासिल गरेका छन् । उनीहरुबाट नेपाल प्रहरी अस्पतालमा कार्यरत सबै चिकित्सक, स्टाफ नर्स र पारामेडिक्सहरुलाई स्वास्थ्य सेवा सम्बन्धि अनुशिक्षण तालिम प्रदान गरिएको प्रहरी अस्पतालले जनाएको छ
अस्पतालको सेवा चुस्त राख्न गरिने व्यवस्थापनबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवर भन्छन्, ‘कोभिड–१९ को रोकथाम, नियन्त्रण र समन्वयका लागि आवश्यक पर्ने जनशक्ति, एम्बुलेन्स, सवारी साधन लगायतका श्रोतसाधनको सम्पूर्ण सहयोग प्रहरी प्रधान कार्यालयले उपलव्ध गराएको छ ।’ अक्सिजन नियमित आपूर्तिका लागि प्रहरी प्रधान कार्यालयबाट अक्सिजन उद्योगमा ४ बटा गाडी क्यूमा राखी आपूर्ति गर्ने गरिएको छ । हाल समग्र व्यवस्थापन, बिरामीमैत्री वातावरण, गुनासो सम्बोधन समेतका लागि प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षक समेत ३० जना र सरसफाई समेतका ५ जना गरी ३५ जना जनशक्ति थप गरी परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले जानकारी दिए ।
कोभिड–१९ को कारणले एक स्थानबाट अर्को स्थानमा सहज रुपमा आवत जावत गर्न र स्वास्थ्य उपचार गर्नबाट वञ्चित भएका दुरदराजमा रहेका विरामीहरुलाई यस अस्पतालका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य उपचार सेवा उपलव्ध गराउने उद्देश्यले ‘टेलिमेडिसिन सेवा’ थालनी, यूनओप्सबाट सहयोग प्राप्त भएको प्रतिसिलिन्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालन गरिएको छ ।
उपचाररतलाई रेम्डिसिभिर लगायतका औषधि तथा औषधिजन्य सामानहरु सहित खाना तथा खाजाको व्यवस्था गरि सम्पूर्ण सेवाहरु निःशुल्क उपलव्ध गराउने गरिएको र थप उपचारको लागि आवश्यक पर्ने प्लाजमा थेरापी सेवा उपलव्ध गराइएको प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले जानकारी दिइन् ।
नेपाल सरकारको निर्देशन बमोजिम नेपाल प्रहरी अस्पतालमा खोप केन्द्र स्थापना गरी कोभिड १९ विरुद्ध खोप अभियान अन्तर्गत २६ हजार ३ सय ५९ जनालाई पहिलो खोप र ५ हजार ९ सय ४ जनालाई दोस्रो खोप प्रदान गरिएको छ । स्थानको अभावलाई सम्बोधन गर्न निर्माणाधिन इमरजेन्सी भवनमा समेत विरामी वेडको व्यवस्था मिलाई अक्सिजन सिलिन्डरको मद्धतद्वारा उपचार सेवा दिनुको साथै सबै विरामीका आफन्तहरुलाई जानकारी गराउनका लागि अस्पतालले हेल्प डेस्क स्थापना गरी सेवा दिइरहेको छ ।
अस्पतालको चाप र सेवा प्रवाहलाई थप प्रभावकारी व्यवस्थापनका लागि ५० जना नर्स नयाँ भर्ना गरिएको छ । आइसियुमा भर्ना भएका विरामीहरुलाई प्रत्येक दिन २ बजेदेखि साढे २ बजेसम्म काउन्सेलिङ गर्ने गरिएको, १८ जना बिशेषज्ञ सहितका चिकित्सकको डेडिकेटेड समूह बनाई प्रत्येक ५÷५ दिनको रोटेशनमा परिचालन गरिएको छ । अन्य बिशेषज्ञ चिकित्सकलाई समेत परिस्थिति अनुसार अनकल ड्यूटीमा राखिएको छ ।
कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहकार्य र सहजीकरण गर्ने सिलसिलामा अत्यावश्यक परेको समयमा अस्पतालमा मौज्दात रहेको अक्सिजन सिलिन्डरमध्ये नेपाली सेनालाई २० वटा र त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जलाई १० वटा उपलव्ध गराइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्