Logo
Logo

पाँचौँपटक म्याद थपिए पनि सकिएन भैरहवा विमानस्थल

कोभिडका कारण टेस्ट उडान प्रभावित


दामोदर खनाल/ दृष्टि संवाददाता


लुम्बिनी । तीन वर्ष अघि सकिनपर्ने राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम बल्ल अन्तिम चरणमा पुगेको छ । कोरोना संक्रमणका बेला विमानस्थलको काम सुस्त गतिमा जारी रहेपनि टेस्ट उडान प्रभावित भएको छ । क्यालिब्रेशन (टेस्ट) फ्लाईटकालागि थाईल्याण्डबाट जहाजसतिको टोली आउन नसक्दा निर्माण कार्य समेत अझ लम्बिने देखिन्छ, भने पाँचौ पटक थपिएको म्यादपनि यही सन् २०२१ को जुन महिनामा सकिदै छ ।

१४ महिनाअघि बिदामा चीन गएका चिनियाँ दक्ष जनशक्ति कोरोना संक्रमणका कारण आउन नसक्दा आयोजनाको काममा असर परेको हो । विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएकाले विमानस्थलमा दक्ष जनशक्ति प्रायः चीनकै छन्।् । लकडाउनको क्रममा अनेकन समस्या आए पनि काम रोकेनौँ । तर अहिले टेस्ट उडानको काम नै प्रभावित भएकोले यो आयोजना सकिन अझ कही समय लाग्ने आयोजना प्रमुख प्रवेश अधिकारी बताउँछन् । हरेकपटक आयोजना अवलोकन गर्न आउने मन्त्री र सरोकारवाला निकाय आउँदा दुई÷चार महिनामै उडान सुरु हुने बताउँदै आइए पनि वर्षौँ बित्यो ।

कोभिडका कारण लामो समयदेखि निर्माण कार्यमा संलग्न काम विशेषले चीन पुगेका चिनियाँ प्राविधिक कामदार नेपाल फर्किन सकेका छैनन् । अर्कोतिर आर्थिक समस्याका कारण पनि यो आयोजनाको काम पहिल्यै देखि समस्या झेल्दै आएको थियो । चिनियाँ प्राविधिक नआएपछि केही भारतीय दक्ष कामदार ल्याएर आयोजनाको काम सक्ने तयारी गरीएको थियो । यद्यपि, दोस्रोपटक निषेधाज्ञा जारी भएका कारणका वैशाखमा उद्घाटन गर्ने तयारी गरिएको भए पनि निर्माणको काम अझ नसकिएको मात्र होइन टेस्ट उडानको काम नै हुनसकेको छैन ।

सुरुका दिनमा ठेकेदारको लापरवाही र व्यवस्थापकिय कमजोरीका कारण निर्माणको काममा ढिलाइ भएको हो । तीन वर्ष अगाडि सकिनुपर्ने राष्ट्रिय गौरवको आयोजनामध्येकै एक यो आयोजनाको निर्माणकार्य हालसम्म ९६ दशमलव ५ प्रतिशत सकिएको र उपकरण जडानको भित्री काम केही बाँकी रहेको आयोजनाका प्रमुख इन्जिनियर अधिकारी बताउँछन् । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थलको निर्माणकार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ ।

यो आयोजनाको २०७१ माघ १ गते देखि औपचारिक रुपमा निमार्ण कार्य शुभारम्भ भएको थियो । तत्कालिन प्रधानमन्त्री शुसील कोईरालाले यसको सिलन्यास गर्नु भएको हो । ६ अर्ब २२ करोड रुपैयाँको यो आयोजना को निमार्ण कार्य सन् २०१५ जनवरि १ मा शुरु भएको थियो । जुन विमानस्थल सन् २०१७ को अन्त्य सम्ममा सम्पन्न गर्नेजिम्मा पाएको थियो । पछि आयोजनाको केही काम थपिएपछि चाईनिज तर्फको (आईसिबि १) कूल रकम ६ अर्व ८२ करोड पुगेको छ भनी एरो थाई तर्फको( आईसिबि २) काम भ्याट सति ५० करोडको हो ।

हाल १५ सय मिटरको धावन मार्गमा संचालन भईरहेको सिद्धार्थ गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी ३ हजार मिटरको धावनमार्गसहित अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन लागिएको हो । भौतिक पूर्वाधारको निमार्णअन्तर्गत धावनमार्ग, आधुनिक टावर, सुरक्षा भवन, विमानस्थल सडक, घाघँरा नदी डाइभर्सन, पार्किङवे एप्रोन, ट्याक्सीवे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, लाइटसलगायतका संरचनाहरु बनाउनेजस्ता काम सकिएको छ । यो विमानस्थलको निर्माण सम्पन्न भएपश्यात काठमाडौँ आउने अन्र्तराष्ट्रिय उडानका जहाज यहाँ अवतरण गर्ने विकल्प तयार हुने निर्माणको रेखदेखमा संलग्न इन्जिनियर त्रिभुवन श्रोष्ठ बताउँछन् । टर्मिनल भवनको भित्री काम भइरहेको र कोभिडका कारण टेस्ट उडान हुन नसकेका कारण पुनः थपिएको समयभित्र काम नसकिनेसमेत इन्जिनियर श्रेष्ठको भनाइ छ ।

यहाँ उपकरण जडान गर्न अमेरिका, अस्ट्रिया र थाइल्याण्डबाट जनशक्ति ल्याउनुपर्ने हुन्छ । संक्रमणका कारण यी जनशक्ति पनि आउन सकेका छैनन् । निर्माणाधीन विमानस्थलको हालसम्म ९६ दशमलव ५ प्रतिशत काम सम्पन्न भए पनि वित्तीय प्रगति भने करिब ७५ प्रतिशत मात्र छ । ठेकेदारले कामअनुसार समयमा रकम पाउन नसकेकाले पनि यहाँको काम कछुवा गतिमा भएको हो । सन् २०१८ भित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित विमानस्थल निर्माण सुरु गरिए पनि चौथोपटक सन् २०२० को मार्च ३० सम्मका लागि म्याद थपेको थियो । उक्त अवधिमा उपकरण ल्याएर जडान भइनसक्ने अवस्था देखिएपछि पाँचौँपटक सन् २०२१ को जुन सम्मका लागि म्याद थप भएको थियो ।

हाल केही नेपाली चाइनिज र भारतीय कामदारले सामान्य रुपमा काम गरेका छन् भनी विमानस्थलको परियरमा गार्डेन सजावटको काम (ल्याण्डस्केपिङ) रुपन्देहीकै गुप्ता नर्सरी प्रालिले गरिरहेको छ । विमानस्थलको परिसरको धेरैजसो भागको ल्याण्डस्केपिङ काम सकिए पनि कहीँ काम बाँकी रहेको गुप्ता नर्सरीका सञ्चालक सुरज गुप्ता बताउँछन् ।

विमानस्थल निर्माण अन्तिम चरणमा आइपुग्दा मुआब्जा वितरणको काम पनि अन्त्यतिर आएको आयोजनाले जनाएको छ । मुआब्जा वितरणमा २३ अर्ब रुपैयाँ लाग्ने बताइएको थियो । त्यसमध्ये अहिलेसम्म करिब २२ अर्ब रुपैयाँ वितरण गरिसकिएको छ । विमानस्थल निर्माण गर्दा १ हजार ७४० परिवारको घरजग्गा अधिग्रहण गरिएको छ । यो विमानस्थल कूल ८१० बिघामा फैलिएको छ । हाल पनि १० जनाको मुआब्जा वितरण केही कानूनी जटिलता र विशेष कारणले हुनसकिएको छैन भनी ५० घरपरिवारको स्थानान्तरण रकम वितरण हुन नसकेको बताइएको छ ।

काठमाडौँको अन्र्तराष्ट्रिय विमानस्थल भन्दा क्षेत्रफलको हिसाबले पनि यो विमानस्थल ठूलो छ । यसको स्तरोन्नतिपश्चात यो विमानस्थलमा एयर बसको ए–३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गर्न सक्नेछ । विमानस्थलको निमार्णकार्यपश्चात काठमाडौँस्थित एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अधिक चाप नियन्त्रण गर्न यो विमानस्थल सहयोग पुग्ने प्राविधिकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्