Logo
Logo

गृह मन्त्रालयको बजेट २८ अर्ब बढ्यो, १२० बिओपी थपिने


दृष्टि संवाददाता



काठमाडौं । आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयको बजेट बृद्धि भएको छ । गृहको बजेट करिब २८ अर्ब बढेको छ । आगामी वर्ष गृह मन्त्रालयका लागि एक खर्ब ६६ अर्ब ९० करोड ३५ लाख विनियोजन गरिएको छ । जून कुल बजेटको १०.१३ प्रतिशत हो । गृह अन्र्तगत नेपाल करिब ८० हजार नेपाल प्रहरी र ३७ हजार सशस्त्र प्रहरी बल भएकाले त्यसमध्ये धेरै रकम तलबभत्तामा जान्छ । चालू आर्थिक वर्षमा गृह मन्त्रालयको बजेट एक खर्ब ३८ अर्ब ६२ करोड रुपैयाँ थियो ।


आगामी वर्ष नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीको राशनभत्ता १५ प्रतिशत बृद्धि गरिएको छ । दुवै निकायमा ६ वर्षदेखि राशनभत्ता बृद्धि भएको छैन । गृह मन्त्रालयले पछिल्लो ६ वर्षमा ३३ प्रतिशत मुल्यबृद्धि भएको भन्दै त्यहीअनुसार राशनभत्ता बढाउन सिफारिस गरेको थियो । तर त्यसको आधा पनि बृद्धि भएन । अपेक्षित राशनभत्ता नबढेपछि सुरक्षा निकायका असन्तुष्टि छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले तलबसँगै राशनभत्ता पाउँछन् । हरेक जिल्लामा त्यहाँको बजारमुल्यअनुसार राशनभत्ताको दररेट कायम गरिएको हुन्छ । त्यसैमा १५ प्रतिशत आगामी साउनदेखि बढ्नेछ । राशनभत्ता बृद्धि बाहेक नेपाल प्रहरीका लागि बजेटमा कुनै नयाँ कार्यक्रम राखिएको छैन ।


१ सय २० बिओपी थपिने
सरकारले आगामी आर्थिक वर्षमा सीमामा एक सय २० वटा बोर्डर आउटर पोष्ट(बिओपी) थप्ने जनाएको छ । बजेट भाषणमा बिओपी थप्ने घोषणा गरिएको छ । सरकारले सीमामा पाँच सय बिओपी पु¥याउने लक्ष्य लिएको छ । गत वर्ष पनि एक सय भन्दा धेरै बिओपी थप भएपनि जनशक्ति र पूर्वाधान भने थप हुन नसक्दा प्रभावकारी हुन सकेको छेन । बिओपीमा सशस्त्र प्रहरी बल खटिदै आएको छ ।
अध्यागमनमा प्रविधिको प्रयोग गरी क्युआरकोडसहितको बिद्युतीय भिसा, एडभान्स पेसेन्जर इन्फरमेसन सिष्टमको जडान गर्ने भनिएको छ । त्यस्तै आगामी वर्ष ७० लाख जनतालाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्