Logo
Logo
टिप्पणी

को-को हुन् एमालेका गणतन्त्र विरोधी तीन नेता ?


नवीन राई


काठमाडौं । गणतन्त्र दिवसको शुभाकामना सन्देशमार्फत नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले ‘राजतन्त्र कि गणतन्त्र ?’ भन्ने निर्णायक त्यो समयको पेचिलो बिगत पुर्याएका छन् ।

गौतमले सन्देशमा लेखेका छन्– ‘विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा ‘राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना’ तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो ।’

नेकपा (माओवादी)ले संचालन गरेको जनयुद्धले चरम अपेक्षाको रुपमा स्थापित गरेको गणतान्त्रिक शासन व्यवस्थाको परिकल्पनाबारे शान्तिपूर्ण राजनीतिमा रहेका दलहरुमा अन्योल थियो । दलका नेतामा गणतन्त्रबारे फरक–फरक धारणा हुनाले गणतन्त्रका लागि राजतन्त्रविरुद्ध संघषको वातावरण बन्न सहज थिएन । माओवादी जनयुद्धबारे गलत धारणा बनाएकाहरुका कारण पनि दलहरुले गणतन्त्रलाई आफ्नो एजेण्डा बनाउन नसकेको त्यो परिवेश बिर्सन सकिन्न ।

मदन भण्डारीकृत ‘जनताको बहुदलीय जनवाद’ (जबज)को अनुछेद–३ ‘नेपाली क्रान्तिको वर्तमान कार्यक्रम’ शीर्षकको उपशीर्षक ‘राज्य व्यवस्था’मा स्पष्ट लेखिएको छ– ‘नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गरिनेछ ।’

‘जबज’लाई पार्टीको नीति तथा कार्यक्रमको रुपमा अंगालेको एमालेनै गणतन्त्रबारे लामो समय अन्योलमा रहनुका धेरै कारण छन् । ती मध्ये उपाध्यक्ष बामदेव गौतमले करिव दुई दशकपछि इङ्गीत गर्न खोजेका व्यक्ति र प्रवृत्तिहरु मुख्य कारक हुन् । वर्तमान संविधान र राज्य व्यवस्थामाथि बारम्बार प्रहार भइरहेको बलेला स्थभाविक आम जनतामा गौतमले इङ्गीत गरेका ‘गणतन्त्रको विपक्षमा रहेका एमालेका तीन नेता को–को हुन ?’ भन्ने प्रश्न हुन्छ ।

संयोग मान्नुपर्छ ‘राजतन्त्रको अन्त्य गर्दै गणतान्त्रिक शासन व्यवस्था स्थापना गर्नु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो’, भन्ने व्यक्तिको हातमा गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी पुगेको छ ।

गणतन्त्रको मुद्धालाई स्थापित गर्ने ऐतिहासिक विद्रोह ‘जनयुद्ध’लाई विशुद्ध ‘आतंकवाद’ भन्दै आजसम्म पनि सत्तोसराप गर्ने व्यक्ति प्रदेशको नेतृत्व गर्दैछन् । जसलाई आज पनि ‘गणतन्त्र माओवादीको मुद्धा हो, पार्टीले गणतान्त्रिक यात्रा अवलम्बन गर्नु गलत थियो’ भन्ने लाग्छ !

गणतन्त्र भन्नुको अर्थ राजतन्त्रको साट्टा गणतन्त्र भन्नु मात्र थिएन । समग्र राज्य व्यवस्था नै परिवर्तन थियो । गणतान्त्रिक शासन व्यवस्थाका लागि भएको त्यो ‘ऐतिहासिक संघर्ष’ले धर्मनिरपेक्षा, समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता एजेण्डाहरुलाई पनि स्थापित गर्यो । यी गणतान्त्रिक शासन व्यवस्थाका सारथी मुद्धा हुन् । तर, राज्यको अभिभावकीय भूमिकामा रहेकालाई गणतन्त्र र धर्मनिरपेक्षता मन नपरेको हरेक कदमहरुबाट थाहा हुन्छ ।

बामदेव गौतमको सन्देशनमा पार्टी भित्र नै गणतन्त्रको विपक्षी थिए भन्ने मात्र होइन । त्यो फगत इहिहासको स्मरण मात्र पनि हुन सक्दैन । व्यवस्थामाथि जारी प्रहार त्यो विगतकै निरन्तरता हो भनेर बुझ्नु पर्ने हुन्छ । कुनै न कुनै वहानामा गणतन्त्र सममाप्त पार्न संविधानमाथि प्रहार गरिरहेकाहरु पहिलेदेखि नै गणतन्त्रको विपक्षमा थिन भन्ने प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्