Logo
Logo

कम्युनिष्ट आदर्श नेत्रलालको सम्झना


शरद अधिकारी


हरेक वर्ष जेठको ६ गतेका दिन नेत्रलाल पौडेलको संझना गरिंदै आएको छ । खासगरी नेकपा एमालेले नेत्रलाल अभागीलाई सम्झने गरेको छ । २००१ सालमा जन्मनु भएका नेत्रलालको योगदान दाङको कम्युनिष्ट आन्दोलनमा मात्रै होइन, नेपाली कम्युनिष्ट आन्दोलनमा नै रहेको छ

नेपाल धर्तिमा गरीखाने वर्गको हित हुने खालको शासन व्यवस्था स्थापना गर्ने मुल उद्देश्यका साथ घरवार समेत त्यागेर हिड्नु भएका नेत्रलालको निधन ४१ बर्षको उमेरमा भएको थियो । छोटो समयमा पनि राजनीतिक रुपमा राम्रो योगदान गर्नुभएका नेत्रलालाई हामीले सम्झिरहेका छौं, सम्मान गरिरहेका छौं ।

नेत्रलालले २०२३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । २०२४ सालमा दाङ जिल्ला कमिटीको सल्लाहकार हुँदै २०२७ सालमा जिल्ला कमिटीमा सचिवालय सदस्यको जिम्मेवारी प्राप्त गनुभएको थियो ।

निरङ्कुश पञ्चायती शासनको अन्त्य र प्रजातन्त्र प्राप्तीको लडाइलाई जीवन रहदासम्म संघर्षमा होम्नुभएका नेत्रलालले दाङमा कम्युनिष्ट आन्दोलनमा जुन योगदान दिनुभयो । जुन भूमिका खेल्नुभयो । जसरी कार्यकर्ता उत्पादन गर्नुभयो । जसरी आदर्शको राजनीतिलाई स्थापित गर्नुभयो । त्यो राजनीति इमानको राजनीति थियो । आदर्शको राजनीति थियो । साँच्चिकै जनताको राजनीति थियो

त्यसै कारण निधन भएको साढे तीन दशक पछि पनि नेत्रलालको व्यक्तित्व बाँच्नेहरुका लागि आदर्शको विषय बनिरहेको छ । हामीले नेत्रलाललाई सम्झने मुख्य रुपमा तीनवटा पाटा छन् । एउटा पाटो भनेको राजनीतिक पाटो हो । अर्को पाटो भनेको साहित्यको पाटो हो । राजनीतिको पाटोका हिसावले उहाँले दाङ जिल्लामा दुरगामी प्रभाव पार्ने राजनीति गर्नुभयो ।

साहित्यका हिसावले ‘सतिसाल मात्र ठिंग उभिन सक्छ’ जस्तो कालजयी कृतिको रचना गर्नुभयो । उहाँको अर्को पाटो भनेको शिक्षाको क्षेत्रमा गरेको योगदान हो । शिक्षकका रुपमा उहाँ अहिले पनि धेरैका लागि आदर्श पात्र हुनुहुन्छ । ‘माडसाव’का रुपमा उहाँलाई अहिले पनि धेरैले सम्झना गरिरहेका छन् । राजनीति नेत्रलालको मुख्य पाटोको रुपमा थियो । नेत्रलालले इमान्दारीताको राजनीति गर्नुभयो ।

उहाँले झुपडीको राजनीति गर्नुभयो । हुने खानेको लागि होइन, हुँदा खानेहरुका लागि राजनीति गर्नुभयो । उहाँ दाङ जिल्लाका सयौं झुपडीमा पुगेर कम्युनिष्टरुपी विज छर्नुभयो । कम्युनिष्टहरु इमान्दार हुनुपर्छ । सत्य हुनुपर्छ । सहयोगी हुनुपर्छ । साक्षर हुनुुपर्छ । गरिवको कुरा सुन्नुपर्छ भन्ने कुरालाई नेत्रलालले राम्रोसंग स्थापित गर्नुभयो । दाङ जिल्लामा वर्गिय राजनीतिलाई नेत्रलाले राम्रोसंग स्थापित गर्नुभयो ।

हिजोआजको कुरा गर्ने हो भने राजनीति व्यवसाय भएको छ । राजनीति कमाइ खाने भाँडो जस्तो भएको छ । राजनीति भन्ने कुरा सेवाको विषय रहेको छैन अहिले । राजनीति भनेको कतै नटिकेका र कतै नविकेकाहरुले गर्ने पेशा जस्तो भएको छ । यस हिसावले राजनीतिलाई आदर्श मूल्य र मान्यताका साथमा अघि बढाउने काममा नेत्रलालले जुन खालको योगदान गर्नुभएको थियो, त्यसैको फलस्वरुप नै उहाँलाई अहिलेको पुस्ताले आदर्श व्यक्तिका रुपमा मानिरहेको छ ।

यो भविश्यसम्म पनि जानेछ । जो अवसरवादको पछि लाग्छ उसको गुणगान भनेको क्षणिक समयका लागि हुने कुरा हो । नेत्रलालको योगदानलाई चिरस्थायी बनाउन भनेर ‘शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठान’ स्थापना गरिएको छ । नेत्रलालको सम्मानमा स्थापना गरिएको यो प्रतिष्ठानका नाममा दाङको लमहीमा भवन निर्माण गरिएको छ ।

केही गतिविधिहरु भएका छन् । राज्यले पनि प्रतिष्ठान संचालनका लागि भनेर केही सहयोग गरेको छ । पार्टीले पनि नेत्रलालको संझनामा कार्यक्रमहरु गर्दै आइरहेको छ । त्यस्तै प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले पनि नेत्रलाल पौडेल अभागीको साहित्यिक व्यक्तित्वको सम्झनामा हरेक बर्ष कार्यक्रम गर्दै आएको छ ।

नेत्रलाल अभागीको स्मृति दिवस मनाइरहने यो सन्दर्भमा उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्ने बाहेक अरु काम हुनसकेको छैन । नेत्रलालले जसरी क्रान्तिका लागि सतिसालको कल्पना गर्नुभएको थियो त्यो सतिसाल रुपी भावना र मान्यताको विकास हरेक मन मनमा होस्, हुनुपर्दछ । नेत्रलाल पौडेल अभागीले कल्पना गर्नुभएको सतिसालको अभाव नेपालको कम्युनिष्ट आन्दोलनमा जहिले पनि खड्किरहेको हुन्छ ।

नेपालका सतिसाल कम्युनिष्टहरु कहिले पञ्चायती व्यवस्थाको टाँङमुनी छिर्दछन । कहिले राजावादीको गोटी बन्दछन् । कोही उग्रवादको शिकार बन्छन् । कम्युनिष्टको खोल ओढेर कम्युनिष्टलाई बदनाम गर्नेहरुको पनि कमी छैन । कम्युनिष्टहरुका बीचमा देखिएको बेमेलको अवस्थाले नेपालको समग्र विकासको सम्भावनालाई निकै पछि धकेलेको छ ।

कम्युनिष्ट पार्टीका बीचमा देखिएको बेमेलको अवस्थाले जनतामा पनि निरासा पैदा गरेको छ । जनतामा जुन उत्साह थियो त्यो निरासामा परिणत भएको छ । यतिवेला नेत्रलाल पौडेल अभागीको सँझना अझ जोड जोडले भइरहेको छ ।

नेत्रलाल पौडेलले जुन समाजको कल्पना गर्नुभयो, जुन समानताको कुरा गर्नुभयो, त्यो समानता दिन नसकिरहेको अवस्था छ । नेपालीको मुहारमा खुशीयाली ल्याउनका लागि नेत्रलालले भनेको जस्तो सतिसालको अभाव यतिबेला पनि खड्किएको छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्