Logo
Logo

लभ गर्छु भनेर यो क्षेत्रमा लागेकी होइन : स्मृति श्रेष्ठ, मोडल


दृष्टि संवाददाता


ललितपुर इमाडोलकी स्मृति श्रेष्ठले ३० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । वेभ सिरिजहरुमा समेत अभिनय गर्दै आएकी स्मृति भन्छिन्, ‘यो मेरो सुरुवातमात्र हो, मैदानमा उत्रन बाँकी नै छ ।’ हाल निषेधाज्ञा कारण घरमै समय व्यतित गर्दै आएकी स्मृतिको उद्देश्य कलाकारिताबाटै नाम र पहिचान बनाउनु हो । सानोमा टेलिभिजन र फिल्महरु हेर्दाहेदै आफूलाई मोडलिङ र अभिनयप्रति इच्छा जागेको बताउने स्मृति भन्छिन्, ‘यो क्षेत्रमा लागेका तीन वर्ष भयो, अहिले म सिक्दैमात्र छु ।’ हाल उनी राम्रो ब्यानर तथा कथावस्तुमा बन्ने फिल्ममा अवसरको प्रतिक्षामा छिन् । ग्ल्यामरस क्षेत्रमा करिअरको मैदानमा संघर्षरत स्मृतिसँग दृष्टिको जम्काभेट :

तपाइँ मोडलिङ गर्नुहुन्छ होइन त ?

हो, म्युजिक भिडियोहरुमा मोडलिङ गर्दै आएकी छु । वेभ सिरिजहरुमा पनि अभिनय गर्छु ।

मोडलिङ क्षेत्रमा लाग्नुभएको कति भयो ?

तीन वर्ष भयो । मैले म्युजिक भिडियोबाटै मोडलिङ सुरु गरेकी हुँ ।

मोडलिङमा लाग्ने कसरी इच्छा जाग्यो ?

सानोमा फिल्म, म्युजिक भिडियोहरु खुबै हेर्थे । त्यतिखेरैबाट मलाई मोडलिङप्रति इच्छा जागेको हो । त्योबेला फिल्म हेर्दा सोच्थे, म पनि हिरोइन हुन पाए हुन्थ्यो । त्यही रहर र इच्छा पूरा गर्न यो क्षेत्रमा लागेकी हुँ ।

अहिले निषेधाज्ञा छ, समय कसरी बित्दैछ ?

किताबहरु पढ्छु । एक्सरसाइज पनि गर्छु । त्यसबाहेक युट्युबमा फिल्महरु हेर्दै बसेकी छु ।

बाहिर निस्किन नपाउँदा दिक्क लागेको छैन ?

दिक्कभन्दा पनि यो आफ्नो सुरक्षाका लागि हो । कोरोना संक्रमण फैलिरहेको छ । यस्तो अवस्थामा घरमै बस्ने हो । सरकारले निषेधाज्ञा जारी गरेको हाम्रै स्वास्थ्य सुरक्षाकै लागि हो । त्यसैले आफ्नो मात्र नभएर सबैको स्वास्थ्य सुरक्षाका लागि धैर्य गरेर घरमै बसेकी छु ।

तपाइँ कस्ता फिल्म बढी हेर्नुहुन्छ ?

प्राय सबै किसिमका फिल्म हेर्छु । एक्शन र लभस्टोरी दुवै फिल्म मलाई मनपर्छ । त्यसमा अंग्रेजी, नेपाली, हिन्दी र मराठी फिल्महरु हेर्छु ।

अहिलेसम्म कति वटा भिडियोमा मोडलिङ गर्नुभयो ?

मैले हालसम्म ३० भन्दा बढी भिडियोमा मोडलिङ गरेकी छु । केही वेभ सिरिजमा पनि अभिनय गरेकी छु । मेरो पछिल्लोे रिलिज भएको भिडियो ‘मन खाने माया’ हो । रिलिज हुन बाँकी भिडियोहरु पनि छन् ।

निषेधाज्ञाअघि म्युजिक भिडियोमै व्यस्त हुनुहुन्थ्यो ?

त्यति धेरै व्यस्त पनि होइन । कामहरु गर्दै आएकी थिएँ । तर, कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै घरमा बस्नुपरेको छ ।

इच्छाले रोज्नुभएको पेसा कस्तो लागिरहेको छ ?

कस्तो भन्दापनि अहिलेसम्म चाहेजस्तो काम देखाउन पाएकी छैन । भर्खरै सिक्दैछु । मैले अझै धेरै सिक्नुछ । रमाइलो पनि लागिरहेको छ । तर, मलाई राम्रो काम गरेर अगाडि बढ्नुपर्छ भन्ने लागिरहेको छ ।

अहिलेसम्म गरेका कामबाट प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

सोचेजस्तो काम गर्ने अवसर पाएकी छैन । तैपनि अहिलेसम्म गरेका कामबाट प्रतिक्रिया ठीकै आइरहेको छ । जसबाट मलाई हौसला र आत्मविश्वास बढ्दैछ ।

सोचेजस्तो भन्नाले कस्तो ?

काम गरिसकेपछि जसलाई पनि चाहना हुन्छ कि राम्रो गरौँ । राम्रो व्यानर, कथावस्तु मजबुत, टिम पनि राम्रो हुनुपर्छ । यी सबै कुरा मिल्यो भने काम गर्दा पनि आनन्द हुन्छ ।

ती सबै मिल्न त गाह्रो होला नि ?

गाह्रै छ । नयाँ नयाँ मान्छेहरु भित्रिरहेका छन् । प्रतिस्पर्धा कडा छ । यो मेरो खेलको सुरुवात मात्रै हो । मैदानमा उत्रनै बाँकी छ ।

अहिले राम्रो व्यानरको फिल्मको पर्खाइमा हुनुहुन्छ हो ?

यो सबैको लक्ष्य हो । यो क्षेत्रमा लाग्नुको कारण पनि फिल्ममा काम गर्नकै लागि हो । त्यसका लागि प्रिपियर पनि गर्नुपर्छ । अहिले लकडाउन छ । यसैबेला म प्रिपियर पनि गर्दैछु ।

कला क्षेत्रमा आश्वासन दिएर मायाजालमा फसाउने एकथरी प्रवृति छ । त्यसमा पर्नु भएको छ कि छैन ।

अहिलेसम्म परेकी छैन । प्रेम गर्छु भनेर यो क्षेत्रमा आएकी पनि होइन । मेरो फोकस भनेको कामलाई मात्र हो ।

उद्देश्यचाहिँ के हो ?

राम्रो कलाकार बन्न सकुँ । कलाकारिताबाट नाम र पहिचान बनाउन सकौँ भन्ने मेरो उद्देश्य हो । अहिले त्यसैअनुरुप संघर्ष गर्दैछु ।

प्रतिक्रिया दिनुहोस्