Logo
Logo

बत्तीमूनिको अध्याँरोमा बस्न बाध्य चुरेबासी


हिक्मत बम



धनगढी । ३ दशमलव ३३ मेगावाट क्षमता भएको कापडी गाड जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको तीन वर्ष भइसक्दा पनि चुरे १ का जनताले बत्तीको मुख देख्न पाएका छैनन् ।

कैलालीको दुर्गम चुरे गाउँपालिका वडा नम्वर १ का किम्तोला, मिलनपुर, आमसेरा, अलाड, ओजेना, घरखेडा, शैलेग, पालडी, पखिर, निगाली, बबेडबासी बत्तीमूनीको अध्याँरोमा बस्न बाध्य भएका छन् ।

डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ मा निर्माण सम्पन्न कापडी गाड जलविद्युत् आयोजनाको बत्ती केन्द्रीय प्रसारण लाइन अत्तरियामा जोडिएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको बत्ती चुरे १ का जनताको खेतीयोग्य जमिन हुँदै लगिएको छ ।

उज्यालोमा बस्न पाइने भयो भनेर स्थानीयले खेतीयोग्य जमिन नासेर बत्तीको पोल विस्तार गर्न दिए । बत्तीको पोल पनि बिस्तार भयो, तार पनि तानियो, बत्ती पनि छोडियो र केन्द्रीय प्रसारण लाइन अत्तरियामा जोडियो । तर, स्थानीय भने बत्ती बाल्न पाइन्छ भन्ने आशैमा छन् ।

नेपाल विद्युत प्राधिकरण आयोजन व्यवस्थापन निर्देशनालयले वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना माता तीर्था, काठमाडौं मार्फत आयोजना बनेको क्षेत्रका स्थानीयहरुले बत्ती बाल्न पाउनु पर्छ भनी ६ वर्ष पहिले पोल र तरालाइन विस्तारका लागि वीपीनगर सवस्टेशनबाट टेण्डर आह्वान गर्यो । र टेण्डर ए टु जेड इन्फास्ट्रक्चर इन्डिया एलटिडीले ठेक्का पायो ।

काम गर्न ठेक्का पाएको टेण्डर ए टु जेड इन्फास्ट्रक्चर इन्डिया एलटिडीले नेपालको त्रिपुरेश्वर जपडगैलाई पेटी ठेक्का मार्फत काम दियो । तर काम गर्न पेटी ठेक्का लिएको उक्त कम्पनीले ठेक्का सम्झौता भएको छ वर्ष भएसक्दा पनि अहिलेसम्म काम नगरेको चुरे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुकुम बोहराले बताए ।

उनले भने, ‘कापडी गाड जलविधिुत आयोजना निर्माण सम्पन्न भइसकेपछि सो आयोजना निर्माणबाट प्रभावित क्षेत्रका जनता र आसपासका स्थानीय जनताले ११ केबीको बिजुली बत्ती बाल्न पाउने सम्झौतासंगै निर्माण कम्पनीले प्रभावित क्षेत्र चुरे गाउँपालिका वडा नम्बर १ को चोट्टेदेखि मिलनपुरसम्मका जनताले बत्ती बाल्न पाउने गरी पोल र तारलाइन विस्तार गर्नुपर्ने छ ।’

वडाध्यक्ष बोहाले आयोजनाको निर्माण सम्पन्न भएको तीन वर्ष भइसक्दापनि स्थानीयले बत्ती बाल्न पाउने गरी सम्झौता भएको पोल र तारलाइन विस्तारको काम अहिलेसम्म नहुँदा चुरेबासीहरु बत्तीमूनीको अध्याँरोमा बस्न बाध्य भएको बताए ।

उनले भने, ‘सम्झौता अनुसारको पोल र तारलाइन विस्तारका लागि पटक पटक निर्माण कम्पनी र विधुत वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना कार्यालयलाई दवाब दिदा पनि कुनै चाँसो देखाएको छैन ।’

यदि निर्माण कम्पनीले काम गर्दैन भने सरोकारवाला निकाय विधुत वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजनाले यात काम गर्ने जिम्मा हामीलाई दिनु प¥यो, होइन भने अर्को टेण्डर आह्वान गर्नुपर्ने माग स्थानीयहरुको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्