Logo
Logo

कोरोनाबाट प्रहरी हवल्दारको निधन


दृष्टि संवाददाता



विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नेपाल प्रहरीका हवल्दारको कोभिड–१९ का कारण निधन भएको छ । उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बिहान ९ बजेतिर प्रहरी हवल्दार ४० वर्षीय वेदराज भण्डारीको निधन भएको हो ।


दुई साताअघि नै उनलाई संक्रमण भएकोमा निको भएर डिस्चार्ज भएकोमा फेरि संक्रमण बढेर निधन भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार जेठ १६ गते कोरोना पुष्टि भएका भण्डारीलाई सुरुमा आइसीयूमा राखेर उपचार थालिएको थियो । कोरोना पुष्टि भएको भोलिपल्ट जेठ १७ गते सोमबार अस्पताल भर्ना गरिएका हवल्दार भण्डारीलाई स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि भेन्टिलेटरमा राख्नुपरेको थियो । भेन्टिलेटरमा निधन भएको हो । दाहालका अनुसार मृतकमा मधुमेहको पुरानै समस्या थियो ।
विराटनगर महानगरपालिका–३ घर भएका भण्डारीलाई नेपाल प्रहरीको सीआरभी पोस्ट कटहरीमा खटाइएको थियो । कटहरी क्षेत्रमै कोरोना नियन्त्रणका लागि सक्रिय रहेका बेला पीसीआर परीक्षण गराउँदा पहिलो पटक जेठ ३ गते उनलाई कोरोनाको संक्रमण पुष्टि भयो ।

त्यसपछि उपचारका लागि कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचारपछि निको भएर कोरोनामुक्त हुँदै हवल्दार भण्डारी अस्पतालबाट जेठ १३ गते डिस्चार्ज पाएर घर फर्किएका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार घरमै आराम गरिरहेका बेला फेरि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो ।

पुनः पीसीआर परीक्षण गराउँदा जेठ १६ गते आइतबार दोस्रो पटक उनको रिपोर्ट पोजिटिभ आएको जानकारी राईले दिए । ‘पहिलो पटक कोरोना रिपोर्ट पोजिटिभ आएसँगै कोसी कोभिडमा उपचार गराएर संक्रमणमुक्त भएपछि अवस्था सामान्य बनेको थियो,’ राईले भने, ‘तर पुनः परीक्षण गराउँदा दोस्रो पटक संक्रमण देखिएपछि उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।’ पहिलो पटक सहज रुपमा संक्रमण जित्न सफल भएका भण्डारी दोस्रो पटक देखिएको संक्रमणसँग भने हारेका छन् ।

प्रतिक्रिया दिनुहोस्