सुदूरको गहना ‘रामारोसन ताल’ अस्तित्व गुमाउँदै « Drishti News – Nepalese News Portal
Logo

सुदूरको गहना ‘रामारोसन ताल’ अस्तित्व गुमाउँदै


हिक्मत बम



धनगढी । अछाम जिल्लाको १२ बण्डाल १८ खण्डको तालललाई सुदूरपश्चिम प्रदेशको पर्यटकीय गहनाको रुपमा लिइन्छ । यो तालले सुदूरपश्चिमलाई छुट्टै पहिचान दिएको छ ।

रामारोसन गाउँपालिकामा रहेको ‘रामारोसन ताल’लाई ‘१२ बण्डल १८ खण्ड’ समेत भन्ने गरिएको छ । अछामको पुर्वीउत्तरमा पर्ने रामारोशन क्षेत्र समुद्री सतहबाट २ हजार ५० मिटरदेखि ३ हजार ७ सय ९२ मिटर उचाइमा रहेको छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको अछामको रामारोशन क्षेत्रका १२ वटा तालमध्ये ४ वटा तल संरक्षण अभावमा सुक्दै जान थालेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार धार्मिक महत्व बोकेको उक्त ताल संरक्षण्को अभाव सुक्दै जानुका साथै ओझेलमा पर्दै गएको छ ।

स्थानीय भन्छन्– ‘यो ताल सुदूरपश्चिम प्रदेशको एक चिनारी हो, यो तालले धार्मिक महत्व पनि बोकेको छ, तर पछिल्लो समय उक्त तालको संरक्षण नहुँदा ओझेलमा पर्नुको साथसाथै पर्यटकको संख्या पनि घट्दै गएको छ ।’

अछामको प्रमुख पर्यटकीय क्षेत्र मानिने रामारोशनमा रहेका तालहरु आवश्यक संरक्षण, सम्वद्र्धन र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको रामारोसन गाउँपालिकाका अमर साउँद बताउँछन् ।

साउँद भन्छन– ‘रामारोशन ताल अन्र्तगत साना ठूला गरि १२ वटा ताल र १८ वटा पाटन खण्ड रहेका छन । यो सुदूरपश्चिमको मात्रै नभइ राज्यको पनि चिनारी हो । यसको संरक्षण गर्नु राज्यको दायित्व हो ।’

ताललाई १२ बण्डाल, १८ खण्डका नामले चिनिन्छ । तरे धेरै ताल सुक्न थालेका छन् । तालहरु सुक्दै जाने हो भने आछाम जिल्ला र सुदूरपश्चिमको मात्र नभई देशकै अस्तित्व मेटिने देखिन्छ, साउँद चिन्ता व्यक्त गर्छन ।

रामारोशन क्षेत्रमा रहेका प्रमुख तालहरुमा जिंगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा हुन् । उल्लेखित १२ ताल मध्ये तल्लो धउने, माथिल्लो धउने र लिस्सेडाली सुक्दै गइरहेको स्थानीय टेकबहादुर साउँदले जानकारी दिए । ‘तालहरुको संरक्षण हुन नसक्दा पुरिन थालेपछि स्थानीयलाई चिन्तित बनाएको छ ।

अछाम जिल्लाको उत्तरमा अवस्थित रामारोशन क्षेत्र प्रकृति प्रेमीका लागि साच्चीकै वरदान हो । कालिकोट र बाजुरा जिल्लाको दक्षिणमा अवस्थित यो क्षेत्र कालिकोट जिल्लासँग जोडिएकोे छ । १२ ओटा ताल र घासे मैदानले भरिएका रमणीय उपत्यका जस्तो देखिने १८ ओटा आकर्षक प्राकृतिक पाटनहरुले यस क्षेत्रलाई स्थानीय भाषामा १२ बण्ड र १८ खण्ड भन्ने गरिन्छ ।

रामारोशन पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको एक महत्वपूर्ण प्रकृतिको वरदान हो । प्रमुख आकर्षणका रुपमा रहेका १२ तालहरुमध्ये रामे, लामोदय, ताउल्या, जिंङगल्या, गाग्रा ताल मनमोहक छन् । त्यस्तै १८ खण्ड मध्ये किनीमिन्नी मैदान फाँट र रामारोशन मैदान फाँट ठूला र आकर्षक छन ।

उत्तरी खण्डको चट्टानी पहाडले झनै आकर्षण थप्नुका साथै पर्यटकको मन लोभ्याउँछ । घना जंगलले भरिएको यस क्षेत्रमा डाँफे, मुनाल, कालिज जस्ता चराचुरुङ्गी, कस्तुरी बाघ, भालु, मृगलगायतका वन्यजन्तु, पाँचआंैले, पदमचाल जस्ता महत्वपूर्ण जडीबुटी पाइन्छन् । र, यसले सो क्षेत्रलाई झनै मनमोहक बनाएको बताइन्छ । तराईको प्रचण्ड गर्मी छल्न रामारोशन क्षेत्र अति नै उपयुक्त मानिन्छ ।

अछामको सदरमुकाम मंगलसेनबाट झन्डै ४० किलोमिटर पूर्व-उत्तरमा अवस्थित रामारोसनसम्म मोटरबाटो पुगेको छ । यसले पर्यटकहरुलाई यात्रा गर्न अझै सहज बनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि वि.स. २०६६ सालदेखि प्रत्येक वर्ष लालीगुराँस फुल्ने चैत्र महिनामा सो क्षेत्रमा स्थानीयहरु रामारोसन महोत्सवको आयोजना गर्ने गर्दछन् । तर पछिल्लो दुई वर्षदेखि महोत्सव आयोजना गर्न नसकिएको स्थानीय राम बोहराले जानकारी दिए । उनले भने– ‘कोरोना कहरले गर्दा हामीहरुले महोत्सवको आयोजना नगरेको दुई वर्ष भयो । र पर्यटकहरु पनि घटे ।’

आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनका लागि प्रत्येक वर्ष हामी स्थानीयहरु सबै मिलेर रामारोशन महत्सवको आयोजना गरेको बताउँदै बोहराले तर पछिल्लो समय कोरोनाले गर्दा पर्यटना क्षेत्रमा ठूलो समस्या पुगेको, बोहोराले दुखेपो पोखे ।

प्रतिक्रिया दिनुहोस्