Logo
Logo

उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ प्रतिशत घट्यो


दृष्टि संवाददाता



काठमाडौं । कोरोनाको दोस्रो लहरमा उपत्यकामा सक्रिय संक्रमितको संख्या करिब ४२ प्रतिशतले घटेको छ । नयाँ संक्रमितको संख्या घट्दै गएपनि संक्रमणदर उच्च नै रहेकाले जोखिम कायमै रहेको चिकित्सकले बताएका छन् ।


१ जेठमा उपत्यकामा सक्रिय संक्रमितको संख्या सबैभन्दा उच्च अर्थात् ४२ हजार दुई सय ४३ पुगेमा १९ जेठमा २४ हजार ६ सय ४६ मा झरेको छ, अर्थात् सक्रिय संक्रमितको संख्या ४१.६५ प्रतिशत घटेको छ ।
काठमाडौं जिल्लामा त आधा भन्दा धेरै घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक छ । १ जेठमा काठमाडौं जिल्लामा दुई हजार एक सय ४६ जनामा संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ३० हजार एक सय ४२ पुगेको थियो । १९ जेठमा काठमाडौंमा ९ सय ६९ नयाँ संक्रमित थपिदा सक्रिय संक्रमितको संख्या १४ हजार ८७ मा झरेको छ ।
ललितपुर र भक्तपुरमा पनि सक्रिय संक्रमितको संख्यामा थोरै कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक छ । १ जेठमा ललितपुरमा सक्रिय संक्रमितको संखया ७ हजार १ सय १ थियो भने १९ जेठमा ६ हजार दुई सय ३५ छ । त्यस्तै, भक्तपुर जिल्लामा १ जेठमा ५ हजार रहेको सक्रिय संक्रमितको संख्या १९ जेठमा चार हजार तीन सय २४ छ ।
नयाँ संक्रमितको संख्या घटेको र निको हुनेको संख्या बढेकाले सक्रिय संक्रमितको संख्या घटेको हो । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिर अधिकारी संक्रमणको ‘पिक’ ओरालो लाग्दै गएकाले सक्रिय संक्रमितको संख्या घटेको बताउँछन् ।
दोस्रो लहर सुरु भएलगत्तै कोरोनाको हटस्पट बनेको उपत्यकामा एकै दिन चार हजार दुई सयसम्म नयाँ संक्रमण पुष्टि भएको थियो । नयाँ संक्रमितको संख्या पछिल्लो हप्ता आधा भएको छ । बुधबार काठमाडौंमा ९ सय ६९, ललितपुरमा ३ सय ६ तथा भक्तपुरमा एक सय ८१ गरी एक हजार चार सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म उपत्यकामा दुई लाख ४४ हजार चार सय ८३ जनामा कोरोना संक्रमण भइसकेको छ । जसमध्ये काठमाडौंमा एक लाख ९० हजार दुई सय ५७, ललितपुरमा ३३ हजार ९ सय २१ तथा भक्तपुरमा २० हजार तीन सय ५ जना छन् ।
समग्र देशमा पनि कुल संक्रमितको संख्या घटेको छ । नेपालमा सबैभन्दा धेरै ११ जेठमा सक्रिय संक्रमितको संख्या एक लाख १७ हजार दुई सय ६१ पुगेको थियो । त्यसयता नयाँ संक्रमित भन्दा निको हुने बढेकाले १९ जेठमा सक्रिय संक्रमितको संख्या एक लाख १ हजार ९ सय ९३ छ ।
नेपालमा कुल संक्रमितमध्ये ४३ प्रतिशत उपत्यकाका बासिन्दा छन् । नेपालमा बुधबारसम्म ५ लाख ७१ हजार एक सय ११ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
काठमाडौंमा एक हजार ६ सय ४०, ललितपुरमा चार सय ४९ तथा भक्तपुरमा तीन सय २८ गरी दुई हजार चार सय १७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्