Logo
Logo

सशस्त्र प्रहरीको एफपियु थप हुँदै


दृष्टि संवाददाता



काठमाडौं । नेपाल प्रहरीको सुडान एफपीयु बन्द हुँदा राष्ट्रसंघले सशस्त्र प्रहरीलाई भने थप अर्काे एफपियु दिने तयारी गरेको छ । सशस्त्र प्रहरीका हाल दक्षिण सुडानमा दुई वटा एफपियु परिचालित छन् ।


दुई वर्षअघि नै अर्काे एफपीयुका लागि तयारी थालिएको र राष्ट्रसंघको टोली केही हप्तापछि निरीक्षणमा आउन लागेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआजी राजु अर्यालले बताए । सशस्त्र प्रहरीले करिब ३० करोड खर्च गरेर दुई वर्ष अघि नै एपीसी लगायत बन्दोबस्तीमा सामान खरिद गरेर राखेको छ । खरिदमा विवाद भएपछि नेपाली सेनामार्फत ती सामान खरिद गरिएको थियो ।
राष्ट्रसंघले अर्काे एफपियु थप्ने सम्भावना भएकाले त्यसका लागि जनशक्ति छनोट र तालिमको काम भइरहेको डिआजी अर्यालको भनाई छ । अफ्रिकी देश सेन्ट्रल अफ्रिकन रिपब्लिक(कार) वा मालीमा नयाँ मिसन थप हुने सम्भावना रहेको सशस्त्र प्रहरी स्रोत बताउँछ ।
राष्ट्रसंघले मालीका नयाँ एफपियु पठाउनेबारे नेपाल प्रहरीसँग समेत छलफल गरेको थियो । तर, एपीसी लगायत बन्दोबस्तीका सामान तत्काल खरिद गर्न सम्भव नभएपछि पछिल्लो पटक यसबारे कुनै छलफल नभएको प्रहरी स्रोत बताउँछ । नेपाल प्रहरीका कर्मचारीका लागि एफपियु मिसनको अवसर बन्द हुँदा सशस्त्र प्रहरीको भने अवसर बढेको छ ।

प्रतिक्रिया दिनुहोस्