Logo
Logo

कुर्कुचा फुट्ने समस्याको घरमै उपचार


डा. रेखा थापा


फुटेको कुर्कुचाले खुट्टाको सुन्दरतामा ह्रास मात्रै आउँदैन, दुखाईले त्यति नै सताउँछ । वृद्धवृद्धामा मात्र होइन, यो समस्या युवा अवस्थामा पनि हुन्छ । विशेषगरी महिला त्यसमा पनि महिनावारी रोकिएपछि यो समस्याले सताउन सक्छ । कुर्कुचाको छाला बाक्लो भई चिरा पर्ने, रातो हुने, चिलाउने, रगत आउने र दुख्ने हुन्छ । फुटेको कुर्कुचाको समयमै उपचार नगरे अन्य समस्याहरु निम्तिन सक्छ ।

कुकुर्चा फुट्नुको मुख्य कारण दिनहुँ लगातार उभिदाँ कुर्कुचामा चाँप बढी पर्ने र घर्षणको कारणले छाला बाक्लो बन्दै जान्छ । यसलाई समय समयमा हटाउनु पर्छ । यदि, हटाइएन भने सुख्खा र कडा भई टुक्रिन थाल्छ र चिरा पर्छ । धेरै गहिरो फुटेमा यसबाट रगत आउँछ र अत्याधिक पीडा हुन्छ ।

वंशाणुगत कारणले पनि यो समस्या हुने गर्छ । तर, उमेर बढ्दै जाँदा प्राय सबैमा यस्तो समस्या देखिन्छ । शरीरमा भिटामिन, मिनरल्स र क्याल्सियमको कमी हुँदा कुर्कुचा फुट्छ । शरीर धेरै सुख्खा हुनु, ‘एक्जीमा सोराइसिस’ तथा ‘हाइपोथाइरोइड’ जस्तो समस्या हुँदा पनि खुट्टामा यस्तो समस्या हुन्छ ।

यसबाट बच्न के गर्ने ?

  • खाली खुट्टा हिड्नु हुँदैन ।
  • चप्पलभन्दा जुत्ता लगाउनुपर्छ । जुत्ताले कुर्कुचाको सुरक्षा गर्छ ।
  • कुर्कुचामा तेल ग्रन्थी नहुने भएकाले सुख्खा हुन्छ । त्यसैले लगातार लोसन वा मोस्चराइजर लगाई नरम बनाइराख्नुपर्छ ।
  • ‘प्यूमिक स्टोन’ वा ‘स्क्रबर’ले समय समयमा कुर्कुचा घोटेर सफा गर्नुपर्छ । यसले छाला बाक्लो हुन दिँदैन ।
  • कटनको मोजा लगाइराख्नुपर्छ ।
  • समय समयमा ‘पेडिक्योर’ गराइराख्नुपर्छ ।
  • स्यालसलिक एसीड भएको फुटक्रिम प्रयोग गर्नुपर्छ । जसले मृत कोषिका हटाउँछ ।

घरेलु विधिमा फुटेको कुर्कुचाको उपचार

नरिवलको तेल : नरिवलको तेलमा ‘हेभी मोइस्चर’ हुने भएकाले धेरै सुख्खा र फुस्रो कुर्कुचाका लागि फाइदाजनक हुन्छ । फुटेको कुर्कुचामा दिनमा ३/४ पटक लगाउनुपर्छ । यसले छाला नरम बनाइराख्छ ।

मह : शुद्ध महमा ‘एन्टिब्याक्टेरियल’ गुण हुन्छ । महको प्रयोगले फुटेको कुर्कुचा र घाउको उपचार हुन्छ । यसले फंगस संक्रमणबाट मुक्त गराउँछ । सुत्नुभन्दा अगाडि नुन हालेको हल्का तातो पानीमा खुट्टा डुबाएर दैनिक सफा गर्नुपर्छ । त्यसपछि मह लगाएर कटनको मोजा लगाइ रातभर राख्नुपर्छ । प्रस्तुत विधिमा निरन्तर उपचार गरे केही समयमै कुर्कुचा फुट्ने समस्या कम हुँदै जान्छ ।

पेट्रोलियम जेली : कुर्कुचा सुख्खा हुन नदिन हरेक २-३ घण्टा वा सुख्खा हुनासाथ ‘पेट्रोलियम जेली’ लगाउनुपर्छ । पेट्रोलियम जेलीले कुर्कुचालाई फुट्न दिँदैन र घाउ पनि चाँडै निको हुन्छ ।

केरा र महको लेप : मह र केराको मिश्रणमा बनाइने ‘लेप’ फुटेको कुर्कुचाको उपचारमा उपोगी हुन्छ । केरालाई राम्रोसँग मिचेर मसिनो लेप बनाउने । त्यसमा बराबर मात्रामा मह मिसाउने । खुट्टालाई राम्रोसँग सफा गरेर लेप लगाई २० मिनेट छोड्ने र सुकेपछि सफा गर्ने । केरा र महले प्राकृतिक रुपमा नमी प्रदान गर्छ । र, फुटेको कुर्कुचा निको भइ नरम र मुलायम हुन्छ ।

एरोमा ओयल : जैतुनको तेलमा केही थोपा लेभेण्डर तेल मिसाई कुर्कुचालाई दैनिक मालिस गर्दा राम्रो हुन्छ । ऐरोमा ओयल लेभेण्डरमा फंगस र ब्याक्टेरियासँग लड्ने क्षमता हुन्छ । यो विधिको उपचारले संक्रमणको कारण फुटेको कुर्कुचा केही दिनमै निको हुन्छ ।

प्याराफिन ट्रिटमेन्ट : ‘प्याराफिन वाक्स’ सुख्खा, फुस्रो र डिहाइड्रेटेड छालाको लागि एकदम राम्रो मानिन्छ । यसलाई सुत्नुभन्दा अगाडि कुर्कुचामा हरेक दिन लगाउनुपर्छ । यसको नियमित प्रयोगले मृत कोषिका हटाइ कुर्कुचालाई नरम र मुलायम बनाउँछ । ‘प्याराफिन ट्रिटमेन्ट’ गर्दा सबैभन्दा पहिले मनतातो पानीमा एक चम्चा नुन र अलिकति फिटकिरी हालेर १० मिनेटसम्म कुर्कुचा डुबाएर राख्नुपर्छ । १० मिनेटपछि ‘प्यूमिक स्टोन’ले कुर्कुचा घोट्नु पर्छ । त्यसपछि ‘प्याराफिन वाक्स’ पगालेर कुर्कुचामा लगाउपर्छ । त्यसपछि क्लिन फोइल पेपरले बेरेर २० मिनेट राख्ने । २० मिनेटपछि पेपर हटाइ ५ मिनेटसम्म हल्ला मालिस गर्ने । रुमाल भिजाएर पुछ्ने ।यसरी प्याराफिन ट्रिटमेन्ट हप्तामा २ पटक घरमै गर्न सकिन्छ । यसरी उपचार गर्दा धेरै सुख्खा भएको खुट्टा र फुटेको कुर्कुचा राम्रो हुन्छ ।

प्रस्तुत सामग्री प्रयोग गरी फुटेको कुर्कुचालाई घरमै उपचार गर्न सकिन्छ । निको नभएसम्म यसरी नै दैनिक उपचार गर्नुपर्छ । निरन्तर उपचार गर्दा पनि निको नभए चिकित्सकको परामर्शमा थप उपचार गर्नुपर्ने हुन्छ । स्वास्थ्यमा समस्या आएर उपचार गर्नुभन्दा समस्या आउन नदिनु नै उत्तम हो । जसका लागि प्रशस्त मात्रामा पानी पिउने, भिटामिन तथा मिनरल्सयुक्त खाने कुरा खाने र समय समयमा हात खुट्टाको स्याहार गर्ने । स्वस्थ जीवनयापन नै सुन्दर जीवन हो ।

प्रतिक्रिया दिनुहोस्