Logo
Logo

छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन


- दृष्टि न्युज/संवाददाता



मार्तडी, ११ चैत छाउपडी प्रथा अन्त्यका लागि बडीमालिका नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा वडा नं. ९ लाई ‘छाउपडी गोठमुक्त’ घोषणा गर्ने कार्यक्रम अगाडि सारेको छ । त्यसका लागि वडाका प्रत्येक टोलमा आज स्थलगत अनुगमन गरिएको वडाध्यक्ष विनोदकुमार विकले जानकारी दिनुभयो । सो वडास्थित चौराटा हुँदै रतुडासम्म स्थलगत अनुगमन गर्दा कुनै पनि टोलमा छाउपडी गोठ नभेटिएकाले वडालाई छाउपडी गोठमुक्त घोषणा गर्ने उहाँले बताउनुभयो । 



अनुगमनका क्रममा कुनै पनि टोलमा छाउ गोठ नभेटिएकाले उक्त वडालाई छाउपडी गोठमुक्त घोषणा गर्न हुने गरी प्रतिवेदन पेश हुन लागेको अनुगमन टोलीका सदस्य सहास नेपालका कार्यक्रम अधिकृत रामबहादुर खत्रीले जानकारी दिनुभयो । 

समाजमा व्याप्त कुरीति, कुसंस्कार र अन्धविश्वास मानिँदै आएको छाउप्रथालाई हटाउन नगरपालिकाले विशेष अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाका उपप्रमुख कविता विष्टले जानकारी दिनुभयो । 

अभियानअन्तर्गत प्रत्येक वडामा रहेका धाँमी, झाँक्री, पुरोहित र पुजारीलाई छाउप्रथाका कारण उत्पन्न समस्या र चुनौतीको न्यूनीकरणका लागि प्रशिक्षण तथा तालीम दिइएको उहाँले बताउनुभयो । छाउ भएका बेलामा गोठमा सुताउने, दही, दूध खान नदिने कार्य गलत भएको उपप्रमुख विष्टको भनाइ छ । उहाँले छाउ गोठमा एक्लै सुत्दा सर्पको टोकाइबाट मृत्यु र बलात्कारको सिकार हुन सक्ने भएकाले नगरपालिकाले गोठको अन्त्य गर्दै छाउ भएका बेला घरभित्र सुताउनुपर्ने बताउनुभयो । 

समाजमा रहेका धाँमी, झाँक्री र पुरोहितले छाउपडी प्रथालाई कायम राख्न सहयोगीको भूमिका निर्वाह गर्ने हुँदा यो प्रथाको अन्त्यका लागि उनीहरुलाई सचेतनामूलक विशेष तालीमको व्यवस्था गरिएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज भट्टराईले बताउनुभएको छ । 

उहाँले छाउ हुनु प्राकृतिक नियम भएकाले छाउ भएका महिलालाई गोठमा बसाउने कार्य गलत भएको बताउँदै कुसंस्कार, रुढीवादी र अन्धविश्वास कारण समाजमा यो प्रथा कायमै रहेको धारणा व्यक्त गर्नुभयो । धाँमी, झाँक्री, पुजारी र पुरोहितले प्रभावकारी भूमिका निर्वाह गर्न सके छाउपडी प्रथा उन्मूलन हुने प्रमुख प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । 

छाउ भएका महिलालाई दूध, दही मोही र पोषिला खानेकुराबाट वञ्चित हुनुपरेको महिला अधिकारकर्मी सीता विकले बताउनुभयो । सुदूपश्चिम प्रदेशमा छाउपडी प्रथा कायमै छ । छाउपडी गोठमा बस्दा कतिपय महिलाले अकालमा ज्यान गुमाउनुपरेको छ । समाजमा कु–प्रथाका रुपमा कायम रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ । 

सेनेटरी प्याड वितरण 

छाउ भएका बेलामा विद्यालयमा छात्राको सहभागिता न्यून हुन नदिन र नियमित विद्यालय आउने वातावरणका लागि आज सेनेटरी प्याड वितरण गरिएको छ । 

बडीमालिका नगरपालिका–३ रजालीमा रहेको चोयाकोट माध्यमिक विद्यालयका कक्षा ६, ७ र ८ का १५० भन्दाबढी छात्रालाई सो प्याड वितरण गरिएको कन्सर्न बाजुराका संस्थापक अध्यक्ष गणेशबहादुर थापाले बताउनुभयो । छाउ भएका बेलामा विद्यालय नआउने र पढाइमा समेत बाधा हुने भएकाले उक्त प्याड वितरण गरिएको थापाको भनाइ छ । 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा छाउपडीप्रथा व्याप्त रहेको र छाउ भएका बेलामा किताब छुन नहुने र विद्यालयमा जान नहुने मान्यता अन्त्य गर्दै सहजरुपमा छात्रालाई विद्यालयमा नियमित सहभागिता गराउने उद्देश्यले उक्त प्याड दिइएको संस्थापक अध्यक्ष थापाले राससलाई बताउनुभयो । 

जिल्लामा छाउपडी व्याप्त रहेको र यसकै कारण कतिपय महिला तथा किशोरीको अकालमै ज्यान गएकाले कन्र्सन बाजुराको पहलमा विद्यार्थीलाई सुरक्षित गर्न र पढाइमा बाधा नहुन दिनका लागि प्याड वितरण गरिएको चोयाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दिमा सुब्बाले जानकारी छ । 

उहाँले महिनावारी हँुदा छात्रा विद्यालयमा आउन नमान्ने विद्यालयमा नियमित नआउने समस्या हट्ने प्रधानाध्यापक सुब्बाले बताउनुभयो । विद्यालयमा सेनेटरी प्याड वितरण गर्दै बडीमालिका नगरपालिका–३ का वडाध्यक्ष वीरबहादुर रावलले छाउपडी कुप्रथालाई अन्त्य गर्नका लागि सबैले लाग्नुपर्नेबेला आएको बताउनुभयो । महिनावारी भएका बेला विद्यालय आउने छात्राले प्याड लगाएर आउँदा कुनै समस्या नहुने र अरुले पनि थाहा नपाउने दलित अधिकारकर्मी काशी विकले बताउनुभयो । 

विद्यालयमा वितरण गरिएको सेनेटरी प्याड महिला शिक्षकसँग छात्राले सम्पर्क राखी प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने सामाजिक अगुवा जनक बोहराले भन्नुभयो । 

जिल्लाका अधिकांश विद्यालयमा छाउ भएका बेला छात्रा एक सातासम्म विद्यालय नजाने गरेका छन् । छाउ भएका बेला विद्यालय जाँदा देउवा रिसाउने र ज्ञान नष्ट हुने मानसिकता नहट्दा छाउ भएका छात्राको विद्यालय जान नमान्ने गरेको बताइएको छ । 
–प्रेम रौले 
(रासस)
––– 

प्रतिक्रिया दिनुहोस्