Logo
Logo

‘वातावरणको मुद्दा उठाएर विवाद झिकियो’


दृष्टि संवाददाता



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषयक अन्र्तक्रियामा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन् ।

‘बजेटमा केही खोट नपाएपछि अतिरञ्जनापूर्ण ढंगले वातावरणको मुद्दा उठाएर विवाद झिकिएको छ, विवाद निकाल्नेहरुलाई म स्पष्ट पार्न चाहन्छु सरकार वातावरण संरक्षणमा प्रतिबद्ध छ,’ उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले असाधारण सर्मथन पाएको पनि उनले बताए ।

कोभिड प्रभावित नागरिकको जीवन रक्षा बजेटको प्राथमिकता भएको भन्दै उनले बजेटका सन्र्दभमा उठेका सकारात्मक र रचनात्मक सुझावलाई स्वीकार गर्ने बताए । ‘स्रोत अभाव र महामारीको जटिल अवस्थामा हामीले निकै राम्रो बजेट प्रस्तुत गर्न सकेका छौं, यसलाई सबै क्षेत्रबाट असाधारण सर्मथन मिल्दै गएको छ,’ उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने ।

सबै नेपालीलाई निःशुल्क कोभिड भ्याक्सिनको व्यवस्था गर्न बजेट केन्द्रित रहने भन्दै उनले कोभिड महामारीले जीवीकोपार्जन, रोजगारी र उत्पादन सृजनामा पुर्‍याएको असरको समाधान गर्दै पुर्नउत्थानको लागि प्राथमिकताका साथ काम गर्ने पनि उनले प्रतिबद्धता जनाए । राष्ट्रिय गौरव तथा रुपान्तरणकारी परियोजना सम्पन्न गर्न अलग्गै संयन्त्र बनाइएको भन्दै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनको स्पष्ट खाका मन्त्रालयले तयार गरेको पनि बताए ।

पूर्व अर्थ सचिव शान्तराज सुवेदीले कारोना महामारी, निर्वाचन घोषणा र राजनीतिक अस्थिरताकाबीच आएको बजेटको कार्यान्वयन र स्वमित्व ग्रहण निकै चुनौतीपूर्ण रहेको बताए । बजेटको कार्यान्वयन सुरु गर्ने मुख्य समयमै निर्वाचनको मिति घोषणा भएको भन्दै उनले निर्वाचन भए कर्मचारी तथा राज्य संयन्त्र यतै लाग्नु पर्ने कारणले खर्च चुनौतीपूर्ण हुने धारणा राखे ।

बजेटको वित्तिय बाटोबारे नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले तरलताको उचित व्यवस्थापन र ब्याजदर स्थिरताका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने बताए । बजारमा न्युन तरतलता हुँदा पैसा पठाउने र बजारमा अधिक तरतलता हुँदा प्रशोचन गर्ने नीति राष्ट्र रहेको पनि स्पष्ट पारे ।

सहुलियतपूर्ण कर्जालाई लक्षित वर्गसम्म पुर्‍याउने, पुनरकर्जालाई नतिजामूखी बनाउने लगायतका कामलाई राष्ट्र बैकले विशेष चासोका साथ अघि बढाउने भन्दै उनले आगामी मौद्रिक नीतिले बजेटमा अघि सारिएका कार्यक्रमहरु कार्यान्वयनका लागि स्पष्ट योजना अघि सार्न कार्यदलले काम थालेको प्रष्ट पारे । छलफलमा बोल्दै निजी क्षेत्रका छाता संगठनहरुले समग्रमा बजेट स्वागत योग्य भएपनि पूर्ण भने नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्