Logo
Logo

किन विदेश भागिन् इन्सपेक्टर ?


दृष्टि संवाददाता


काठमाडौं । नेपाल प्रहरीको जागिरको समाजमा ठूलो प्रतिष्ठा छ । अधिकृत स्तरका प्रहरीको त अझै ठूलो सम्मान छ । तर, प्रहरीका अधिकृतस्तरका कर्मचारीमा भने त्यो किसिमको सन्तुष्टि र खुशी देखिदैन ।

प्रहरीका अधिकृतस्तरका कर्मचारी समेत जागिर छाडेर विदेशीने क्रम रोकिएको छ । नेपाल प्रहरीकी एक महिला इन्सपेक्टर हालै जागिर छाडेर विदेश गएकी छिन् । नेपाल प्रहरी अस्पतालमा कार्यरत लक्ष्मी थापा राजीनामा समेत नदिई विदेश पलायन भएकी छिन् । भगौडाको आरोपमा गृह मन्त्रालयले उनलाई सेवाबाट हटाएको छ ।

इन्सपेक्टर थापा नर्सिङ इन्चार्जका रुपमा प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत थिइन् । गत पुस २३ गतेदेखि उनी एक महिना घर बिदा लिएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहिन भइन् । विदा पछि पनि नआएपछि प्रहरी अस्पतालले सोधपुछ गरेको थियो । बुझ्ने क्रममा उनी विदेशमा रहेको खुल्यो । उनलाई सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले गोरखापत्रमै सूचना समेत प्रकाशित गरेको थियो । उनले कुनै जवाफ नदिएपछि हालै सेवाबाट हटाइएको प्रहरी स्रोत बताउँछ । प्रहरीमा जागिर खाएको केही वर्षमै उनी विदेश पलायन भएकी छिन् ।

तल्लो तहमा त पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिने लहर छ । माथिल्लो तहका कतिपय अधिकृतले समेत राजीनामा दिन थालेका छन् । कतिपयले पेन्सन अवधि नै नपुगी राजीनामा दिने गरेका छन् । प्रहरीको जागिरमा दुःख धेरै भएको तर सेवा सुविधा कम भएकाले पनि कतिपयले यसरी पेन्सन अवधि नै नपुगी समेत जागिर छाड्ने गरेका छन् । प्रहरीलाई सेवाप्रति आकर्षण बढाउन आवास, भत्ता लगायतका सुविधा बढाउन अत्यावश्यक देखिएको छ ।

उता भ्रष्टाचारको आरोप लागेका दुई एसपीको निलम्बन फुकुवा गृह मन्त्रालयमा रोकिएको छ । प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा कार्यरत रहँदा अनियमितता गरेको आरोपमा गत मंसिरमा निलम्बनमा परेका एसपी विमल बस्नेत तथा रामेश्वर यादबलाई पाँच ग्रेड घटुवाको कारबाही गर्ने निर्णय भएको थियो । त्यो कारबाहीलाई कम गर्न उनीहरु दौडधुपमा लागेका छन् । जसकारण निलम्बन फुकुवा हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्