Logo
Logo

वर्तमान डिस्कोर्स बदल्ने शक्तिशाली पुस्तक


जेवी पुन मगर


नेपाली पाठ्य जगतमा २०औं शताब्दिको सबैभन्दा बढी ‘मगज मंजन’ गराउने पुस्तकको नाम सोधियो भने सबैका आ–आफ्ना आग्रह पूर्वाग्रह र वैचारिक मान्यताले डोर्याइएका नाम आउलान् । तर समकालीन बौद्धिक जगतमा यदि कुन पुस्तकले तपाईंको दिमागी तन्तु हल्याएकोछ ? भनि कुनै पुस्तकको नाम लिनु पर्यो भने म चाहिं ३० वर्षअघि छापिएको डोरबहादुर विष्टको अनुसन्धनात्मक कृति ‘फेटलिज्म एण्ड डेभलेपमेन्ट’ लाई रोज्नेछु ।

यस पुस्तकको प्रस्तावनाले बोकेको कथ्यमाथि जति ‘विमर्श–कंपन’ (त्यहि अनुपातमा विवाद पनि) अन्य कुनै पुस्तकले श्रृजना गरेको कम्तिमा मेरो संज्ञानमा छैन । तन्नेरी हुँदा म जस्ता पाठकलाई उद्देलित बनाएको यस पुस्तकले छाडेको विमर्श–कंपन अहिलेसम्म मष्तिष्कमा तरोताजा रहिरहनुले पनि मैले यसलाई पहिलो प्राथमिकतामा राखेको हुँ ।

पुस्तक यति शक्तिशाली बन्नुका पछाडि त्यसभित्र पोखिएको लेखकको श्रम, इमान्दारिता र प्रष्टता हो भन्ने लाग्दछ । विष्ट आफ्ना प्रस्तावना प्रष्टसाथ प्रस्तुत गर्छन् । हाम्रा तथाकथित बौद्धिकले झैं आफ्ना कुरा सम्झाउन त्यसमाथि कुनै सिद्धान्त र आदर्शको बर्को ओढाउँदैनन् । त्यसको अर्थ यस पुस्तकमा कुनै बैचारिक आधार छैन भनिएको होइन । तर त्यसले ‘बर्को’ को काम गरेको छैन भनेको हुँ । लेखकलाई यसरी लेख्न चानचुने आत्मबल र नैतिकबल बिना संभव नै हुँदैन । तथ्यमा टेकेर लागेको कुरा ‘सेल्फ सेन्सरसीप’ बिना निर्धक्क प्रकट गर्न लर्तरो साहसले पुग्दैन भन्ने यथार्थ लेखक बाहेक अरु कल्लाई थाहा होला ! विचार र ‘थ्योरी’ मा सहमत नहुन सकिन्छ तर गतिलो इमान्दारिता यो पुस्तकमा पाइन्छ ।

फगत विचारोत्तेजक भएर मात्र होइन, तपाईंले नेपालको राजनीतिक विकासक्रमको अद्योपान्त अध्ययन गर्नु भो भने विष्टको प्रस्तावनाले समग्र समाज र राजनीतिलाई नै डोर्याएको देखिन्छ । अहिलेको राजनीतिक डिस्कोर्स नै उनको थ्योरीको सेरोफेरो घुमिरहेको देखिन्छ । राज्य राष्ट्र (नेसन–स्टेट) र बहुराष्ट्रिय राज्य (मल्टिनेशनल–स्टेट) को पछिल्लो चर्काचर्की र बहसको ध्रुवीकरणको अन्तर्यभित्र घुस्नु भो भने अढाइ दशक अगाडि पहिल्याइएको विष्टको त्यहि ‘फाइन्डिङ्’ भेट्नुहुनेछ ।

विष्टको अध्ययनमा देश विकास नहुनुमा दुईटा कुराले प्रमुख रोल खेलेकोछः एउटा बाहुनवाद अर्थात भाग्यवाद र अर्को वैदेशिक सहयोग । विष्टले औंल्याएको परनिर्भरता बढाउने र विश्वसामु लज्जित बनाउने वैदेशिक सहयोगमा देश आश्रित नभई आत्मनिर्भर अर्थनीति बनाउन जोड दिन्छन् । उनका यस्तो तर्क कुनैपनि शासकले सुनेनन् । उल्टै राजकाज नै विदेशी पैसाले चल्ने बनाइदिए । प्रत्येक जनलाई आधा करोड बराबरको भिखको भारी बोकाइदिए ।

नेपाली बहुसाँस्कृतिक समाजको अद्योपान्त अध्ययनपछि विष्टले निकालेको निष्कर्ष अहिले झन बढी सान्दर्भिक लाग्दछन् । आफ्नो कथ्य प्रमाणित गर्न उनले नेपाली समाजका विविध आयाममाथि मसिनोगरि चर्चा गरेकाछन् । यस्तो विमर्शमा उनले नेपाली समाजको कयौं नवीन तथ्य समेत उद्घाटित गरेकाछन् ।

मैले माथि उल्लेख गरे झैं विष्टको थ्योरीले राजनीतिक डिस्कोर्स किन समातेको देखिन्छ भने दुई दशक यता देशमा पहिचानको राजनीति गतिलोगरि अभ्यास भइरहेको छ । तपाईं जे आवरण या तर्कको लेप लगाउनोस् सबै बहुराष्ट्र÷बहुजाती आ–आफ्नो जातीय स्वार्थ रक्षार्थ गोलबन्द भैरहेका छन् । यो तितो या मिठो जे भन्नोस् अहिलेको यथार्थ हो । तपाईंले आफ्ना समुदायमा चल्ने कानेखुशी सुन्नु भएकै होला– आधुनिक नेपालमा राणा परिवारले एक शताब्दी राज गरे । त्यसपछि ठकुरी (क्षेत्री) वंशको राजकाज चल्यो । अहिले ‘बाहुनसत्ता’ चलिरहेको छ । प्रकाशित तथ्य–तथ्यांक र संश्लेषणले उजागर गरेको यस्तो दृष्टिकोणका कारण राजनीति डोर्याउने बिचारकहरुलाई समेत अहिले वर्गविश्लेषण गर्न धौ धौ परिरहेको छ ।

हिंजो राणा फाले विकास हुन्छ भनियो । फालियो । त्यसपछि ठकुरीराज मिल्काइए समृद्ध हुने दावी गरियो । मिल्काइयो । अहिले बहुराष्ट्रिय राज्यका वकालत गर्नेहरु ‘बाहुनवादीसत्ता’ ध्वस्त पारे देश खुशहाली हुने बताईरहेका छन् । यो समकालीन विश्वमा चलेको पहिचानको राजनीतिको प्रभाव र असर हो भन्दाभन्दै पनि यो विष्टको थ्योरीले ल्याएको डिस्कोर्स पनि हो भन्न सकिन्छ । यस्तो डिस्कोर्सले बहुसाँस्कृतिक समाजलाई कहाँ पुर्याउँछ अहिले केहि भन्न सकिदैन । तर यसले क्षितिजमा द्धन्द्धको घनत्व बढ्ने चाहिं प्रष्ट देखाइरहेका छ ।

तत्कालीन हिमाल द्धैमासिकमा छापिएका विष्टको एउटा लेखले उनको थ्योरीलाई केहि विस्तारित गर्न खोजेपनि विष्ट ‘रहस्यमय’ तरिकाले हराएकोले उनको थ्योरीमाथि लेखकसँगै बसेर पर्याप्त विमर्श हुन सकेन । प्राज्ञिक रुपमा प्रा. कमलप्रकाश मल्ल र प्रा. प्रयागराज शर्मा जस्ता लेखकले उनको थ्योरीमाथि विमर्श चलाउने प्रयत्न गरेपनि त्यो पर्याप्त थिएन ।

नेपाली समाजको चिन्तनलाई दिशा दिने सामथ्र्य राख्ने यस्तो पुस्तक ‘फेटलिज्म एण्ड डेभलेपमेन्ट’ गत बर्ष ‘भाग्यवाद र विकास’ को नाममा अढाई दशकपछि नेपाली भाषामा रुपान्तरित भई आएको छ । २५ वर्षपछि मैले यो पुस्तक फेरि नेपालीमा पढिसकाए । नेपाली भाषाका सिद्धहस्ती तथा विष्टको थ्योरीमाथि विमर्श चलाउने तत्कालिन हिमाल द्धैमासिकका सम्पादक बसन्त थापाद्धारा भावानुवाद ‘भाग्यवाद र विकास’ पढेपछि मैले माथिको विचार लेखेको हुँ ।

तपाईंपनि नेपालीजनको दिमाग हल्लाउने यो पुस्तक एकचोटी पढ्ने कि ?

(वरिष्ठ पत्रकार पुनको फेसबुकबाट साभार)

प्रतिक्रिया दिनुहोस्