Logo
Logo

गृहको सहसचिव भन्दै पाँच करोड ठगी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले क्यानाडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग रकम असुलेका थिए। परिसरमा ६ जनाले जाहेरी दिएपछि यादवलाई पक्राउ गरिएको प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले बताए। बोगटीका अनुसार यादवले ६ जनाबाट मात्रै एक करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए ।

बोगटीले भने, ‘क्यानाडा लैजाने भन्दै थुप्रै युवासँग रकम असुलेको देखियो। प्रतिव्यक्ति पाँच लाख देखि १५ लाख रुपैयाँसम्म असुल गरेको जाहेरी परेको छ। सोही जाहेरीपछि उनलाई पक्राउ गरिएको हो। पीडितको बयानअनुसार यादवले साँढे पाँच करोड रुपैयाँ ठगी गरेका छन्।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।

प्रतिक्रिया दिनुहोस्