Logo
Logo

प्रहरी हिरासतमा पुगे मन्त्रीका ‘पिए’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । मन्त्रीको पिए बनेर लाखौँ कमाउन खोज्ने नेकपाका एक कार्यकर्ता प्रहरी हिरासतमा पुगेका छन् । भूमिसुधारमन्त्री पद्मा अर्यालको पिए हुँ भन्दै ठगी गर्ने धर्मागत न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

आफू मन्त्रीको टिममा रहेको र सेटिङ मिलाएर जेसुकै काम पनि गर्न सक्ने भन्दै पैसा उठाएको आरोपमा उनी पक्राउ परेका छन् । पैसा लिएर काम नगरिदिएपछि पीडितहरु मन्त्री अर्याललाई भेट्न गएपछि उनको ठगीधन्दा बाहिर आएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो । तर, उनीविरुद्ध ठगीमा जाहेरी आएन । मन्त्री अर्यालले पनि औपचारीक रुपमा उजुरी दिइनन् । सिआइबीले सार्वजनिक अपराधका मुद्दा चलाउँदैन । जसकारण प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै सार्वजनिक हितविरुद्धको कसुर मुद्दामा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले कारबाही अघि बढाइएको छ ।

न्यौपाने मन्त्री अर्यालसँग चिनजान भएका व्यक्ति हुन् । स्याङ्जा नै घर भएको र एउटै पार्टीमा भएकाले धेरैले उनलाई विश्वास पनि गरेका थिए । मालपोत कार्यालयहरुमा सेटिङ मिलाइदिने भनेर उनले ठगी गरेको प्रहरीले जनाएको छ । एक जनासँग त उनले ६ लाख रुपैयाँ समेत लिइसकेका थिए । तर, ती व्यक्तिले प्रहरीमा ठगीको उजुरी गरेका छैनन् ।

यो एउटा उदारण मात्र हो । नेकपाका धेरै नेता तथा कार्यकर्ता अहिले यस्तै धन्दामा लागेका छन् । मन्त्रीहरुको चाडकी गर्ने र आफू मन्त्रीको विश्वासपात्र हुँ भनेर विश्वासमा लिई पैसा उठाउने गर्दछन् । यस्ता धेरै उजुरीहरु प्रहरीमा परिसकेका छन् । जसमा धेरैजसो उजुरी मिलापत्रमा मिल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्