काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । आइतबार बसेकाे काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूकाे बैठकले उपत्यकामा थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेकाे हाे ।
कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् । अब असार सातसम्म उपत्यकामा निषेधाज्ञा लागु हुने छ । यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् ।
वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको थियाे ।
खाद्यान्न ११ बजेसम्म, अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने र भिसा लिनका लागि सहजिकरण गर्ने दिइने भएको छ ।











