Logo
Logo

अख्तियारद्वारा दुई महिनापछि भ्रष्टाचार मुद्दा दायर


दृष्टि संवाददाता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब दुई महिनापछि भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाराको साविक अमलेखञ्ज गा.बि.स. हाल जीतपुरसिमरा उप–महानगरपालिकाको तत्कालीन गा.बि.स. सचिव बिजयकान्त झाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।


अमलेखञ्जमा सम्पन्न गरेका कल्भर्ट मर्मत तथा निर्माण कार्य र नाला खन्ने तथा कुलो निर्माण गर्ने कार्यमा वास्तविक भएको कार्यको लागतभन्दा जम्मा एक लाख ३४ हजार २ सय ३५ धेरै भुक्तानी दिएका थिए । साथै सोही गा.बि.स.मा लक्षितवर्ग अन्तर्गत शौचालय र महिलाको सिलाई कटाई तालिम शीर्षकमा लेखापरीक्षण प्रतिवेदन अनुसार निकासा भएको देखिएको .२,९१,०००।– रकम खर्च गरेको देखिएतापनि सो खर्चमध्ये रु.१,४७,५००।– को बिल भरपाई पेस गरेको नदेखिएकोले साविक अमलेखगञ्ज गा.वि.स.का तत्कालीन सचिव विजयकान्त झाले गा.वि.स.मा संचालित योजनाहरुमा बढी मूल्याङ्कन गराई बदनियतपूर्ण ढंगले जम्मा रु.२,८१,७३५।२९ वास्तविक खर्चभन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।


भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि हुन आएको हुँदा उनलाई रु.२,८१,७३५।२९ (दुई लाख एकासी हजार सात सय पैंतीस रुपैयाँ उनान्तीस पैसा ) रकम कुल बिगो कायम गरी निजले गरेको उल्लेखित कसुरवापत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र निजले हिनामिना गरेको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । बैशाखको पहिलो सातापछि अहिले मात्र आयोगले मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्