Logo
Logo

अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल– भारतीय प्रम मोदी


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, १३ चैत– भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ ।

भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गर्नुभयो । 



संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ । 

टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतीय वैज्ञानिकहरुले एउटा भूउपग्रहलाई सफलतापूर्वक खसालिदिएका छन् । यो भारतका लागि गर्वको क्षण हो ।” 

भारतीय वैज्ञानिकहरुका अनुसार क्षतिग्रस्त भूउपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा थियो । 

प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको बताउनुभएको छ । यो कुनै मुलुकप्रति लक्षित पनि नभएको उहाँले स्पष्ट गर्नुभयो । 

भारतीय लोकसभाको चुनाव आउनै लागेको अवस्थामा यस्तो घोषणा गरिएको छ । 

प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । भारतमा यही अप्रिल ११ देखि मतदानका कार्यक्रमहरु शुरु हुँदैछन् र यो करिब छ हप्ता चल्नेछ । करिब ९० करोडले यसपटक मतदानमा भाग लिने अपेक्षा गरिएको छ । 
(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्