Logo
Logo

कैलालीमा वन कर्मचारीकै मिलेमतोमा वन फडानी


हिक्मत बम


धनगढी । निषेधाज्ञाको मौका छोपेर कैलालीमा वन फडानी गर्ने क्रम बढेको छ । वन माफिया र तस्करले निषेधाज्ञाको समयमा पनि वन फडानी गर्न सक्रिय भएका हुन् ।

माफिया र तस्करहरुले रातारात जिल्लामा रहेका सामुदायिक तथा राष्ट्रिय वन फडानी गरि काठ तस्करी गर्न थालेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५, ७ र ९ पर्ने राष्ट्रिय वनमा कटान आदेशबिनानै सालका रुखहरु अबैध रुपमा कटानी भएको पाइएको छ ।

वन निगम धनगढीबाट छपान, कटान र संकलनको स्वीकृति पाएको शिवशंकर, सुनपाल, निराजन र अण्डैया बालुवागडा क्षेत्रमा पर्ने राष्ट्रिय वनमा अबैध रुपमा काँचा रुख कटान गरि सुकाएर घाटगद्धिमा संकलन गरिएको छ । सो क्षेत्रमा एक हजार एक सय क्युफिट बराबरको सालका गोलिया रहेको बताइएको छ ।

वन कर्मचारीकै मिलेमतोमा कैलाली जिल्लाको वन सखाप पारिदै छ । वन कर्मचारीसंगको मिलेमतोमा ठेकेदारको योजना अनुसार वन माफियाहरुले वन फडानी गर्ने गरेको बताइन्छ ।

विशेष सूचनाका आधारमा केहि दिन पहिले स्थानीय नर बहादुर बमको खाली रहेको पोखरीमा लुकाइ राखिएको अवस्थामा सालका गोलिया बरामद गरिएको थियो । त्यसलगत्तै उनलाई डिभिजन वन कार्यालयले पक्राउ गरेको थियो ।

२८ थान सालको गोलिया बरामद
डिभिजन वन कार्यलय धनगढी बाट खटिएको टोलीले गौरिगंगा नगरपालिका वडा नम्बर ७ मा अवस्थित निराजन राष्ट्रिय वन क्षेत्रबाट अबैध २८ थान सालको गोलीया पुनः बरामद गरेको छ ।
सो क्षेत्र चोरीसिकारी तथा तस्करहरुको इलाका रहेको भन्ने गोप्य सुचनाको आधारमा गस्ती बढाउदा उक्त परिमाणमा सालको गोलिया फेला परेको सब डिभिजन वन कार्यलय वढैपूरका प्रमुख चन्द्र भण्डारीले बताए ।

सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वन क्षेत्रमा रुखमा वन निगमलाई कटान छपानका लागि दिएका नम्बर नयाँ रुखमा नम्बर लेखेर काठ गोलिया तस्करी गरिएको पाईएको हो । सो क्षेत्रमा वन निगमले स्थानीय काठका ठेकेदारहरुलाई छपान, कटान र ढुवानी संकलनको जिम्मेवारी दिएको पाईएको छ ।

वन निगम तथा वन कर्मचारीले रुख कटान हुने फिल्डमा पुगेर प्रत्यक्ष अनुगमन निरिक्षण गर्नुपर्नेमा सामुदायिक वनको कार्यालयमा बसेर ठेकेदारले दिएको विवरण भर्ने काम गरेकाले कर्मचारीकै मिलेमतोमा काठ गोलिया तस्करी भएको र स्थानियले चासो दिन थालेपछि घटना बाहिर आएको नाम उल्लेख नगरिदिने सर्तमा सामुदायिक वनका कार्यालय सहयोगीले जानकारी दिए ।

ठेकेदारको योजना र वन कर्मचारी मिलेमतो
डिभिजन वन कार्यालय धनगढीबाट वन पेशी दिई सव डिभिजन वन कार्यालय मसुरियामा पर्ने ठेक्का नं (एनबीएनएल–डि–एनसीबी–एस–२०७६–७७–०४) मा पर्ने प्लट शिवशंकर राष्ट्रिय वन प्लट नं ८ ढलापडा काठ दाउरा मिति २०७७ –२ –८ मा भएको कटान मुछान संकलन म्याद थप गरेर पठाएको सम्झौता विपरीत रुख कटानी भएको फेला परेको वन निगम लिमिटेड धनगढीका सहायक तारा भट्टले बताए ।

वन निगमसँग प्रयाप्त कर्मचारी नहुदाँ एकैपटक कैलाली र कञ्चनपुरका राष्ट्रिय वनमा काम हुदा सबै तिर ध्यान पुर्याउन नसक्दा ठेकेदारलाई कटान सहमति पत्र सहित अनुमति दिईएको सोही क्रममा स्थानीय संकलन कर्ताहरुबाट कमजोरी भएको भन्दै यसलाई सामान्य रुपमा लिएर मिलाउनु पर्ने भट्टले बताए ।

उनले सामुदायिक वन उपभोक्ता समूह,वन कार्यालय, वन समन्वय समिति र गौरीगंगा साझेदारी वन व्यवस्थापन समितिसँगको समझदारीमा अहिले भएको बदमासीलाई स्थानीय रुपमा मिलाउनु पर्ने भन्दै समन्वयात्मक कार्यक्रम संचालन गर्न प्रस्ताव राखेका छन ।

काठ कटानीको क्रममा स्थानीय वन सम्बद्व निकायले ठेकेदारहरुले सम्झौता र कार्यआदेश विपरीत नयाँ छपान गरेर काठ कटान भएको भन्दै सव डिभिजन वन कार्यालय मसुरिया, डिभिजन वन कार्यालय धनगढी र वन निगम लिमिटेडलाई पटकपटक सुचना र खबरदारी गर्दा समेत सम्बन्धित कार्यालयले पुर्णतया बेवास्ता गरेको बताएका छन ।

गत असोज देखि ती क्षेत्रमा संगठित रुपमा काठ कटान तस्करि भैरहेको रोक्नु पर्ने तथा संलग्न दोषीलाई कारबाहीको दायरा ल्यााउनु पर्ने भएपनि वन कार्यालय आफ्नो जिम्मेवारीबाट पन्छिएको छ ।

काठ तस्करीमा देउवाको हात
गौरीगंगा वडा नं ९ मा पर्ने शिवशंकर सामुदायिक वनका पूर्व अध्यक्ष समेत रहेका महेन्द्र देउवा पटक पटक काठ तस्करीको आरोप नलागेको भने होइन । राजनैतिक संरक्षण र तस्करकै ठुलो गिरोहको साथ उनलाई भैरहने भएकाले देउवाले काठ तस्कर गर्ने गरेको स्रोतको दाबी छ ।

देउवाको समुहले शिवशंकर सामुदायिक वनको घाटगद्वीबाट गएको असोजमा १६ थान गोलिया चोर्नुका साथै सुनपाल शिवशंकर राष्ट्रिय वन क्षेत्रबाट करिब ६५ वटा सालका रुख कटान गरेर तस्करी गरेको वन कार्यालयलाई सुचना दिदा समेत बेवास्ता भएको स्रोतको दाबी छ ।

वन निगम लिमिटेडले पनि स्थानीय छपान कटान र संकलनको जिम्मा काठका ठेकेदार र तस्करहरुलाई दिनुले पनि तस्करीमा मिलिमतो भएको हुन सक्ने आशंका बढेको छ ।

राष्ट्रिय वनबाट चोरी तस्करी भएका रुखको सर्वेक्षण तथा अनुगमन तथा खोजतलासमा डिभिजन वन कार्यालय धनगढी र सव डिभिजन वन कार्यालयको बेवास्ताले तस्करी मौलाउदै गएको स्थानीयको आरोप छ ।

प्रदेश वन निर्देशनालय धनगढीले म्याद थपमा कटान आदेश दिएर अनुगमन गर्नुपर्ने दायित्वबाट पन्छिनुले पनि कर्मचारीको मिलेमतो छकी भन्ने प्रश्न चिन्ह्र खडा भएको छ ।

सम्झौता विपरित कटानी
डभिजन वन कार्यालय धनगढीबाट आ.व. २०७६/०७७ मा कटान स्वीकृत भई गत बर्ष संकलन गर्न बाकी भएर यस बर्ष म्याद थप भएका रुख कटानीको क्रममा बदमासी भएको पाईएको छ ।

नेपाल वन निगम लिमिटेड धनगढी शाखाले कटान आदेश लिएर न्यु प्रार्थना सप्लायर्स धनगढी ५ कैलालीलाई गत चैत ७ मा काठ संकलन म्याद थप भइ कार्यान्वयनको क्रममा यस आर्थिक बर्षमा ढलेका नयाँ रुखमा वन निगमले स्वीकृत पाएको र गत बर्षमा कटान भई संकलन गरिसकिएका रुख नम्बर लेखेर अबैध कटान गरेको पाईएको छ ।

मसुरिया सव डिभिजन वन कार्यालयको प्रत्यक्ष निगरानीमा कटान छपान र संकलन हुनेगरि सहमति रहेकोमा ठेकेदारलाई प्रभावमा पारि स्थानीय कटान संकलन जिम्मेवारी पाएकाहरुको मिलेमतोमा अबैध रुख कटान भएको हो ।

काटिएका रुखहरु बेवारिसे बनाउन खोज्दै कर्मचारी
राष्ट्रिय वनमा कटान ठेक्का पाएका ठेकेदारले मनलागि रुखमा छपान नम्बर लगाएर काटेका रुख बेवारिसे बनाएर संकलन गर्न सव डिभिजन वन कार्यालय मसुरिया लागिपरेको छ ।

गौरीगंगा –७ को निराजन सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वन क्षेत्रमा रुखमा नम्बर हालेर रुख काटेर छोडेका २८ थान गोलिया बेवारिसे बनाएको हो ।

एउटै ईनामेल पेन्टले नम्बर लेखिएका केही रुखको घाटगद्वीमा संकलन हुने केहि रुखका गोलिया बेवारिसे बरामद हुनुले अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने वन कार्यालय तस्कर जोगाउन लागि परेको छ ।

ठेकेदारहरुले नै नयाँ ढलेका रुखमा गतबर्ष नै संकलन भैसकेका रुखको नयाँ छपान नम्बर हालेर कटान गरि छोडेको स्थानीयले बताएका छन् । ती गोलिया तस्करमा संलग्न व्यक्तिलाई जोगाउन बेवारिसे बनाई सव डिभिजन कार्यालयले बरामद गरेको स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले बताएका छन् ।

जेठ ७ गते सम्मको मात्रै म्याद रहेको थियो ।काठ, दाउरा र गोलिया छपान, कटान, ढुवानी गरि घाटगद्दी संकलनको कार्य रहेको वन निगमका कर्मचारी अनिल चौधरीले बताए ।

घटनाको अनुसन्धान गरिरहेका वरिष्ठ वन अधिकृत डबल बोहराले अबैध रुख कटान भएको क्षेत्रमा काम गर्न संलग्न व्यक्तिहरुको सम्पुर्ण विवरण सहितका कागजात र वनको स्थलगत नोक्सानी अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्