Logo
Logo

पूर्वअर्थमन्त्री आङ्बोको टिप्पणी- अर्थतन्त्र उकास्न ल्याइएको बजेट हाँस्यास्पद


दृष्टि संवाददाता


काठमाडाैं । प्रदेश १ माओवादी संसदीय दलका नेता इन्द्र आङ्बाेले प्रदेश सरकारले कोरोना नियन्त्रण र उपचारका लागि ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेटलाई प्रचारमुखी मात्रै भएको टिप्पणी गर्दै उनले कोरोना लक्षित ठोस कार्यक्रम नआएको बताएका हुन् ।

नेता आङ्बाेले प्राथमिकता भनिएको स्वास्थ्य क्षेत्रमा संघीय सरकारको अनुदान बाहेक अस्पतालको सुदृढीकरण र स्तारोन्नतीको लागि आवश्यक बजेट विनियोजन नभएको समेत टिप्पणी गरे । उनने कोरोनाको प्रभावबाट अर्थतन्त्र उकास्न भन्दै ल्याइएको कार्यक्रमलाई हाँस्यास्पद र असम्भव भएको बताए ।

चालू आर्थिक बर्ष १ दशमलव १८ प्रतिशतले ऋणात्मक रहेको आर्थिक वृद्धिदर बजेटमा आर्थिक पुनरुत्थानको कार्यक्रम नै नराखी अर्थतन्त्र चलायमान बनाउने योजना बिना आगामी आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशत असम्भव रहेको समेत बताए ।

सामाजिक सञ्जालमा बजेटमाथि आफ्नो धारणा सार्वजनिक गर्दै आङ्बाेले चालू आयोजनाहरु, बहुबर्षीय आयोजना र रुपान्तरणकारी आयोजनाहरुमा अति न्यून बजेट छुट्याइएकोमा असन्तुष्टी समेत जनाए । बजेट नै कम दिएर अपेक्षित विकास र पूर्वाधार निर्माण अघि बढ्न नसक्ने उनको तर्क छ ।

यस्तै, बजेटमा कृषि क्षेत्रका लागि प्रदेश सरकारले कुनै नयाँ योजना नल्याएको आरोप लगाउँदै उनले अधिकांश कार्यक्रम विचौलिया पोस्नेमा मात्रै केन्द्रित भएको बताए । उत्पादन वृद्धि, रोजगारी सिर्जना र उत्पादित बस्तुको बजारीकरणको ठोस योजना नभएको समेत बताए ।

यस्तै, उनले बजेटलाई संघीय सरकारको नक्कलको संज्ञा दिएका छन् । उनले विकास निर्माण लागायतको काम अगाडि बढाउन ध्यानाकर्षण गर्दा श्रोतको अभाव देखाउने सरकारले २ अर्ब भन्दा बढी नगद मौज्दात रहने प्रक्षेपण देखाउनु आफैमा लज्जास्पद भएको समेत टिप्पणी गरे ।

नेता आङ्बुहाङले आगामी आर्थिक वर्षको बजेटले कुनै पनि लक्ष्यमा पुग्न नसक्ने ठोकुवा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्