Logo

नेकपा नेताद्वारा युवतीको हत्या, २६ दिनपछि भेटियो शव


- दृष्टि न्युज/संवाददाता



मोरङ, १४ चैत ।
मोरङको बेलबारी नगरपालिका– ४ रमिला राईको शव भेटिएको छ । २६ दिनपछि उनको शव कोशी नदीको किनारमा भेटिएको हो ।


गत १७ फागुनबाट हराएकी २६ वर्षीया रमिला राईलाई स्थानीय योगेन्द्र गुरुङले हत्या गरी कोशीमा फालेको खुलेको प्रहरीले जनाएको छ ।
गुरुङलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले अनुसन्धानको लागि नियन्त्रण लिएपछि उनले हत्या गरी कोशी नदीमा फालेको स्वीकारेका थिए । तर, शव भेटिएको थिएन । हातखुट्टा बाँधेको अवस्थामा शव भेटिएको हो ।
हत्या भएकी राई श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइतीघरमा बस्दै आएकी थिइन । गुरुङका भने श्रीमती र छोरासँग काठमाडौं बस्दै आएका थिए । गुरुङ नेकपा एमाले बेलबारीका पूर्वअध्यक्ष, नोबेल अस्पताल बेलबारीका अध्यक्ष तथा एक साझेदारी वनका अध्यक्ष हुन ।

१७ फागुनबाट हराएकी राईलाई नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धानको क्रममा एक सातापछि शुक्रबार गुरुङलाई नियन्त्रणमा लिएको थियो । केही दिन अघिदेखि गुरुङ बेलबारी छोडेर सम्पर्क बिहिन भएपछि प्रहरीले उनको पिछा गरेको थियो ।
युवती हराएको रात गुरुङ र उनीसँगै रहेको तर घर नफर्किएको भन्दै युवतीको परिवारले खोजी गर्न प्रहरीमा निवेदन दिएका थिए । युवती नभेटिएपछि गुरुङले नै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर गर्लफ्रेण्ड हराएर तनाव भयो भन्दै फोन गरेका थिए ।
घटना भएको दिन गुरुङले राईसँगै उनकी एक जना साथी र अर्का एकजना युवकलाई घरबाट लिएर दोहोरीमा जान भन्दै निस्किएका थिए । सो दिन उनीहरु विराटचोकस्थित हवाना रेष्टुरेण्ट गएका थिए । शुक्रबार राति ११ बजेतिर फर्किएका योगेन्द्रले रमिलाकै घर छेउकी महिला र अर्का युवकलाई छोडेर रमिलालाई भने गाडीमै लिएर गएका थिए ।

शुक्रबार घरबाट निस्केकी रमिला शनिबार बिहानसम्म घर नआएपछि परिवारका सदस्य उनको खोजीमा लाग्न थाले । रमिलाकी बहिनीले योगेन्द्रलाई फोन गरेर सोध्दा राति नै घर नजिकै छोडिदिएको जवाफ दिएका थिए ।

शनिबार बिहान योगेन्द्र रमिलाको घर गएका थिए । रमिलाबारे केही पत्ता नलागेपछि योगेन्द्रकै सल्लाहअनुसार इलाका प्रहरी बेलबारीमा गर्लफेण्ड हराइन, तनाव भयो खोजीदिन पर्यो भन्दै फोन गरेका थिए । तर, विवाद भएपछि हत्या गरेको खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्