Logo
Logo

औषधि छ, स्वास्थ्यकर्मी छैन |बिरामी जिल्ला अस्पताल धाउनु बाध्य


दाने बोहरा 


  • दाने बोहरा

हुम्ला, १४ चैत । जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ ।
अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ ।
सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक दिन पैदल हिँडेर जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने समस्या छ ।
यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिका–३ का नागरिक सामान्य झाडापखाला र टाउको दुख्ने बिरामी हँुदा पनि रायाँ स्वास्थ्यचौकीमा उपचार नहुँदा बिरामी बोकेर नै जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता छ । त्यहाँका नागरिक बिरामी हुँदा उपचारका लागि नजिकैमा रहेको रायाँ स्वास्थ्यचौकीमा पुग्दा औषधि दिने मान्छे कोही नभएको स्थानीयवासी मानबहादुर परियारले गुनासो गरे ।
परियारका अनुसार आफ्ना बुबा दमका रोगी भएको र आमालाई घुँडा, गोडा दुख्ने रोगले सताएकाले उनीहरुका लागि आवश्यक पर्ने औषधि र सुई सिमकोटस्थित फार्मेसीबाट खरिद गरेर लगेको तर सुई लगाउने स्वास्थ्यकर्मी पनि रायाँ स्वास्थ्यचौकीमा नपाएको गुनासो गरे । रायाँ स्वास्थ्यचौकीमा चेकजाँच गर्ने र औषधि दिने कोही नभएपछि जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।
स्वास्थ्यचौकीमा सिटामोल भएता पनि सिटामोल दिने मान्छे नभएको दुखेसो परियारले गरे । अहिले त्यहाँका नागरिक बिरामी हुँदा जिल्ला अस्पताल सिमकोटमा नै धाउनुपर्ने बाध्यता छ । रायाँ स्वास्थ्यचौकीमा चार जनाको दरबन्दी छ ।
एक जना हेल्थ असिस्टेन्ट, एक अहेब र दुईजना अनमी गरी चारजनाको दरबन्दी भए पनि स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचार बिनानै फर्कनुपर्ने अवस्था छ । स्वास्थ्यकर्मी नभएपछि सरसफाइ स्वच्छता प्रवद्र्धनका कर्मचारी जरम शाहीले किडबक्सबाट दिएको पारा सिटामोल र मेट्रो औषधि लिएर त्यहाँका बिरामी घर फर्किने गरेका छन् ।
कार्यालय प्रमुख भगवती श्रेष्ठ र अनमी लोकमाया ओली घर बिदामा गएको छ भने अर्का अनमी कविता बुढा तालीमकै सिलसिलामा सुर्खेतमा रहनुभएको छ । स्वास्थ्यचौकीका अहेब ओमप्रकाश कुसुहा होली मनाएर औषधि लिएर आउने भन्दै सदरमुकाम सिमकोट झरेकाले अझै नफर्किएको स्थानीयवासीको भनाइ छ ।
अहिले स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा औषधि भए पनि सेवाग्राहीले सेवा पाउन नसकेको वडाध्यक्ष गुमन रावलको भनाइ छ ।
यस्तै, सिमकोट गाउँपालिका–७ स्थित धारापोरी स्वास्थ्यचौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलालाई उपचार गराउन समस्या भएको स्थानीयवासी विनोद विकले बताउनुभयो । ती स्वास्थ्यचौकीमा दुई जना अनमीको दरबन्दी रहेता पनि तालीम भन्दै नेपालगञ्ज सुर्खेत झरेकाले समस्या भएको गाउँ कार्यपालिकाका सदस्यसमेत हरनुभएका विकले बताए । महिला स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्योपचारका लागि गर्भवतीले एक दिन पैदल हिँडेर भएपनि जिल्ला अस्पताल पुग्ने गर्छन् । रासस

प्रतिक्रिया दिनुहोस्