Logo
Logo

ब्याक गियर नभएको सरकार र ब्याक गियर(बन्द फिर्ता) भएको विप्लव नेकपा


- दृष्टि न्युज/संवाददाता



सरकारले आफ्नो ब्याक गियर नभएको भन्दै गरेको वेला विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द फिर्ता लिएर ब्याक गियर पनि भएको पार्टीको परिचय दिएकोछ ।

चैत १६ गते शनिवार सरकारी प्रतिवन्ध र दमनको विरुद्धमा वन्द राखिएकोमा शनिवार नै भएपनि एसइइ परिक्षा दिने ४ लाख ७५ हजार विद्यार्थीहरुलाई समस्या पर्ने र सोही दिन नेपाल वार को चुनाव पनि भएकोले सो वन्द फिर्ता लिएको महासचिव विप्लवले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

सो वन्द फिर्ताले कम्तिमा पनि ती लाखौं विद्यार्थी र अभिभावकहरु तथा नेपाल वार तथा अन्य कार्यक्रमहरु भएका सम्वद्ध संस्थालाई राहत पुगेकोछ र विप्लव नेतृत्वको नेकपा प्रति केही भएपनि सकारात्मक धारणा वन्न मद्दत गर्ने हुन्छ ।

सघर्षको मैदानमा यस्ता कार्यनैतिक फरवार्ड गियर र ब्याक गियरको प्रयोग जसले कुशलता पूर्वक गर्न जान्छ, उसैले क्रमशः जित्दै जाने हुन्छ ।

ब्याक गियर नभएको गाडि कसैले पनि किन्दैन । किनभने ब्याक गियर नभएको गाडि काम लाग्दैन । जतिसुकै राम्रो फरवार्ड गियर भएपनि ब्याक गियर भएन भने त्यो गाडिको मूल्य दुई कौडिको हुन्छ । यति कुरा सरकारका ठुला नेताहरुलाई थाहा हुनु पर्ने हो ।

सरकारले ब्याक गियर छैन भनेर जसरी अहंकार देखाइ रहेकोछ, यसले महाभारतको दुर्योधन प्रवृति र रामायणको रावण प्रवृतिको स्मरण गराउँछ । किनभने दुर्योधन र रावणले ब्याक गियरमा जान कहिल्यै मानेन । पाण्डवहरुलाई पाँच गाउँ मात्र भएपनि देउ भन्ने सुदर्शन चक्रधारी कृष्णको प्रस्ताव पनि दुर्योधनले मानेन । सरकारले यस्तो अहंकारी गलत प्रवृति छोड्नु पर्दछ ।

आत्मसमर्पण गरेर आउ, अनि मात्र वार्ता हुन्छ भन्ने सरकारको रवैया गलत छ । हतियार सबै पहिला बुझाउ, अनि मात्र वार्ता भन्ने सरकारको तर्क पनि गलत छ । विप्लव नेतृत्वको नेकपा संग भएका भनिएका हतियार त प्रचण्ड वावुरामले जानीबुझी लुकाएका हतियार हुन् । प्रचण्ड वावुराम संग चाहिं हतियार नबुझाएर पनि वार्ता हुने, विप्लव संग किन नहुने ?

चैत भित्र हतियार नबुझाए सुदर्शन चक्र चलाउँछु भन्ने सरकारको अहंकार पनि गलत छ । सुदर्शन चक्र राणा शासकहरु, शाह शासकहरु संगपनि थियो, तर केही समय लागेपनि अन्तमा उनीहरुको पराजय भयो ।

तसर्थ सरकारले बेलैमा ब्याक गियर राख्नु उपयुक्त वाटो हो । त्यो भनेको वार्ता गर्नु र समस्याको राजनैतिक समाधान खोज्नु हो । पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पनि भन्नृु भएको छ—“ समस्या सुल्झाउन राजनीतिक वार्ता र सहमति सबैभन्दा उपयुक्त विकल्प हो, वार्ता विना बल प्रयोग गर्दा देश पुनः द्वन्द्वमा फस्ने जोखिम रहन्छ ।”

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्