Logo
Logo

गाजा क्षेत्र : युद्ध र गरिबीबाट आक्रान्त


एएफपी


गाजा शहर, १४ चैत (एएफपी) । प्यालेस्टिनीहरुको बाक्लो बसोबास रहेको गाजा क्षेत्रमा इस्लामिक क्रान्तिकारी संगठन हमासले प्रशासन चलाउन थालेको केही वर्ष भइसकेको छ । यो ठाउँ गरिबीबाट आक्रान्त हुनुका साथै इजरायल र इजिप्टको नाकाबन्दीले थप संकटमा छ ।
पृथ्वीमै सर्वा्धिक जनघनत्व रहेका स्थानमध्ये एक गाजा क्षेत्रमा २० लाख प्यालेस्टिनीको बसोबास छ । यो ठाउँ भूमध्यसागरको किनारामा केबल ३६२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । करिब ४१ किलोमिटर लम्बाई र १२ किलोमिटर चौडाईमा फैलिएको गाजा शहर इजरायल र इजिप्टसँग सीमा जोडिएको छ ।
सन् १९४८–१९४९ सम्मको अरब–इजरायली युद्धपछि गाजालाई इजिप्ट मातहत राखिएको थियो तर यसलाई इजिप्टमा बिलय गरिएको थिएन । तर सन् १९६७ को छ दिने युद्धपछि गाजा शहरलाई इजरायलले कब्जामा लिएको थियो ।
सन् १९९३ को ओस्लो सम्झौता बमोजिम यहाँ प्यालेस्टिनी प्रशासनलाई मान्यता दिइयो । यसले गाजा क्षेत्रको दुई तिहाई भागमा नियन्त्रण गर्दछ । सन् २००५ मा इजरायलले ३८ वर्षदेखिको कब्जा त्यागेर आफ्ना सेना र त्यहाँ बसोबास गर्ने इजरायली नागरिकलाई हटाएको थियो ।
सन् २००६ मा इजरायलले हमास समूहलाई आतङ्कवादी संगठन घोषणा गर्दै गाजा क्षेत्रमा हवाई, जमिन तथा समुद्र तीनै क्षेत्रबाट नाकाबन्दी लगायो । इजरायली क्षेत्रबाट हमासका लडाकूहरुले एक जना इजरायली सैनिकलाई कब्जामा लिएसँगै इजरायलले सीमाबाट मानिसहरुको ओहोरदोहोर पूरै बन्द गरेको थियो ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास समर्थित सैनिकलाई इस्लामी चरमपन्थी हमासले निष्कासन गरेपछि नाकाबन्दीलाई अर्को वर्ष अझ कडा पारियो । इजरायलले नियन्त्रणमा नराखेको गाजामा प्रवेश गर्ने एकमात्र प्रवेशद्वार इजिप्टसँग सीमा जोडिएको रफाह हो, तर सन् २०१३ देखि यो नाकामा पनि कडाई गरिएको छ ।

गरिबीको चपेटामा गाजा क्षेत्र
गाजा क्षेत्रमा कुनै उद्योग छैनन् र यहाँ खानेपानी तथा इन्धनको अति अभाव छ । गाजा क्षेत्रमा कुनै प्राकृतिक स्रोतसाधन पनि छैनन् । कूल जनसंख्याका करिब ५३ प्रतिशत बेरोजगार छन् ।
गाजामा युवा बेरोजगारी करिब ७० प्रतिशत पुगेको छ भने दुई तिहाईभन्दा बढी जनसंख्या दाताहरुको सहयोगमा निर्भर रहेको छ । हरक दुई व्यक्तिमा एक जना गरिबीको रेखामुनि रहेको छ ।
भूमिगत जलस्रोतको अति दोहनका कारण यहाँको ९५ प्रतिशतभन्दा बढी खानेपानी पिउनयोग्य छैन, र यहाँको विद्युत सेवा भरपर्दो छैन । अक्टोबर २०१८ मा कतारले संयुक्त राष्ट्रसंघको अनुरोधमा विद्युत गृह संचालनका लागि ६ करोड अमेरिकी डलर सहायता गरेको थियो ।
नोभेम्बरमा कतारले कर्मचारीको तलब भुक्तानीका लागि ९ करोड अमेरिकी डलर नगद सहायता उपलब्ध गराएको थियो । यो रकमबाट छ महिनामध्ये चार महिनाको तलब भुक्तानी गरिएको छ ।
सन् २००८ देखिका तीनवटा युद्ध
इजरायलले गाजा क्षेत्रमा प्यालेस्टिनी लडाकूहरु विरुद्ध धेरै पटक सैनिक कारबाही गरिसकेको छ । युद्धबाट हजारौंको ज्यान गइसकेको छ ।
इजरायलले सन् २००८ डिसेम्बरमा प्यालेस्टिनी रकेट आक्रमण रोक्ने भन्दै “अपरेशन कास्ट लिड” नामको विशाल हवाई आक्रमण गरेको थियो । यो युद्ध जनवरी २००९ मा सकिएको थियो तर यस सैन्य कारबाहीका कारण एक हजार ४४० प्यालेस्टिनी र १३ जना इजरायलीको मृत्यु भएको थियो ।
फेरि, नोभेम्बर २०१२ मा इजरायलले “अपरेशन पिल्लर अफ डिफेन्स” नामको अर्को सैनिक कारबाही गरेको थियो । यो कारबाहीबाट हमासका बरिष्ट कमान्डर अहमद जाबरीको मृत्यु भएको थियो । करिब आठ दिनको यस अभियानबाट १७० जनाभन्दा बढी प्यालेस्टिनी नागरिक र ६ जना इजरायलीको ज्यान गएको थियो ।
जुलाई २०१४ मा गाजा क्षेत्रबाट हुने क्षेप्यास्त्र (रकेट) आक्रमण रोक्न तथा तस्करी एवं लडाकूहरुको ओहोरदोहार बन्द गराउन इजरायल–गाजाको सीमामा खनिएका सुरुङहरु नष्ट गर्न भन्दै इजरायलले “अपरेशन प्रोटेक्टिभ एज” सञ्चालन गरेको थियो । यस कारबाहीमा २ हजार २५१ जना प्यालेस्टिनीको मृत्यु भएको थियो भने ७४ जना इजरायलीको ज्यान गएको थियो ।
मार्च ३०, २०१८ मा प्यालेस्टिनीहरुले इजरायलसँग सीमा जोडिएको गाजा इलाकामा लामो समयदेखि व्यापक प्रदर्शन जारी राखेका छन् । उनीहरु इजरायलमा रहेका आफ्ना घरहरु इजरायलले फिर्ता गर्न माग गरिरहेका छन् । सन् १९४० को दशकमा उनीहरु आफ्ना घर छाडेर गाजा क्षेत्रतर्फ पलायन भएका वा इजरायलबाट निष्काशन गरिएका थिए ।
नागरिक समाज समूहहरुको अगुवाईमा अहिले गाजा क्षेत्रमा “ग्रेट मार्च अफ रिटर्न” अर्थात् घरफिर्ती महाअभियान सञ्चालित छ । यो अभियानकै कारण इजरायली फौजसँग दिनहुँजसो झडप भइरहेको छ । यसक्रममा इजरायली सेनाको गोली प्रहारबाट २५८ जना प्यालेस्टिनी र दुई इजरायली सेनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्